चित्रबहादुर केसीकाे माग- एमसीसी र बीआरआईबीचकाे अन्तर नेपाली जनतालाई स्पष्ट पार्नुपर्छ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बीआरआईलाई स्वीकार गर्याे भने नेपाल ऋणमा डुब्छ भन्ने भाष्य निर्माण भएकाे बताएका छन्।

प्रतिनिधिसभाकाे बिहीबार बसेकाे बैठकमा बोल्दै अध्यक्ष केसीले भने, ‘अहिले यहाँ के सुनियाे भने बीआरआईलाई स्वीकार गर्याे भने नेपाल ऋणमा चुर्लुम्म डुब्छ। अमेरिकनहरुले एमसीसीको भारी बोकाउँदा नेपाली जनाताले चारैतिर असहमति राख्दा, विराेध गर्दा, आन्दाेलन गर्दा यहाँ शासकहरूकाे भाषा के थियाे? के भन्नुहुन्थ्याे उहाँहरूले?’

अमेरिकी साम्राज्यवादको पासो यहाँ नेपाली जनतालाई बोकाएको भन्दै उनले भने, ‘अहिलेकै सत्ताधारी साथीहरुले एमसीसी यहाँ ल्याउँदाखेरी, अमेरिकनहरुले एमसीसीको भारी बोकाउँदाखेरी धुन्धान विरोध गरेको होइन? हामी सत्तामा बस्ने छैनौँ। हामी राजनीति गर्ने छैनौँ भनेर नेपाली जनताको अगाडि उफ्रेको होइन? आखिरी कथित १२ बुँदेको जामा लगाएर, १२ बुँदेबाट एमसीसीबाट नेपाल राष्ट्रलाई पर्ने असरबाट १२ बुँदेले चोख्यायो भनेर छल, कपट गरेर, षड्यन्त्र गरेर, अमेरिकी साम्राज्यवादको पासो यहाँ नेपाली जनतालाई बोकाएको हो कि होइन?’ त्यसैले चीनसित राजनैतिक र सैद्दान्तिक रूपमा हाम्राे केही पनि असहमति छ’, अध्यक्ष केसीले भने।

उनले देशकाे राष्ट्रिय, सार्वभाैमिकता र अखण्डातालाई साैदाबाजी गरेर सत्ताधारीहरूले राष्ट्रघात गरिरहेकाे भन्दै एमसीसी र बीआरआईबीचकाे अन्तर स्पष्ट पार्नुपर्ने बताए।

‘नेपालकाे सन्दर्भमा यदि बीआरआईलाई ऋण चर्कै हाे भने यतिबेला एमसीसीलाई बलियाे बनाउँदै लैजाने, एमसीसी भनेकाे नेपाललाई इन्डाेप्यासिफिक रणनीतिभित्र सामेल गरेकाे हाेइन? अमेरिकाले चीनसँगकाे प्रतिस्पर्धालाई नेपाललाई उपयाेग गर्नलाई एमसीसी बाेकाएकाे हाेइन? याे कुरा बुझ्दनाैँ हामीले? उनले भने, ‘त्यसकारण देशकाे राष्ट्रियता, सार्वभाैमिकता र अखण्डातालाई साैदाबाजी गरेर सत्ताधारीहरूले जुन खालकाे राष्ट्रघात गरिरहेका छन्, यसमा एमसीसी र बीआरआईबीचकाे अन्तर के हाे? त्याे नेपाली जनतालाई स्पष्ट पार्नुपर्छ।’

प्रकाशित मिति: : 2024-06-27 15:22:00

प्रतिकृया दिनुहोस्