१९औँ राष्ट्रिय एमटिबी क्रस कन्ट्री तथा एमटिबी डाउनहिल प्रतियोगिता सम्पन्न

नेपाल साइक्लिङ संघले आयोजना गरेको १९औँ राष्ट्रिय एमटिबी क्रस कन्ट्री तथा एमटिबी डाउनहिल प्रतियोगिता सम्पन्न भएको छ।

गोकर्णेश्वर नगरपालिका वडा ४ स्थित जगडोल शहिद पार्कमा शुक्रबार र शनिबार आयोजित प्रतियोगितामा पुरुष, महिला, मास्टर तथा जुनियर समूहका खेलाडीहरूबीच भएकाे प्रतिस्पर्धा सम्पन्न भएको हो।

शुक्रबार आयोजित ‘डाउन हिल’ विधामा पुरुष इलाइटतर्फ निरभ श्रेष्ठ प्रथम, राजेश मगर द्वितीय र प्राचित थापा मगर तेस्रो भए भने महिलातर्फ लक्ष्मी मगर, सन्जु तामाङ र इन्द्र कुमारी तामाङ क्रमशः प्रथम, द्वितीय र तृतीय भए।

त्यस्तै सोही विधाको जुनियरतर्फ प्रतिक पोखरेल प्रथम, कबिर खड्का द्वितीय र आरभ श्रेष्ठले तृतीय स्थान प्राप्त गरे।

प्रतियोगितामा विजयी प्रतिस्पर्धीहरुलाई गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर तथा प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले प्रमाण पत्र तथा मेडल प्रदान गरेका थिए।

त्यसैगरी, शनिबार सम्पन्न ‘क्रस कन्ट्री’ विधाको पुरुषतर्फ सुरज राना प्रथम, अचुत कृष्ण खरेल द्वितीय र हिमाल टमाटा तृतीय भए भने सोही विधाको महिलातर्फ लक्ष्मी मगर, मन्जु कुमारी खड्का र ज्ञानु कुमारी चौधरी क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हात पारे।

प्रतियोगितामा करिब ९० जना पुरुष तथा महिला साइक्लिङ खेलाडीहरूले भाग लिएका छन्। सो अवसरमा बोल्दै नेपाल साइक्लिङ संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले अवसरमा विभिन्न तहका खेलाडीहरूबीचकाे प्रतिस्पर्धाले राष्ट्रिय स्तरमा साइक्लिङ खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

यस प्रतियोगिताले नेपालमा साइक्लिङ खेलको जनचेतना बढाउन र भविष्यका खेलाडीहरूलाई प्रेरणा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव टंकलाल घिसिङले बताए।

राष्ट्रिय च्याम्पियन खेलाडीलाई राखेप सदस्य सचिव घिसिङले मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

करिब ९० जना पुरुष तथा महिला खेलाडीहरूले भाग लिइएको प्रतियोगितामा नेपाल साइक्लिङ संघका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति, गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजीव थापा र राष्ट्रिय शहिद तथा शान्ति पार्क गोकर्णका अध्यक्ष सुदर्शन सिग्देलको समेत उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2024-06-24 16:38:00

प्रतिकृया दिनुहोस्