दोस्रोपटक मन्त्री बने फणिन्द्र देवकोटा

Break n Links
Break n Links

नेपाल समाजवादी पार्टी (नेसपा)का नेता फणिन्द्र देवकोटा फेरि मन्त्री बनेका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीमा देवकोटाले आइतबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। उनी दोस्रोपटक गण्डकी प्रदेशकाे मन्त्री बनेका हुन्।

नेकपा माओवादी केन्द्रकाे कारबाहीमा परेका देवकोटाकाे सांसद पद सर्वोच्च अदालतले थमौती गरिदिएपछि पुन: मन्त्री नियुक्त भएका हुन्।

२०७९ काे निर्वाचनमा गोरखाबाट माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएका देवकोटाले गत जेठ २८ गते प्रदेशसभा बैठकमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए।

उनले 'फ्लोर क्रस' गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि पाण्डे नेतृत्वकाे गण्डकी सरकार जाेगिएकाे थियाे। मुख्यमन्त्री पाण्डेले देवकोटालाई जेठ २९ गते गण्डकी प्रदेशकाे ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री नियुक्त गरेका थिए।

उनलाई ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले कारबाही गरेकाे थियाे। त्यसपछि जेठ ३२ गते सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा माओवादीले कारबाही गर्ने निर्णय सुनाएपछि देवकोटा पदमुक्त भएका थिए। पदमुक्त भएपछि उनी असार ६ गते सर्वोच्च गएका थिए।

प्रकाशित मिति: : 2024-06-30 11:15:00

प्रतिकृया दिनुहोस्