ट्याङ्कर चालकहरु पेट्राेलियम पदार्थ ढुवानी गर्न सहमत भएका छन्।
सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएकाे छलफलमा चालकहरू पेट्रोलियम पदार्थको ढुवानी गर्न सहमत भएका हुन्।
नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पेट्रोलियम ट्याङ्कर चालक संघ, निगम र मन्त्रालयबीच भएको छलफलमा चालकले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सहमत भएको बताए।
नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेकाे थियाे।
सङ्घले पेट्राेल ढुवानी नगरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोल पम्पमा डिजेल र पेट्रोलको अभाव भएको छ।
नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेकाे थियाे।
आयल निगममा लामो समयदेखि ट्याङ्कर चालक मजदुरहरु आवश्यक सेवा सुविधाबिना नै काम गर्न बाध्य रहेको र यो समस्या समाधानका लागि लामो समयदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलित हुनुपरेको ट्याङ्कर चालकहरूले जनाएका थिए।
सम्पूर्ण ट्याङ्कर चालक/सहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्तिपत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेण्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनु पर्नेलगायत माग सङ्घले राखेकाे छ।
त्यस्तै, ‘टेम्प्रेचर’को सही व्यवस्थापन गरिनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गरिनुपर्ने र प्रत्येक तीन महिनामा सुरक्षा सतर्कतासम्बन्धी तालिमको व्यवस्था गरिनुपर्ने माग सङ्घको छ।