चोरहरूले घेरिएका ‘पशुपतिनाथ’

पशुपति विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले अनिल परियारलाई  भेटी संकलन गर्ने ठाउँमा काम लगाएका थिए। 

‘केही पर्दैन काम गर’ भन्दै काममा लगाएका परियारलाई भेटी संकलनको जिम्मा सम्हालिरहेका कोषका नासु नवराज ढोडारीले भेटी चोर्न लगाए।

सुरुमा बाकसबाट भेटी निकाल्न मानेका थिएनन् परियारले। तर हाकिमले नै आदेश दिएपछि उनी ज्याकेट लगाएर संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षतिर लागे। त्यसपश्चात उनीसहित ८ जना कर्मचारी भटाभट भेटी निकाल्न थाले।

पशुपति मन्दिरमा चढाइएको भेटी हराइरहेपछि कोषले सीसीटिभीको निगरानी कडाइका साथ बढाएको थियो। साेहीकारण उनीहरूकाे चाेरी पनि सीसीटिभीमा ‘रेकर्ड’ भइरहेको थियो।

सोमबार भेटी चोर्नेहरूको पहिचान खुलेपछि पशुपति कोषले उनीहरूलाई प्रहरी वृत्त गौशालामा जिम्मा लगायो। 

भेटी चोरेको अवस्थामा कोषका नासु नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली, कुमार दमाइ र पशुपतिनाथ परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारीलाई रंगेहात पक्राउ गरेको प्रहरी वृत्त गौशालाका डिएसपी केशवराज थेबेले जानकारी दिए।

‘हामीले त नगर्ने भनेका हौं। तर हाकिम साबले फोन गरेर बोलाउनुभयो र भेटी चोर्न लगाउनुयो’, उनले बयानमा भने, ‘हामी चोरेको पैसा उहाँहरूलाई दिन्छौं। मैले १०००-१५०० पाउँछु।’

दिनको हजार रुपैयाँको लागि आफूले २–३ महिनादेखि हाकिमहरूको आदेशअनुसार भेटी चोरिरहेको उनको बयान छ। पशुपतिमा चढाइएका भेटी चोराउनुमा कोषाध्यक्षको पनि सहभागिता रहेको परियारको दाबी छ।

तर यता कोषाध्यक्ष सुवेदी भने भेटी चोरीको विषय आफूलाई थाहै नभएको बताउँछन्। ‘कहिलेकाहीँ चोरी भेटी चोरी हुँदो रहिछ, मलाई थाहै थिएन’, चोरीबाट तर्किरहेका छन् सुवेदी।

पशुपति परिसरबाट भक्तजनहरूका जुत्ताचप्पल चोर्नेदेखि पाकेट मार्नेहरूको कमी त थिएन। तर अहिले भने सिधै ‘पशुपतिनाथ’लाई चढाएको भेटीसमेत चोरिने गरेको भेटिएको छ। भेटी चोरी, त्यो पनि पशुपतिकै संरक्षण, संवर्द्धन गर्न राखिएका कर्मचरीहरूबाटै।

पशुपतिका संवेदनशील स्थानहरूमा सिसिटिभी जडान गरिनुले यसअघि पनि त्यहाँबाट भेटीहरू चोरिने गरेको प्रमाणित पनि भएको छ। यसअघि पनि पशुपतिमा चढाइएका बहुमूल्य भेटीहरू हराउने गरेका सामाचारहरू सार्वजनिक भएका थिए।

सुरक्षित छैन पशुपति

पशुपतिनाथ मन्दिरमा दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी संकलन हुन्छ। तर मन्दिरमा चढाइएको भटी चोरी भएको पहिलो रकेर्ड होइन। यसअघि पनि भेटीको घ्याम्पा हराएको थियो।

२०७९ माघ १४ गते पशुपतिनाथ मन्दिरको पश्चिमीद्वारमा राखिएको घ्याम्पा नै चोरी भएको थियो।

भक्तजनले चढाएको पैसाको घ्याम्पा हराएपछि पशुपतिमा हल्लीखल्ली मच्चियो तर घ्याम्पा हराएको केही घण्टापछि पुनःयथास्थानमै फेला परेको थियो।

पशुपतिमा कोषले कडाइका साथ कर्मचारीलाई खटाएका छन् तरपनि दर्शनार्थीहरू सुरक्षित हुन सकेका छैनन्।

‘कोषको व्यवस्थापन फितलो छ। केही नियम र कानुन नै छैन’, पशुपतिमा बेथिति रहेको बताउँदै पशुपतिका एक कर्मचारीले भने, ‘भेटी त धेरै हराउँछ तर बाहिर खबर आउँदैन।’

विश्वको सम्पदा सूचीमा परेको पशुपति पबित्रस्थल मानेर पर्यटकहरू घुम्न आउँछन्। तर यहीं ठाउँमा बढी भ्रष्टाचार भएको ती कर्मचारी बताउँछन्। उनका अनुसार पशुपति मन्दिरमा चढाइने फुलमा पनि कमिसन चल्छ।

पशुपतिको सुरक्षाबारे बुझ्न खोज्दा कोही बोल्न मान्दैनन्। पशुपति विकास कोष परिसरमा पुगेको बिएल नेपाली सेवाको टोलीलाई पनि त्यहाँका कर्मचारीहरूले हप्काएर फोटो अनि भिडियो खिच्न दिएनन्। 

प्रकाशित मिति: : 2024-05-21 20:27:00

प्रतिकृया दिनुहोस्