नरेन्द्र मोदीकाे शपथ ग्रहणमा कलाकारकाे घुइँचाे

शाहरुख खान र अक्षय कुमार
शाहरुख खान र अक्षय कुमार

नरेन्द्र मोदी लगातार तेस्रो पटक भारतका प्रधानमन्त्री बनेका छन्।

उनले आइतबार राष्ट्रपति भवन प्रांगणमा हजारौं पाहुनाको उपस्थितिमा प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका हुन्।

नरेन्द्र मोदी बाहेक भाजपा र सहयोगी दलका ७१ सांसदले पनि मन्त्रीको सपथ लिए। यस क्रममा त्यहाँ पुगेका पाहुनामध्ये बलिउडका किंग शाहरुख खान र खेलाडी अक्षय कुमार पनि थिए।

अहिले दुवै जनाको एउटा तस्बिर इन्टरनेटमा भाइरल भइरहेकाे छ। शाहरुख खान रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी र उनका छोरा अनन्त अम्बानीसँग समारोह स्थलमा पुगेका थिए।

त्यहाँ शाहरुख खानसँगै उनकी म्यानेजर पूजा ददलानी पनि देखिएकी थिइन्। शाहरुख आफ्नो ठाउँमा पुग्दा अक्षय कुमार पनि त्यहाँ थिए। साेहीक्रममा उनीहरूले एकअर्कालाई अँगालाे मारेका हुन्। त्यही तस्बिर अहिले सामाजिक सञ्जालमा छाइरहेकाे छ।

प्रधानमन्त्री मोदी र मन्त्रीहरुको सपथ ग्रहण समारोहमा शाहरुख खान कालो पहिरनमा पुगेका थिए। जहाँ अक्षय कुमार गुलाबी रंगको शर्ट र प्यान्टमा देखिएका थिए। 

सपथ ग्रहणमा काे–काे थिए? 

नयाँ सरकारको शपथ ग्रहण कार्यक्रममा शाहरुख र अक्षय बाहेक अन्य धेरै फिल्म स्टार पनि देखिएका थिए। जसमा रजनीकान्त, अनुपम खेर, रविना टण्डन, विक्रान्त मेसी, राजकुमार हिरानी जस्ता स्टारहरू छन्। यसबाहेक पहिलो पटक सांसद बनेकी अभिनेत्री कंगना रनौती पनि त्यहाँ देखिएकी थिइन्।

लोकसभा चुनावको नतिजा ४ जुनमा आएकाे थियाे। यसपटक भारतीय जनता पार्टी २ सय ४० सिटमा अड्किएको छ। तर सहयोगी दलहरूसँगको गठबन्धनपछि एनडीएको संख्या २९३ पुग्यो। साेहीकारण फेरि एकपटक मोदी सरकार बन्न सफल भए। 

प्रकाशित मिति: : 2024-06-10 11:27:00

प्रतिकृया दिनुहोस्