सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर-परिवार पहिचान कार्य सम्पन्न गर्ने भएकाे छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यकममा गरिब लक्षित कार्यक्रम एकीकृत रूपले सञ्चालन गर्ने उल्लेख गरे।
यसैगरी सरकारले आगामी आर्थिक वर्षमा समुन्द्रमा चल्ने पानी जहाजलाई नेपालमा दर्ता गर्न कानुन बनाउने भएको छ। यस्तै सुनकोशी र नारायणी टर्मिनलसहितको जलमार्ग निर्माण गरिने राष्ट्रपति पौडेलले बताए।
यता सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा गरेको छ।
सडक मानवको उद्धार, संरक्षण र पुनःस्थापनामा संलग्न सङ्घ संस्थासँग समन्वय र सहकार्यमा सडक मानवमुक्त बनाइने राष्ट्रपति पौडेलले उल्लेख गरे।
साथै, ज्येष्ठ नागरिकको हेरचाहमा परिवार र समाजको भूमिकासम्बन्धी नीतिगत व्यवस्था गरिने, ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा प्राथमिकता दिनुका साथै सहुलियतको प्रबन्धको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। ज्येष्ठ नागरिकलाई स्थानीय तहमार्फत घरमा नै नियमित स्वास्थ्य परीक्षण एवम् औषधि उपलब्ध गराइने सरकारको नीति छ।