प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको गोप्य सूचना विदेशमा बेचेकाे भन्ने गृहमन्त्रीकाे आरोपबारे सभामुखको ध्यानाकर्षण गराएको छ।
प्रतिनिधिसभाको मंगलबारकाे बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद राजन केसीले कसले देशको गोप्य सूचना बेच्ने सांसद यही संसदमा भन्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे आरोपबारे जवाफका लागि सभामुखको ध्यानाकर्षण गराएको हुन्।
‘देशको गोप्य सूचना विदेशमा बेच्ने सांसद यही संसदमा छ भनेर केही दिनअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भन्नुभयो। त्यो पनि सभामुखज्यूलाई साक्षी राखेर भन्नुभयो। यो अत्यन्तै गम्भीर कुरा हो, यो केवल आन्तरिक मामिलासँग मात्र सम्बन्धित छैन, यही संसदमा गोप्य सूचना बेच्ने मान्छे छ भनेर मुलुकको गृहमन्त्रीले भन्ने कुरा अत्यन्तै गम्भीर कुरा हो’, सांसद केसीले भने, ‘नेपाली जनता हेर्न चाहन्छन् को रहेछ त्यो देशको गोप्य सूचना बेच्ने? यसको जानकारी चाहियो। कहिले, कहाँ, कसरी, कति मूल्यमा देशको सूचना बेचियो?’