पौडी खेल्ने क्रममा बेपत्ता भएका र माटोको ढिस्कोले पुरिएका ४ जनाको शव फेला

कास्कीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका र मुस्ताङमा माटोको ढिस्कोले पुरिएका चारै जनाको शव भेटिएकाे छ।

पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना र मुस्ताङमा माटोको ढिस्कोमा पुरिएका दुई गरी ४ जनाको शव शुक्रबार सशस्त्र प्रहरीले निकालेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा महानगरपालिका–२ बाग्लुङ्ग बसपार्क बस्ने १८ वर्षीय स्वयम ताम्राकार पौडी खेल्ने क्रममा सो नदीमा डुबेर बेपत्ता भएका थिए।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोलीले उनीहरुको शव फेला पारेको हो। फेला परेका दुवै जनाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

यसैगरी मुस्ताङको घरपझोङ गाउँपालिका–५ धुम्वा तालस्थित नाली बनाउने ट्रयाक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका दुई जनाको शव शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निकालिएको डिएसपी थापाले बताए।

सर्लाहीको लालबन्दी नगरपालिका–१५ बस्ने १९ वर्षीय होम बहादुर बुढाथोकी र दाङ्गको गढवा गाउँपालिका–१ बस्ने ३० वर्षीय रवि दर्लामी मगरलाई मुस्ताङमा नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरेको थियो।

सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङबाट खटिएको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा जुटेको थियो। 

प्रकाशित मिति: : 2024-07-19 18:16:00

प्रतिकृया दिनुहोस्