कालीगण्डकी दोहन रोक्न ‘शालग्राम नाम’ चित्राङ्कन

कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला नदी दोहनका कारण अस्तित्व संकटमा परेका कारण शालग्राम शिला र सिङ्गो नदी प्रणाली बचाउन नदीका शिलाको नामाङ्कन तथा चित्राङ्कन सुरु गरिएको छ।

आइतबार मोहिनी एकादशीको अवसर पारेर कालीगण्डकी बचाऔँ अभियान र शालिग्राम संरक्षण अभियान पर्वतले शिलाको नामाङ्कन सुरु गरेको हो।

कार्यक्रममा सयौँको संख्यामा मानिसहरूले गण्डकी स्नान गरी हरिहर नाम संकृतन गर्दै शालग्राम भगवानको विभिन्न अवतारका नाम शिलाङ्कित गरेका हुन्।

कुनै हालतमा पनि कालीगण्डकी उत्खनन्को काम नरोकिँदा कालीगण्डकी र यसको पर्यावरण नै खतरामा परेको भन्दै कालीगण्डकी बचाऔँ अभियान र प्रकृति र पर्यावरण तथा शालिग्राम संरक्षण समितिले म्याग्दीको प्रसिद्ध गलेश्वर धामबाट पर्वत कुश्मा बजारसँग जोडिएको पवित्र मोदीवेणीधामसम्मको बागर खण्डका मुख्य धर्मघाटका शिलाहरूमा 'शालग्राम नाम' चित्राङ्कन गरिएको छ।

कालीगण्डकी उधिनेर शीला/ बालुवा–गिट्टी ओसारेको दृश्य पर्वत जलजला गाउँपालिका आसपासका बासिन्दाका लागि अहिले सामान्य भएको छ। उनीहरूका अनुसार रातभर बालुवा–गिट्टी निकाल्ने गर्दा नदीको सुरक्षाकवच मानिने बगरहरू अहिले रित्ता देखिन्छन्।

वार्षिक ८०- ९० करोड घनमिटर माल निकासी हुने अनुमान कालीगण्डकी बचाऔँ अभियानका अभियन्ता आरके अदीप्त गिरीले बताए। नदी दोहनमा विभिन्न प्रभावशाली मानिसको संलग्नता भएको दाबी गर्दै उनले भने, ‘स्थानीयवासीले निरन्तर खबरदारी गर्दा पनि यस्तो अवैध ठेक्कापट्टा रोकिएको छैन।’

राति नै दर्जनौँ टिपरले आनन्द बगर, फोर्से, लस्ती, दमुवाखोला, सती बगर, राजा बगर, सहस्रधारा क्षेत्र (पर्वत मोदीवेणीदेखि बागलुङ/ म्याग्दी बेनी बजारसम्म मात्रै दुई दर्जन अवैध क्रसर उद्योग सञ्चालित) मा बढीजसो दोहन हुन्छ। ‘दिउँसो धेरै खन्दैनन्। राति आठ बजेदेखि बिहानसम्म खनेर बालुवा–गिट्टी निकाल्छन्। राति नै ओसार्छन्। रातभर खोला खनेको र टिपर चलेको आवाज आइराख्छ,’ जलजला- ७ का एक बासिन्दाले भने, ‘यहाँ जनप्रतिनिधि र प्रहरी प्रशासनको मिलेमतोमै सबै भइरहेको छ।’

विगत चार दशकदेखिको अव्यवस्थित विकासे गतिविधि र प्रकृति दोहनको कारण आज कालीगण्डकी नदी कुरूप बन्दै गएको छ। नदी र खोलाहरूको किनारै किनार खनिएको सडक तथा त्यो सडकसँगै आएको अव्यवस्थित शहरीकरण, जनस्वास्थ्यको ख्याल नगरी खोलिएका व्यवसाय र वातावरणीय प्रभाव मूल्याङ्कन विनाका उद्योगहरूले मानव तथा प्राणी जगत् अचाक्ली जोखिममा परेका छन्।

पवित्र कालीगण्डकी माताको पवित्रता र स्वच्छता एवं चक्रांकित र निस्चक्रांकित शालग्राम शिलाको संरक्षण र नदी दोहन रोक्नका लागि कार्यक्रम आयोजना गरिएको अभियन्ता आरके अदीप्त गिरीले बताए।

उनले भने, ‘मानव र जैविक विविधताको अस्तित्वसँग गाँसिएकाको यस नदीबाट गिटी, ढुङ्गा, बालुवा उपयोगका नाममा एकोहोरो दोहन भइरहेको हुनाले नदी गहिरो बन्दै गएको र यसको जलाधार झनै तल गएर नदी तटीय भागमा विगत दुई दशकदेखि बाढी र कटानको समस्या सिर्जना भइरहेको छ। शालग्राम शिला कौडीको गिटीमा परिणत भएका छन्।’

नदीले ठूलो मात्रामा धार परिवर्तन गरेको छ भने जथाभावी सञ्चालित नदीजन्य पदार्थको उत्खननका कारणले गर्दा शालिग्रामको अस्तित्व (विश्वभरका हिन्दूले कालीगण्डकी नदीमा मात्र पाइने शालीग्राम शिलालाई भगवान् विष्णुको रूपमा पुज्दै आएका छन्।) सङ्कटमा पर्दै गएको छ। धर्मघाटहरू पूर्ण विस्थापित गएकोमा उनले चिन्ता व्यक्त गरे।

कालीगण्डकी दोहनसँगै यहाँ कालीगण्डकी करिडोर अन्तर्गत आसपासका खोल्साखोल्सी, वनजङ्गल- चउर, ढिस्काढिस्की, सम्पदा क्षेत्र साथै सार्वजनिक स्कुल क्षेत्र आदिको समेत दोहन भएको छ। जताततै डाँडा पहाडहरू विरूप वनेका छन्। अधिकांश क्रसरहरू जिल्लाका नेता, पालिका प्रमुख, कर्मचारी र व्यवसायीहरूको संयुक्त लगानीमा चलेको कारण कानुन मिच्ने कुरा यहाँ सामान्य बनेको छ।

नदीबाट बालुवा, गिटी र ढुङ्गालगायत निर्माण सामग्री नदी किनारमै सङ्कलन गर्ने र त्यहीँबाट उठाउने गरिएको छ। सर्वोच्च अदालतको आदेशमा ठाडो अवहेलना गरिएको छ। नदी ऐन/ नियम, वातावरणीय प्रभाव मूल्याङ्कनको समेत बेवास्ता गर्दै मनपरी ढङ्गले कालीगण्डकी दोहनका कारण मानव बस्तीसँगै अन्य प्राकृतिक स्रोत/ मूल मुहान, जलथल सङ्कटमा परेका छन्।

सैयौंको संख्यामा खोलिएका यस नदी तटीय क्षेत्र (८ सय १४ किमि)का क्रसर उद्योगको कारणले नदी दिनप्रतिदिन मरिरहेको छ प्रकृति, वातावरण तथा शालग्राम संरक्षण अभियानका जलजला सचिव हरेमबहादुर खत्रीले बताए।

सर्वोच्च अदालतले कालीगण्डकीबाट बालुवा, गिट्टी, ढुङ्गाजस्ता नदीजन्य सामग्री उत्खननमा रोक लगाएको भए पनि नदी र छेउछाउको क्षेत्रमा दोहन नरोकिए काले यो अभियान थाल्नुपरेको अभियानकर्मी यज्ञबहादुर थापाले भने, ‘स्थानीय तहका साथै समन्वय समिति र प्रदेशले समेत यसको संरक्षण नगरेपछि नागरिकस्तरबाट हामी अभियान थाल्न बाध्य भएका हौँ।’

कालीगण्डकी नदी र शालिग्राम शिलालाई विश्वसम्पदा सूचीमा समावेश गर्न, नदीको स्वच्छता र पवित्रता कायम गरी प्रकृति र पर्यावरणकोसमेत जगेर्ना गर्न अभियान थालिएको थापाले बताए। सर्वोच्च अदालतले कालीगण्डकीबाट बालुवा, गिट्टी, ढुङ्गाजस्ता नदीजन्य सामग्री उत्खननमा रोक लगाएको भए पनि नदी र छेउछाउको क्षेत्रमा दोहन नरोकिएको स्थानीयहरू बताउँछन्।

सर्वोच्च अदालतले २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन् नगर्न/नगराउन र काली नदीमाथिका सबै हस्तक्षेप बन्द गर्न आदेश दिएको छ। तर यहाँ नदी तथा पानी क्षेत्रको वहाबमा जथाभाबी उत्खनन गर्ने, मलमुत्र, फोहर मैला विसर्जन गर्ने, ढलनलको सोझो मिलान गर्ने, सार्वजनिक जग्गा अतिक्रमण, वन फडानी र बालुवा तस्करहरूको नाजायज तस्करी धन्धाको चपेटामा कालीगण्डकी नदी परेको छ।

तर यी प्राकृतिक सम्पदाहरु हाम्रा लागि मात्र नभएर भावी पुस्ताका लागि पनि हुन् भन्ने सोच नराखिकन मनलाग्दी दोहनले गर्दा कालीगण्डकी नदीको सौन्दर्य मात्र बिग्रेको छैन, यस नदी सेरोफेरोको वातावरणीय चक्र र पारिस्थितिक प्रणालीमा नै गडबडी हुने संकट देखिएको ‘कालीगण्डकी बचाऔँ’ अभियानका अभियन्ता आरके अदीप्त गिरीले बताए।

वर्तमान समयमा मानव सभ्यता र जैविक विविधताको अस्तित्वसँग गाँसिएको कालीगण्डकी नदीबाट गिटी, ढुङ्गा, बालुवा उपयोगका नाममा एकोहोरो दोहन भइरहेको हुनाले नदी गहिरो बन्दै गएको र यसको जलाधार झनै तल गएर नदी तटीय भागमा बाढी र कटानको समस्या सिर्जना भइरहेको छ। कालीगण्डकी किनारमा जथाभावी सञ्चालित क्रसर उद्योग र नदीजन्य पदार्थको उत्खननका कारणले गर्दा शालिग्रामको अस्तित्व सङ्कटमा पर्दै गएकोमा उनले खेद प्रकट गरे।

एकातिर ती उद्योगहरूमध्ये धेरै जसो विना दर्ता, विना नवीकरण र तोकिएको सर्त विना नै चल्दै आएका छन्। खोलाबाहेक ढिस्का, वन, चउर समेत खोतलिएको छ। जताततै डाँडा पहाडहरू विरूप बनेका छन्।

कतिपय त्यस्ता क्रसरहरू जिल्लाका नेता, कर्मचारी र व्यवसायीहरूको संयुक्त लगानीमा चलेको कारण कानुन मिच्ने कुरा सामान्य बनेको छ। प्रकृति दोहनमा नेताहरूको आशीर्वाद प्राप्त टोली जमेर लाग्दै आएको छ। कतिपय पत्रकारहरू समेत अवैध व्यवसायीहरूका छत्रछायामा बाँचिरहेको अभियन्ता गिरीले बताए।

‘रातदिन कालीगण्डकी नदी दोहन हुन्छ। दुई महिनादेखि एक्साभेटर प्रयोग गरी उत्खनन गर्ने काम तीव्र पारिएको छ। यो सीमाहीन दोहनबारे नियामक निकाय जानकार भएर पनि मौन छ। हामीलाई जहिल्यै सास्ती भो’, जलजलाका स्थानीय अभियन्ता तारा रेग्मीले गुनासो पोखे।

कालीगण्डकी नदीमा दिनहुँ सयौँ टिपर, ट्र्याक्टर र एक्जाभेटर दौडिरहन्छन्। नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ। बिहान उज्यालो भएदेखि रातिसम्म टिपर र ट्र्याक्टरले नदीजन्य पदार्थ ओसारपसार गरिरहेका हुन्छन्’, रेग्मीले बताए।

नदीको प्राकृतिक स्रोत मूलतः ढुंगा, गिटी, बालुवाको अधिक दोहनले कालीगण्डकी नदी क्षत्विक्षत् बन्दै गएको छ। विगत चार दशकदेखिको कालीगण्डकीभित्रका सामग्रीहरूको अत्यधिक दोहनले नदीको दिगोपनलाई दुई तिहाइले घटाइ दिएको छ। कालीगण्डकी जस्तो जन्मेदेखि मरेसम्मका सबै परम्पराको स्रोत र स्थलमा भएको क्रुर दोहन आफूलाई स्वीकार्य नभएको अभियन्ता गिरीको भनाइ छ।

नदीबाट बालुवा, गिटी र ढुङ्गालगायत निर्माण सामग्री नदी किनारमै सङ्कलन गर्ने र त्यहीँबाट उठाउने गरिएको छ। वातावरणीय प्रभाव मूल्याङ्कनको समेत बेवास्ता गर्दै मनपरी ढङ्गले ठुला र साना नदी तथा खोलानालाको दोहनका कारण बस्तीसँगै अन्य प्राकृतिक स्रोत पनि सङ्कटमा पर्ने जोखिम बढ्दै गएको अर्का अभियन्ता तथा पत्रकार भवानीप्रसाद शमाले बताए।

कालीगण्डकी नदी उधिनेर बालुवा–गिट्टी ओसारेको दृश्य आसपासका बासिन्दाका लागि सामान्य भएको छ। उनीहरूका अनुसार रातभर बालुवा–गिट्टी निकाल्ने काम हुन्छ। राति नै दर्जनौँ टिपरले ओसारी रहन्छन्। रातभर सुत्न सकिँदैन। राति बाँकी रहेको दिउँसै पनि ओसार्छन्। धुलोको अन्धमुस्लीले घरमा बस्नै नसकेको जलजला-७ सतिबगर की ७० वर्षीय वृद्धा भगवती शर्माले बताइन्।

विश्वभरका हिन्दूले कालीगण्डकी नदीमा मात्र पाइने शालीग्राम शिलालाई भगवान् विष्णुको रूपमा पुज्दै आएका छन्। यो नदीलाई हिन्दू र बौद्ध धर्मावलम्बी सबैले पवित्र नदीका रुपमा लिने गर्दछन्। कालीगण्डकीको शिर मुक्तिनाथलाई हिन्दू र बौद्धमार्गी दुवैले पवित्र र अलौकिक क्षेत्र मान्दछन्। त्यसैगरी कालीगण्डकीको अर्को शिर दामोदर कुण्डलाई पनि निकै आस्थाले पुज्ने गरिन्छ।

कालीगण्डकीको जलाधार क्षेत्रमा ८ हजार मिटरभन्दा अग्ला तीन वटा हिमालय पर्वत शृङ्खला धवलागिरी, अन्नपूर्ण, र मनास्लु रहेका छन् भने ८ हजार देखि ६ हजार मिटर सम्मका दुई दर्जनभन्दा धेरै हिमशिखर रहेका छन्।

कालीगण्डकीको जलाधार क्षेत्रमा मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, गुल्मी, पाल्पा, तनहुँ, पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी १० जिल्ला रहेका छन्। सप्तगण्डकी नदी प्रणालीका कालीगण्डकी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, मादी, सेती र दरौँदी गरी सात वटा मुख्य सहायक नदीहरु रहेका छन्।

प्रकाशित मिति: : 2024-05-27 16:29:00

प्रतिकृया दिनुहोस्