कोशीकाे मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले गरे दाबी पेस

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन्।

५२ सांसदको हस्ताक्षरसहित नेता कार्कीले बिहीबार बिहान प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका हुन्।

उनले संविधानको धारा १६८ (५) बमोजिम एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदकाे समर्थनमा दाबी गरेका हुन्।

‘नेपालको संविधानको धारा १६८ (५) बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका लागि कुल प्रदेश सभा सदस्य सङ्ख्याको बहुमत सदस्यहरुको समर्थन रहेको दावीसहित सरकार गठन गर्ने सन्दर्भमा भएको आह्वान वमोजिम मेरो नेतृत्वमा कोशी प्रदेश सरकार गठन गर्न बहुमत प्रदेशसभा सदस्यहरुको समर्थन रहेको हुँदा तोकिएको म्यादभित्रै झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य म हिक्मतकुमार कार्की कोशी प्रदेश सरकारको नेतृत्वका लागि दावी पेश गरेको छु’, कार्कीले पेस गरेकाे पत्रमा उल्लेख छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले गएराति शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।

कार्की झापा निर्वाचन क्षेत्र नं ५ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। यसअघि कोशी प्रदेशसभाले वर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन निर्देशन दिएको थियो।

प्रकाशित मिति: : 2024-05-09 11:46:00

प्रतिकृया दिनुहोस्