गण्डकी प्रदेशसभाका सांसद फणिन्द्र देवकोटालाई प्रदेशसभा प्रवेशमा रोक लगाइएको छ।
बिहीबार प्रदेशसभा बैठकमा सहभागी हुन पुगेका सांसद देवकोटालाई मर्यादापालकहरुले भित्र प्रवेश गर्न राेकेका हुन्।
उनले आफू बैठकमा सहभागी हुन प्रदेशसभा पुगेकाे र तर मर्यादा पालकले बैठक कक्षमा प्रवेश गर्न नदिएकाे बताए।
मुख्यमन्त्री सरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो। माओवादीले सांसदबाट हटाएपछि सर्वोच्च अदालतमा फणिन्द्रले रिट हालेका थिए।
उनको रिटउपर सर्वोच्चले सोमबार गण्डकी प्रदेशसभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो। सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिदै सांसद पद खारेज नहुने आदेश दिएको थियो।
माओवादी चुनाव चिह्नबाट विजयी देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्वीप नलाग्ने भन्दै मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएर बहुमत दिलाएका थिए। त्यसको भोलिपल्ट जेठ २९ गते देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका थिए।