‘नयाँ शक्तिहरु विचार र मुद्दाका आधारमा एकताबद्ध भएर जानुपर्छ’

विभिन्न राजनीतिक दलका नेताहरुले वैकल्पिक राजनीतिक शक्तिहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा बुधबार आयोजित ‘वैकल्पिक राजनीतिको औचित्व र सम्भावना’ विषयक अन्तरक्रियामा सहभागी दलका नेताहरुले नयाँ शक्तिहरु विचार र मुद्दाका आधारमा एकताबद्ध भएर जानुपर्नेमा जोड दिएका हुन्।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुकको विकास र आर्थिक समृद्धिको यात्रामा सबै राजनीतिक दलहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। उनले वैकल्पिक नयाँ शक्ति कुनै लहडमा नभई समयको माग र परिस्थिति भएको बताए।

उनले लोकतान्त्रिक स्थिरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित व्यवस्थापिका हुनुपर्ने आफ्नो पार्टीको सङ्कल्प रहेको उल्लेख गरे।

दुई दशकभित्र देशलाई अति कम विकसित अवस्थाबाट विकसित चरणमा रुपान्तरण गर्न तीव्र आर्थिक वृद्धि, समन्यायिक वितरण, पर्यावरणीय दिगोपन र मानवीय खुसीका चार आयामसहित समृद्धिको कार्ययोजना निर्माण गरिनुपर्ने उनको धारणा थियो।

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले नयाँ शक्तिहरुबीच एकताबद्ध भइ सडक सङ्घर्षबाटै अघि बढ्नुपर्ने बताए। उनले वैचारिक रुपमा जनमत पार्टी र नेपाल समाजवादी पार्टीको मुद्दा समान रहेकाले आगामी दिनमा सहकार्य गर्न सकिने धारणा राखे।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अग्रगामी सोचका राजनीतिक शक्तिहरु एकताबद्ध भएर जनताको हितमा सक्रिय हुनुपर्ने बताए। विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटाले नयाँ खुलेका वैकल्पिक राजनीतिक शक्तिहरुबीच ध्रुवीकरण जरुरी भएको बताए।

नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशम चौधरीले युवा पुस्ताका नेता र नयाँ विचार बोकेका राजनीतिक दलहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने खाँचो औँल्याए।

पहिचानवादी मोर्चाका अध्यक्ष खगेन्द्र माखिमले नयाँ शक्तिहरु परिवर्तनको चाहनालाई पूरा गर्न एक भएर लाग्नुपर्नेमा जोड दिए। लेखक खगेन्द्र सङ्ग्रौलाले जुट र फुटको राजनीतिबाट अघि बढिरहेका राजनीतिक शक्तिहरुले मुलुकको निकास दिन नसक्ने दाबी गरे।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, नागरिक समाजका अगुवा, अर्थशास्त्री, सञ्चारकर्मीलगायतको उपस्थिति थियो। विसं २०७३ जेठ ३० गते वैकल्पिक राजनीतिक अभियानका रुपमा नयाँ शक्ति पार्टी स्थापना गरी विभिन्न चरणमा एकता र विभाजन हुँदै अहिले नेपाल समाजवादी पार्टी बनेको हो। सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष स्थापना दिवस मनाइँदै आएको समाजवादी पार्टीले जनाएको छ।

प्रकाशित मिति: : 2024-06-12 18:32:00

प्रतिकृया दिनुहोस्