तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमण गरेर फर्किएपछि आफ्ना सन्तानलाई शिक्षित बनाउने उद्देश्यले नेपालमा वि.स १९१० सालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाई स्कूल’को स्थापना भएको थियो। जहाँ राणाका छोराछोरीहरू मात्र पढ्थे।
तर वि.स १९३३ सालमा रणेद्दीप सिंह श्री–३ भएपछि राणाहरूका सेवामा खटिएका जागिरदारका छोराछोरी पनि दरबार स्कूलमा पढ्न थाले। राणाका कर्मचारीका छोराछोरी पढ्न थालेको तीन दशकपछि सर्वसाधारणका सन्ततीहरूले पनि दरबार स्कूलको आँगन टेक्न पाए।
त्योबेला उनीहरूले मात्र ‘संस्कृत’ पढ्न पाउँथे तर वि.स २०४८ सालदेखि अन्य विषयशरू पनि पढ्न पाए। र, तीनै सर्वसाधारण छोराछोरीहरू प्रधानमन्त्रीदेखि देशकै पहिलो शहिद कहलिए।
वि.स २०१२ माघ–१३ गते प्रधानमन्त्री बनेका टकंप्रसाद आर्चायलगायत शुक्रराज, गंगालाल, बलबहादुर पाण्डे, चिनियालाल सिंह, थीरबम मल्ल जस्ता शहिद दरबार स्कूलकै उत्पादन थिए। छोटो समयको लागि भएपनि वरिष्ठ राजनीतिज्ञ गणेशमान सिंहले पनि दरबारमा अध्ययन गरेका थिए।
...
नेपालकै पहिलो स्कूलमा पढ्ने विद्यार्थीहरूलाई दिउँसो खाजाको व्यवस्था पनि सरकारले नै गरिदिएको थियो। त्योसँगै गरिब विद्यार्थीहरूलाई पाठ्यपुस्तकको खर्च दिइन्थ्यो। जुन व्यवस्था साढे दुई दशकसम्म चल्यो।
एक सय एकहत्तर वर्ष पुरानो रहेको दरबार स्कूल अहिलेपनि ‘जवान’ देखिन्छ। शिशुदेखि कक्षा–१२ सम्म सञ्चालन भइरहेकाे स्कूलमा ८ सयभन्दा धेरै विद्यार्थीहरूको संख्या छ। जहाँ पढ्नका गाउँदेखि सहरसम्मका विद्यार्थीहरू धाइरहेका छन्।
क–कसले पढ्न पाउँछन् दरबार स्कूलमा?
४२ सय वर्ग मिटर क्षेत्रफल, १७ मिटर उचाई रहेको चार तले भवनमा सबैले नै पढ्न पाउने दरबारकी प्रधानाध्यापक शारदाकुमारी पौडेलले बताइन्।
उनका अनुसार स्कूलमा पढ्न आउनेहरू मजदूरदेखि किसानहरूका छोराछोरीहरू छन्। जसलाई स्कूलले गुणस्तरीय शिक्षाका साथै दिवा खाजा र छात्रवृत्तिको पनि व्यवस्था गराइदिएको छ।
‘शिक्षा लिन चाहने जो–कोही पनि दरबार स्कूलमा पढ्न पाउनुहुन्छ। यहाँ धेरैजना विद्यार्थीहरू विपन्न परिवारकै हुनुहुन्छ’, उनले भनिन्, ‘दरबार पनि अरू सामुदायिक स्कूल जस्तै हो तर यहाँ पढाइ गुणस्तरीय छ। यहाँ प्राविधिक तरिकाले पढाइ हुन्छ।’
काठमाडौं उपत्यकामध्ये सबैभन्दा राम्रो प्राविधिक शिक्षा दरबार हाइ स्कूलमा रहेको उनको दाबी छ। त्यसैले पनि यो स्कूल ‘नमूना’ बनेको प्रधानाध्यापक पौडेलको तर्क छ।
उच्च शिक्षा हासिल गरेका करिब ३० जना शिक्षकलाई पढाउनका लागि ‘माइक’ पनि दिइएको छ।
त्यसका साथै स्कूलले विद्यार्थीहरूलाई लक्षित गर्दै रोबर्टी, एनसीसी प्रोग्राम, स्काउर्ट, बाल क्लब र आर्मी क्लबजस्ता तालिमहरूमा पनि आवद्ध गराइरहेको छ। तिनै विविध कारणहरूले गर्दा दरबार स्कूल अरूभन्दा फरक अनि गुणस्तरीय शिक्षा दिन सफल भएकाे उनको भनाइ छ।
‘पढाइ राम्रो होस् भन्ने उद्देश्यका साथ हामीले सबै शिक्षकहरूलाई माइक दिएका छौं। यसले गर्दा विद्यार्थीहरूलाई बुझ्नमा स्पष्ट हुन्छ’, बिएल नेपाली सेवासँग उनले भनिन्, ‘हामीले सबै विद्यार्थीलाई स्मार्टली पढाइरहेका छौं। दरबार स्कूललाई आइटी हबको रुपमा विकास गर्न सकिन्छ।’
बोर्डिङ स्कूलभन्दा दरबार स्कूलले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिलाउन सफल रहेको बताउँदै उनी भन्छिन्, ‘बोर्डिङ स्कूलमा अंग्रेजी विषयलाई फाेकर्स गरिन्छ तर हामीले भाषामाभन्दा धेरै विषयवस्तुमा ध्यान दिएका छौं। त्यसैले पनि यहाँ पढेका पूर्व विद्यार्थीहरू अहिले उच्च पदमा हुनुहुन्छ।’
लामाे इतिहास बाेकेकाे दरबार स्कूलमा गत वर्षदेखि मात्रै कक्षा ११–१२ सञ्चालन हुन थालेकाे थियाे। तर अहिले भर्ना हुने विद्यार्थीहरूको संख्या बढ्दै गएको प्रधानाध्यापक बताउँछिन्।
‘दरबार स्कूलमा पढ्न पाउँदा विद्यार्थीहरू पनि खुसी हुनुहुन्छ। त्यसैले वर्षेनी दरबारका विद्यार्थीहरूको संख्या बढ्दै गइरहेको छ’, उनले भने, ‘अहिले हामीले व्यवस्थापन, मानविकीलगायत शिक्षालगायत विषयहरू पढाउँदै आइरहेका छौं।, अब छिट्टै विज्ञान विषय पनि सुरु गर्नेछौं।’
एक भवन, दुई स्कूल
दरबार स्कूलकाे भवन एउटै छ। तर त्यही भवनमा दुई वटा स्कूल सञ्चालनमा छन्। एउटा भानु मावि (दरबार हाइ स्मूल) र अर्को संस्कृत मावि।
वि.स १९१० सालमा स्थापित भएको थियाे, दरबार हाइ स्कूल। तर पछि २०२४ सालदेखि भानुभक्त माध्यमिक विद्यालयको नामले चिनिन थालियाे।
वि.स १९३४ सालमा दरबार स्कूलमै संस्कृत पाठशाला पढाउन पनि सुरू गरिएकाे थियाे। संस्कृत प्रधान पाठशाला, संस्कृत प्रधान मावि हुँदै संस्कृत मावि बनेकाे थियाे स्कूलकाे नाम। जहाँ मात्र संस्कृत मात्र पढाइ हुन्थ्याे।
तर अहिले संस्कृतदेखि अन्य विषयहरू पनि पढाउन थालिएको छ। त्यो पनि दरबार हाइ स्कूलकै माथिल्लाे तल्लामा। त्यसले पनि भानु माविमा प्रभाव परेकाे उनकाे भनाइ छ।
‘एउटा भवनमा दुई वटा स्कूल सञ्चालन हुँदा दुबै स्कूललाई समस्या हुँदाे रहेछ। यसले हामीले थप कक्षाहरू बनाउन सकेका छैनाैं’, उनी भन्छिन्, ‘त्यही कारण पनि दरबारमा ११–१२ ढिला सुरू भयाे।’
भानु मावि र संस्कृत मावि छुट्टाछुट्टै स्कूल हुँदा दुबै विद्यालयलाई सहज हुने उनकाे विश्वास छ।
वर्षौंदेखि एउटै भवनमा दुई वटा विद्यालय सञ्चालन भइरहँदा स्कूलले भोग्नुपरेको समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण होस् भन्ने उनकाे चाहना छ।
विश्वास जित्नु चूनौती
एउटा सामुदायिक स्कूलको लागि अभिभावकको विश्वास जित्नु चूनौतीपूर्ण रहेको प्रधानाध्यापक पौडेलको भोगाइ छ।
सामुदायिकभन्दा ‘प्राइभेट’ स्कूलले गुणस्तरीय शिक्षा दिन्छ भन्ने विश्वास बोकेका अभिभावकहरूको त्यही विश्वास जित्नु नै सबैभन्दा चूनौती रहेको उनले बताइन्।
तर अहिले दरबार हाइ स्कूलले अभिभावककाे त्यही विश्वास नै जितिरहेकाे छ। र, जित्ने प्रयास पनि जारी रहेकाे पाैडेलकाे भनाइ छ।
त्यसैगरी विद्यार्थीहरूकाे शिक्षामा थप सुधार ल्याउनका लागि राज्यले प्राथमिकता दिनुपर्ने बताउँदै दरबारकी प्रधानाध्यापक पाैडेल भन्छिन्, ‘राज्यको नीति कार्यक्रममा शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ। तब मात्र शिक्षामा सुधार ल्याउन सकिन्छ।’
भिडियाे:
याे पनि...