सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन

गृह मन्त्रालयले असार २८ गते चितवनकाे सिमलतालमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेकाे छ।

नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गर्दै सोमबार सिमलताल घटना अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका हुन्।

सोमबार मन्त्रीमा नियुक्ति भएपछि पदभार ग्रहण गर्दै मन्त्री लेखकले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेका हुन्।

कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना रहेका छन्।

गत शुक्रबार बिहान काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा त्रिशूलीमा बगेका थिए।

गौरतर्फ गइरहेको बसमा २७ जना र र वीरगञ्जबाट काठामाडौँतर्फ गइरहेको बसमा ३८ जना बेपत्ता भएका थिए। जसमा तीन जना सकुसल बचेका थिए भने ६२ जना बेपत्ता भएका थिए। तीमध्ये अहिलेसम्म ११ जनाको शव भेटिएकाे छ। बस भने भेटिएको छैन। त्रिशुली नदीमा खाेजीकार्य जारी रहेको छ।

प्रकाशित मिति: : 2024-07-15 16:54:00

प्रतिकृया दिनुहोस्