घाइते ट्रम्प, स्तव्ध अमेरिका: गोलीको हुँदैन आँखा !

प्रदीप भट्टराई

वासिङ्टन डीसी
Break n Links
Break n Links

पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि भएको गोली प्रहारको घटनाले अमेरिका स्तव्ध  भएको छ । चुनावी वर्षमा भएको यो 'हाइ-प्रोफाइल' गोली प्रहारको घटनाको सबै पक्ष र कोणबाट निन्दा भएको छ । सबैको एउटै स्वर छ, 'यो राजनीतिक हिंसा हो र यसको विपक्षमा सिंगो अमेरिका र अमेरिकी जनता उभिनु पर्छ ।'

ट्रम्प शनिबार अपरान्ह पर्पल स्टेट पेन्सेल्भेनियाको पश्चिमी सहर बटलरमा  आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थिए । अत्यन्त कडा सुरक्षा घेराबीच भाषण गरिरहेका उनीमाथि नजिकैको एक  छानाबाट गोली प्रहार गरियो । दायाँ कानमाथि लागेको गोलीले उनलाई रगतपक्ष बनाए पनि ढाल्न सकेन । गोली लागेपछि उनी एक छिन मञ्चमा थच्च बसेको देखियो । त्यसको केही मिनेटपछि नै उठेर हात हल्लाउँदै गरेका ट्रम्पलाई सिक्रेट सर्भिसको सुरक्षा घेरामा अस्पतालतिर लगिएको थियो।

यतिबेलासम्ममा सिक्रेट सर्भिसको जवाफी कारबाहीमा ट्रम्पलाई प्रहार गर्ने बन्दुके मारिसकेका थिए । कारबाहीमा सभामा सहभागी भैरहेका एक सर्वसाधारण मारिए भने दुई सख्त घाइते भए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । एफबीआईका अधिकारीहरूले  बन्दुकधारीको परिचयपत्र नभेटाइएको र उनको परिचयका लागि डीएनए परीक्षणमा पठाइएको बताएका छन् । 

ट्रम्पले सामाजिक सञ्जालमा 'आफू सकुशल भएको र कहिलै आत्मसमर्पण नगर्ने' पोष्ट गरेका छन् । टाउकोमा गोली लाग्दा पनि सामान्य घाइते  मात्र भएका उनको आत्मबल दह्रै देखाएका छन् । घटनापछि पनि रिपब्लिकन पार्टीको सोमबारदेखि सुरू हुने राष्ट्रिय सम्मेलनको कार्यतालिका प्रभावित भएको छैन । यसले पनि ट्रम्प सकुशल रहेको पुष्टी गर्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई फोन गरेर उनको पछिल्लो अवस्थाको जानकारी लिएको ह्वाइट हाउसले जनाएको छ । गृहराज्य डेलावरमा विदा मनाइरहेका राष्ट्रपति बाइडेनले तत्कालै एक प्रेस सम्मेलन आयोजना गरी घटनाको कडा शव्दमा निन्दा गरेका छन् । उनी राति नै विदा छोट्याएर ह्वाइट हाउस फर्कदैछन् ।  

यो घटनालाई ट्रम्पको हत्याप्रयास भनिएको छ ।र, यो घटनापछि सिंगै अमेरिकामा एक किसिमको सन्नाटा छाएको छ । जनतामा रोश पनि छ, आक्रोश पनि छ । अब के हुन्छ भन्ने चासो र चिन्ता पनि छ । चुनावी वर्ष भएकाले यो हाइप्रोफाइल गोली काण्डलाई लिएर राजनीतिको पारो एक्कासी तातेको छ । घटनाको सर्वत्र निन्दा र भत्सर्ना गरिए पनि  यो घटनाको परिणामलाई लिएर भने मिश्रित प्रतिक्रिया पाइएको छ । केहीले यो घटनापछि ट्रम्पको जीत सुनिश्चित भएको बताएका छन् भने केहीले यस घटनाले खासै फरक नपार्ने बताएका छन् ।

यो पनि पढ्नुहोस् है !

रिपब्लिकनले नै हानेछन् ट्रम्पलाई गोली !

ट्रम्पमाथि गोली प्रहार गर्ने २० वर्षीय थोमस म्याथ्यु क्रुज एक रजिष्ट्रर्ड रिपब्लिकन रहेको तथ्य सार्वजनिक भएको छ। बन्दुकधारीको मूल, राजनीतिक झुकाव,अनुहारको रङ र धर्मको पहिचानसँगै अमेरिकाको आधा शान्ति फर्किएको छ।
धन्य भगवान !
https://breaknlinks.com/nepali/news/35233881

 

राष्ट्रपति बाइडेन जन्मेको राज्य पेन्सेल्भेनिया एक स्विङ स्टेट हो । यही राज्यमा भएको यो दुर्भाग्यपूर्ण घटनाले कसलाई फाइदा गर्छ वा नोक्सान गर्छ?, त्यसको छिनोफानो अहिले नै भैसकेको छैन । यसको छिनोफानो गर्ने मूल आधार भनेको यो घटनामा बन्दुक प्रहार गर्ने व्यक्तिको पृष्ठभूमी नै हुनेछ । अहिलेसम्म पनि बन्दुक प्रहार गर्नेको जानकारी सार्वजनिक गरिएको छैन । यदि बन्दुकधारी डेमोक्रेट्स रहेछ भने ट्रम्पलाई फाइदा पुग्न सक्छ तर रिपब्लिकन रहेछ भने त्यसले उल्टै ट्रम्पलाई घाटा गर्न सक्छ । बन्दुकधारी रिपब्लिकन भएको अवस्थामा यो घटना रिपब्लिकनहरूले नै घटाएको अर्थ लाग्न पनि सक्छ ।

यो हाइप्रोफाइल घटनापछि फेरि एकपटक बन्दुक  अमेरिकी राजनीतिमको केन्द्रमा आएको छ । अमेरिकामा रिपब्लिकनहरू बन्दुक सहज रूपमा प्राप्त हुनुपर्ने मत राख्छन् भने डेमोक्रेट्सहरू बन्दुकलाई नियन्त्रण गर्नुपर्ने पक्षमा छन् । अझ ट्रम्प त चर्को बन्दुक पक्षधर हुन् ।

अमेरिकामा बन्दुक प्रहारका घटना सामान्य नै हुन् । हरेक सप्ताहान्तमा कहीँ न कहीं यस्ता घटना भैरहेका हुन्छन् र केही न केही संख्यामा मानिसको ज्यान पनि गैरहेकै हुन्छ । ट्रम्पमाथि भएको बन्दुक प्रहार पनि त्यही घटनाको पछिल्लो श्रृंखला मात्र हो । तर, चुनावको पेचिलो समयमा हाइप्रोफाइल व्यक्तित्वसँग जोडिएकाले यो घटनाले बढी महत्व पाएको छ ।

यस घटनाबाट पनि खुल्ला बन्दुक पक्षधर ट्रम्प र उनका कट्टर अनुयायीहरूले के बुझ्न जरूरी छ भने न गोलीको आँखा हुन्छ, न ,बन्दुकेमा विवेक । ट्रम्पमाथि गोली चल्नु जे हो, अरूमाथि गोली चल्नु पनि त्यही हो। सबै मानिसको जीवन उही हो ।

ट्रम्प यसरी गोलीप्रहार गरिएका पहिलो अमेरिकी पूर्वराष्ट्रपति पनि हैनन् । अमेरिकामा पूर्व राष्ट्रपतिमाथि मात्र हैन, राष्ट्रपतिमाथि पनि गोली प्रहारका घटना भएका छन् । चारजना राष्ट्रपतिहरू जोन एफ केनेडी, अव्राहम लिंकन,जेम्स ए गारफिल्ड र विलियम म्याकिन्लेको त गोली प्रहारबाटै ज्यान गएको थियो । अरू पनि थुप्रै राष्ट्रपतिहरूमाथि गोली प्रहार भएका छन् ।

पछिल्लो समय अमेरिका ठाडै दुई चिरामा बाँडिएको  छ । यसले अमेरिकामा घृणाको राजनीति ह्वात्तै बढाएको छ । यसलाई आजको रूपमा बढाउन ट्रम्पको ठूलो योगदान छ । अहिले उनीमाथि भएको गोलीप्रहार पनि त्यसैको ‘साइड इफेक्ट’ हो । यदि यो घटनालाई गम्भीरतापूर्वक लिएर दुबै पक्षले संयमता नअपनाउने हो भने यसले अमेरिकाको बाँकि चुनावी क्याम्पेन अरू हिंसात्मक बनाउन सक्छ ।

सोमबारदेखि रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलन आयोजना हुदैछ । त्यसको ठीक पूर्वसन्ध्यामा भएको यो घटनाको टाइमलाइन आफैंमा पेचिलो छ ।

प्रकाशित मिति: : 2024-07-14 10:15:00

प्रतिकृया दिनुहोस्