भानुभक्तका लागि राज्यले सब थोक गरेको छ: डा. लम्साल (अन्तर्वार्ता)

डा.नवराज लम्साल नेपाली साहित्य र सञ्चार क्षेत्रका एक प्रख्यात स्रष्टा हुन्। उनी मूलधारका कवि तथा गीतकार पनि हुन्। ‘कर्ण’ र ‘धरा’ दुई महाकाव्य प्रकाशित गरेर नेपाली साहित्यमा उच्च योगदान दिएका उनी हाल भानु प्रतिष्ठानका अध्यक्ष छन्।

प्रस्तुत छ, भानु जयन्तीका अवसरमा भानुले नेपाली भाषा र साहित्य गरेको योगदानबारे डा.लम्सालसँग गरिएकाे कुराकानी:

भानुभक्त आचार्यलाई हजुरले कसरी बुझ्नुभएको छ?

भानुभक्त आचार्यलाई स्वदेश तथा विदेशमा रहेका नेपालीभाषीले आदिकविका रूपमा सम्मान गर्दै आइरहेका छन्। उनी नेपालका राष्ट्रिय विभूति हुन्। जातीय चेतनाका प्रतीक हुन्। संस्कृतको दबदबा चलेको बेला संस्कृतमै बोलिने, लेखिने र पढिने बेला नेपाली भाषामा कविता लेखेर भाषाको श्रीवृद्धि गर्ने एक स्रष्टा हुन्।

कविताको सानो रुप लघु कवितादेखि कविताको उच्चतम साधना महाकाव्यसम्मलाई जन–जनमा पुर्याउने काम उनले गरेका छन्। उनले नेपाली आमाहरुले गुनगुनाउने रामायणलाई नेपाली अनुवाद गरेका थिए। नेपाल बहुधार्मिक, बहु सांस्कृतिक, बहुजातीय अर्थात बहुलताको देशमा सबै नेपालीलाई जोड्ने एउटा सम्पर्क सुत्र र नेपाल बाहिर पनि नेपालीहरुलाई जोड्ने एउटा माध्यम थिए भानु। नेपाली भाषाका आदिकवि भएका हिसाबले पनि सबैले भानुभक्त आचार्यलाई बडो गम्भीरतापूर्वक र सशक्त हिसाबले सम्झने गर्दछन्।

भानुले विश्वभर छरिएका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने काम गर्नुभयो भनिन्छ। एकसुत्रमा बाँध्न उहाँले कस्तो भूमिका निर्वाह गर्नुभएको छ?

विश्वभरका नेपालीहरू फरक फरक भाषा बोल्छौँ। जस्तै पूर्वमा किरात–लिम्बुहरुको आफ्नै भाषा छ। तराईमा झर्यो भने मैथली, भोजपुरी, अझ पश्चिम तराई पुगियो भने थारु, राजवंशी, राना थारु, यता मगरातमा आयोभने गुरुङ–मगरको आफ्नै भाषा छ। काठमाडौँ उपत्यकामा नेवारी बोल्ने प्रचलन छ। हामी नेपालीहरू फरक फरक भाषा बोल्छौँ। भाषा बोल्ने मान्छेहरूबिचको सम्पर्क भाषा नेपाली हो। नेपाली भाषालाई सबैको बनाउनमा भानुको योगदान उच्च छ। साथै सरकारी कामकाजको भाषाका रूपमा स्थापित गराउनका उनले खेलेको भूमिकाका कारण पनि भानुलाई आजका दिनमा स्मरण गरिन्छ।

अर्को कुरा, संस्कृतिको आदानप्रदानका कारण पनि भानु भाषाका सुत्रधार हुन्। जस्तो रामायण चाहिँ काव्य हो, कविता हो। रामायणको एउटा मूल्य होला, राम कथाको आफ्नै महत्व होला। तर त्यो रामायण गायनको जुन छन्द परम्परा छ, लोकलयबाट आएको छ। त्यो लोकलयले पनि सबैलाई बाँधेको छ। आज आधुनिक कविता लेख्नेहरुले त्यसलाई फरक ढंगले गाउँछन् भने राम कथाको धर्म आफ्नो ठाउँमा छ। तर, समाजले के भन्दै आएको थियो भने छोरा कस्तो होस राम जस्तो, बाउले जे भन्छ त्यही मान्छ।

बाउले राजा बनाउँछु भन्दा नि हुन्छ। होइन, तँ राजा बन्न पाउदैनस् वनवास जा भन्दा पनि हस् भन्छ। भाइ चाहिँ राम वनवास जाँदा पछि पछि लागेर जाने लक्ष्मण जस्तो होस्। पति–पत्नी राम र सिता जस्तो हुन्। नेपाली समाजले लिएको यो दृष्टिकोणमा केही फेरबदल होला भन्ने मान्यता छ। संस्कृतिको दबदबा भएको बेला रामायणलाई नेपालीमा लेखिदिएको हुनाले भानुभक्त आचार्य स्थापित भएका हुन्। भानुभक्तभन्दा पहिले पनि धेरै कविहरू थिए, आज पनि छन्। साहित्य र लोकप्रियतामा भिजेका कारण भानु बढी लोकप्रिय भएका हुन्।

अहिलेको नयाँ पुस्ताले भानुभक्त र उहाँको साहित्यलाई कसरी ग्रहण गरिरहेको छ? भानुभक्तलाई पछ्याइरहेको छ त?

साहित्यमा दुईवटा कुरा हुन्छन्। पानी बग्दै गएपछि शुद्ध हुन्छ भनेजस्तै भाषा पनि प्रयोग हुँदै गएपछि परिवर्तन हुँदै जान्छ। अहिले उहाँले प्रयोग गर्ने भाषाको पनि परिवर्तन भएको छ। कविताका संरचनाहरुमा पनि परिवर्तन भएको छ। कविताको कथ्यमा पनि परिवर्तन आएको छ। आज कविता लेख्ने म मजस्तै धेरै कविहरूले भानुभक्तले जस्तै राम आदर्श हुन् भन्दैनौँ। हामी रामको आदर्शमाथि पनि प्रश्न उठाइरहेका छौँ। रामले सितालाई किन हेपेको? किन अग्नि परीक्षा लिएको? सिताले रामको चाहिँ अग्नि परीक्षा लिनुपर्दैन?भन्ने खालका दर्शनहरू हामीले कवितामा उतारेका हुन्छौँ। तर, कविता लेख्नुको अन्तरचेतना, व्यक्तिको वैयक्तिक स्वतन्त्रता र आफूलाई लागेको निजी अनुभुतिको भोगाइको अभिव्यक्ति हो कविता। यो चाहिँ भानुबाट अहिलेका कविहरूले पछ्याइरहेको पाइन्छ।

हामीले कविता लेख्दाखेरि उहाँकै जग टेकेर लेख्दै आएका छौँ। उहाँकै शिल्पमा लेखिन्छन्। भानुभक्तकै जस्तो लय र छन्दमा कविता नहोला समय र परिस्थितिहरूमा केही बद्लाबहरु पनि आउँछन्। जस्तै हिजो गाउँमा मानिसहरूले चिठी पढ्न सक्यो भने भयंकर शिक्षित भएको मानिन्थ्यो। तर अहिले समय बदलियो। कसैको मोबाइल साइलेन्टमा रह्यो र त्यसमा आवाज आउने बनाइदियो भने त्यो विद्धता भयो। समय अनुसार ज्ञानको दायरा आफैँमा परिवर्तन हुन्छन् बाहिरी रूपमा। तर सार, अन्तर चेतना, वैयक्तिक स्वतन्त्रता र अन्तर हृदयकोअभिव्यक्तिको कुशलता आजका कविहरूले पनि पछ्याइ रहेका छन्।

भानुको परिवारलाई एउटा आदर्श परिवार भनिएको छ। वास्तवमा भानुको आफ्नो र पारिवारिक जीवन कस्तो थियो? तपाईंँले कसरी बुझ्नुभएको छ?

भानुभक्त आचार्य एउटा परम्परा विधिवत् घरानाका व्यक्ति हुन्। हजुरबुबासँग उनले कविता लेख्न सिके र पढे। त्यति बेला पूर्वीय दर्शन, वेद, पुराणहरू पढ्ने चलन थियो। बौद्धिक र पूर्वीय दर्शनको ज्ञान गरेको परम्पराको घरपरिवार थियो। खान, लाउन, बस्न पुग्ने एउटा सम्पन्न परिवारकै छोरा थिए भानु। त्यसकारण पहिलादेखि नै ज्ञानको परम्परा, सम्पन्न घर परिवारको प्रभाव उनमा परेको हो। आफ्नो समयको चल्तापूर्जा, आफ्नो समयको अध्ययनशीलता र अगुवाइ गर्नसक्ने भएर नै उनले कविता लेख्दै हिँड्ने समय पाएका हुन्।

उहाँको पारिवारिक पृष्ठभूमि र उनको जीवनको भोगाईले साहित्यमा के प्रभाव पारेको छ?

उनलाई जीवनमा धेरै दुःख भएन। बस्न–खान दुःख भएन। धेरै सङ्घर्ष र पीडाको अनुभूत हुन पाएन। तर सिर्जनाको कुरामा भने उनले दुःख गरेका छन्। तर जीवन निर्वाहको सवालमा भने दुःख भएन। सहज जीवनयापन नै गरेको पाइन्छ।

भानुसँग घाँसीको प्रसङ्ग जोडिन्छ। यसले धनी र गरिबबीचको खाडल दर्साउन खोजेको हो?

हो। धनी र गरिबबिचको खाडल हिजो पनि थियो, आज पनि छ। तर भानुभक्तसँग घाँसी जोडिएको प्रसङ्ग एउटा कथाकै रूप होला। घाँस किन्ने र बेच्ने परिभाषा जुन छ त्यसमा मेरो फरक दृष्टिकोण के हो भने त्यो बेला साहुका घरमा गरिब घरको मान्छेले दिनभरि घाँस काटेर भारीका भारी साहुको घरमा लाने चलन थियो। त्यसबापत अन्न अनाज दिने चलन थियो। भानुभक्तले देखेको बेलाको समाज पनि दुईवटा रहेछ। एउटा, अरुलाई घाँस कटाउन सक्ने र भारी बोकाउन सक्ने। अर्को, घाँस काटेर भारी बोकेर जीवन निर्वाह गर्ने। शासित र शोषितहरुकोबीचको फरक हिजो पनि रहेछ।

दार्शनिक र मानवीय दृष्टिले भानुको साहित्य सिर्जनालाई कसरी बुझ्ने? तपाईंँले विधागत रूपमा भानुलाई कसरी बुझ्नुहुन्छ?

विधागत रूपमा त उनी काव्य विधाका हुन्। साहित्यमा कि नाटक, कि काव्य कि निबन्ध अथवा आख्यानहरु हुन्छन्। मूलतः उनी काव्य विधाका हुन्। गद्य कविता, फुटकर कवितादेखि उच्च साधनाको महाकाव्यसम्म लेखेका उनी काव्य विधाका मान्छे हुन्। उनको कृतिमा विशेष रूपमा रामभक्तिको कुरा धेरै छ। रामभक्तिसँगै पूर्वीय दर्शनका विभिन्न दर्शनमध्ये वेदान्तलगायतका दर्शनहरुको गहिरो अध्ययन गरेका छन्। उनको रामायणमा ती कुराहरू पाइन्छ।

उनले मूलतः रामभक्तिलाई प्रमुख साधनाको सूत्र बनाए र समग्र नेपाली कविता विधामा भक्ति धाराभित्र राम भक्ति धारा अँगाले। त्यसैले उनी मूल कवि र समग्र नेपाली साहित्यका मूल प्रतिभा पनि हुन्। उनलाई राष्ट्रिय विभूति, जातीय चेतनाका प्रतीक आदि उपनामहरूले पनि चिनिन्छ। हरेक वर्ष भानु जयन्ती भव्यताका साथ मनाउने चलन छ। यस वर्ष २११ औँ भानु जयन्तीको अवसरमा पनि विभिन्न कार्यक्रमहरू हुँदैछन्। मधेस, बागमती, गण्डकी, कोशीलगायतका प्रदेशहरुमा विभिन्न कार्यक्रमहरू हुँदै छन्। यसरी सबैले साझा सम्पत्तिको रूपमा भानुभक्तलाई स्वीकार गरेका छन्।

भानुभक्त आजभन्दा २११ वर्ष पहिलाका मान्छे हुन्। उनका कविता दुईसय बर्षका भए। आज हामी बाँचेको समाज कस्तो छ विचार गरौं न, हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आएका छौँ। विश्वलाई एउटा मोबाइलमा हेर्नसक्ने अवस्था छ। आजको समयको कविता होइनन् भानुभक्तका। उनको कविता र लेखनको मूल्याङ्कन हुँदा दुईसय वर्ष पहिलाको नेपाली समाज, चेतनाको स्तर, शिक्षाको अवस्थालाई दुईसय वर्ष पहिलाको सापेक्षतामा अहिलेको अवस्थालाई हेरिनुपर्छ।

तपाईंं भानुको के कुराबाट बढी प्रभावित हुनुहुन्छ?

भानुको त्यो सहज अभिव्यक्ति, नेपाली भाषाको कविता भनेपछि कसैले पनि मन नपराउने बेलामा पनि उनले नेपाली भाषामा सरर बगेको नेपाली भाषामा कविताहरू लेखिदिएको हुनाले उनी मलाई मनपर्छ। अर्को, समसामयिक चेतना मनपर्छ। हरेक कविले लेख्ने भनेको इतिहास, भूगोल र संस्कृतिको जग टेकेर आफू बाँचेको समय संवेदना लेख्ने हो।

उनले त्यो बेलाको अड्डा, अदालत र न्यायप्रतिको ढिला सुस्तीको समयबोध लेखेका छन्। दुईसय वर्ष पहिला त्यस्तो लेखेको कुरा आज दुईसय वर्षपछि पनि अड्डा, अदालतको बारेमा एउटा कविले कविता लेख्ने हो भने त्यही लेख्नसक्छ। भानुले साश्वत र मानवीय प्रवृत्तिको जुन कुरा लेखे त्यो मलाई असाध्यै मनपर्छ।

भानुको योगदान नेपाली भाषा साहित्यमा अतुलनीय त छँदैछ तर आजका दिनमा भानुप्रति राज्यको भूमिका कस्तो पाइरहनुभएको छ?

राज्यले भानुलाई केही गरेन भनेर भन्नु हुदैँन। कसैले त्यसो भन्यो भने उसले केही बुझेको छैन भन्ने लाग्छ। राज्यको परिभाषा नै बुझेन भन्ने लाग्छ। राज्य भनेको हामी सबै हो। तपाईंँले नै अहिलेको राजनीतिक कुरामाथि फिचर लेखेको भए, बहस गरेको भए पनि त हुन्थ्यो होला नि। तर तपाईं उत्सुकता र प्रेमले मसँग संवाद गरिराख्नुभएको छ। तपाईं पनि राज्य हो, म पनि राज्य हो। हामीले २०३२–३३ सालदेखि प्रधानमन्त्रीको उपस्थितिमा भानु जयन्ती मनाउँदै आएका छौँ। हाम्रो सबै पाठ्यक्रमहरूमा भानुभक्त पढाई हुन्छ। भानुका सालिकहरू निर्माण भएका छन्। यही नै हो भानुभक्तको लागि गरिने काम।

भानुभक्त जन्मिएको अवसरमा करोडौं पैसा खर्च गरेर साहित्यकारहरूलाई पुरस्कार दिने गरिन्छ। त्यो पैसा कहाँबाट आयो र कसरी खर्च भयो भन्ने विषयमा अलग्गै बहस होला। तर करोडौं पैसा खर्चेर भानुभक्तको नाममा केही गर्नु भनेको आफैँमा सम्मान हो। त्यसैले राज्यले केही गरेन भन्ने मलाई लाग्दैन। तर त्यो गरेको कुरालाई भानुसँग जोडिएका सङ्घ संस्थाले वा व्यक्तिहरूले कति गरे भन्नेचाहिँ मूल्याङ्कन हुनुपर्छ।

हुन त तुइन तरेर स्कुल जाने, झोलुङ्गे पुलबाट मान्छेहरू झरेर मर्ने क्रम चलिरहेको छ। स्कुलको छाना छाउन बाँकी छ, सिटामोल नभएका अस्पताल आज पनि छन्। देशको अवस्था यस्तै छ। दिनदिनै साहित्यकारको नाममा राज्यले पैसा खर्च गर्ने होइन।

भाषा साहित्यका अन्य संस्थाहरू छन्, विश्वविद्यालयहरू छन्, पाठ्यक्रमहरू छन्, पढाइ हुन्छ, बहस भइरहेको छ। एउटा कविका लागि राज्यले गर्ने काम नै यस्तै हो। भानुका लागि राज्यले धेरै काम गरेकै छ भन्ने लाग्छ। बरु भानुले जति राज्यबाट पाए अरूले पाएनन् कि।

हामी बहुदलीय व्यवस्थामा छौ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौ। चेतनामा छौ। हामीले विद्यापतिलाई त्यति न्याय गरेका छौ कि छैनौ। विभिन्न भाषाभाषीका आदिकविहरु होलान्, अब हामीले ती मान्छेहरूलाई न्याय पुगेको छ कि छैन, त्यतातर्फ खोज्नुपर्छ। मुलुक त साझा फूलबारी हो। यहाँ धेरै भाषा, संस्कृति, जाति छन्। प्रत्येक भाषाको आफ्नो लिपी छ। त्यहाँ पनि आदिकवि होलान्, साहित्यकार होलान्। तीनलाई पनि खोजेर उठाउनुपर्छ। अब हाम्रो ध्यान त्यतातर्फ जानुपर्छ।

भानु प्रतिष्ठानले चाहिँ के गरिरहेको छ?

म भर्खरै अध्यक्ष भएको हुँ। भानुभक्तलाई सबैको साझा संस्कृतिको बीचमा राखेर अघि बढाउनुपर्छ भन्ने काममा जुटेका छौँ। अरू भाषामा भानुभक्तलाई लाने, अरू भाषालाई नेपाली भाषामा ल्याउने त्यो अभियानका रूपमा चलाउनुपर्छ। यस्ता आदर्श कामका लागि युवाहरूमा लाग्नुपर्छ जस्तो लाग्छ।

अहिले समस्या दुई वटा छन्। मान्छेहरू कि डिप्रेशनमा जान थाले कि आत्मदाह गर्न थाले। मान्छेसँग सबैभन्दा ठूलो सम्पत्ति जीवन हो। मान्छे जीवन नै फाल्न थाले। साहित्य, सिर्जनाले मानिस आत्महत्यासम्म पुर्‍याउने जुन निराशा छ त्यो निराशा चिर्नेगरी आशाको साहित्य कसरी सञ्चार गर्न सकिन्छ त्यतातिर सोच्नेबेला आएको छ। युवाहरूलाई उत्प्रेरित गर्न र जगाउनको लागि अभियान चलाउनुपर्छ कि जस्तो लाग्छ। पुरानो पुस्ताको ज्ञान र नयाँ पुस्ताको आवश्यकताको संवेदनालाई लिएर अघि बढ्नुपर्छ। म यतिबेला साहित्यकै एउटा महाकाव्यका लागि साधना गरिरहेको छु। पछिल्लो दिनमा म देशभर दौडिरहेको छु।

प्रकाशित मिति: : 2024-07-13 12:11:00

प्रतिकृया दिनुहोस्