मनोरञ्जन क्षेत्रमा कार्यरत महिला: कामअनुसार पाउँदैनन् तलब, त्यसमाथि हुन्छ दुर्व्यवहार

फाइल तस्विर
फाइल तस्विर

रामेछापकी डोमा तामाङ केही वर्षअघि रोजगारीको खोजीमा काठमाडौँ आइन्। देशको राजधानी भएकाले सजिलै जागीर पाइएला भनेर यहाँ आएकी उनलाई सोचेजस्तो सजिलो भएन। धेरै ठाँउमा धाउँदा पनि खोजेजस्तो जागीर नपाएपछि उनले अन्तिम विकल्पकारूपमा एउटा क्याट्रीनमा काम गरिन्।

निकै मिहेनतपछि हातमुखजोर्ने जागीर पाएपछि को खुसी नहोला, त्यस्तै खुसी थियो उनमा पनि। सरकारले श्रमका लागि तोकेको आठ घण्टाभन्दा दोब्बर अर्थात् दिनको झण्डै १६ घन्टा काम काम गरे पनि सोअनुसार पारिश्रमीक नपाएपछि भने उनी खिन्न छिन्।

‘कामअनुसारको पारिश्रमिक पाएत ठिकै थियो, उल्टै शारिरीक र मानसिक दुर्व्यवहार सहनुपरेको छ’, उनी भन्छिन। न समयको टुङ्गो, न कामअनुसारको दाम। त्यसैमा विवाहका लागि काठमाडौँका ब्याङ्क्वेटमा खटिदाँ फरक-फरक स्वभावका मान्छेहरूसँग ठोकिन पुग्दा गलत नियत राख्नेहरूसँग जोगिनु अर्को जोखिम रहेको डोमाको भनाइ छ।

‘काम गर्दा कार्यरत संस्थामा भोग्ने समस्या त छँदैछन्। त्यो बाहिर पनि सुरक्षित अवस्था छैन। पछिल्लो समय त क्याट्रीनसम्म मानव बेचबिखन गर्ने बिचौलीया छिरेकाले हामी महिला थप जोखिममा छौँँ’, उनले भनिन्।

शुक्रबार काठमाडौँमा शुभअवसर ग्राम नेपालले आयोजना गरेको एक कार्यक्रममा मनोरञ्जन क्षेत्रका पेशागत पीडित सहभागीले यस्तै समस्या व्यक्त गरेका थिए।

रामेछापकै रविना तामाङले डोमाको जस्तै गुनासो गरिन्। स्नातक तह अध्ययन गरिरहेको बताउनने उनी पनि काठमाडौँको एउटा क्याट्रीनमा कार्यरत छिन्। तोकिएको समयभन्दा बढी परिश्रम गर्नुपर्ने बाध्यताले पढाइमा निकै समस्या भएको तर अर्को विकल्प नहुँदा दुखजिलो गरेर काम गरिरहनुपरेको उनको भनाइ छ। उनी भन्छिन्, ‘पढ्ने रहर छ तर समय पुग्दैन। न त परिश्रम गरेजति पारिश्रमीक पाइन्छ।’

विराटनगरकी सुनिता खड्काले पनि मनोरञ्जन क्षेत्रमा काम गरेको लामो समय भयो। सो अवधिमा श्रम शोषण मात्रै होइन शारिरीक र मानसिक दुर्व्यवहार समेत भोग्नुपरेको उनले सुनाइन्। मनोरजञ्जन क्षेत्र आफैँमा नराम्रो होइन तर यस क्षेत्रका सञ्चालकहरूले व्यवसायलाई व्यवस्थित बनाउन समस्या भइरहेको उनको भोगाइ छ। ‘मनोरञ्जन क्षेत्रमा धेरै महिला जोखिमपूर्ण अवस्थामा छन्। तोकिएको समयभन्दा बढी श्रम गर्दा पनि न समयमा तलब पाइन्छ, न त सम्मान नै। त्यसैले हाम्रो पेशागत सुरक्षा कसले गर्ने?’, उनको प्रश्न छ।

अधिकारकर्मी रसना ढकाल भने मनोरञ्जन पेशा कलाकार जन्माउने क्षेत्र भएकाले सोहीअनुसार उचित सम्मान र पारिश्रमिकको व्यवस्था हुनुपर्ने धारणा राख्छिन्। मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा किशोरीले कोठा नपाउने, कोठा खोज्नकै लागि ‘लिभिङ टुगेदर’ बस्नु पर्ने, त्यसरी बस्दा थुप्रै अपराधीक गतिविधि निम्तिएका उनले बताइन्। ‘उहाँहरूले नियुक्ती पत्रसमेत पाउनुभएको छैन, समयमा तलब पाउने कुरा त परैजाओस्’, रसनाले भनिन्, ‘मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउन व्यवसाय सञ्चालकदेखि राज्यका हरेक निकाय सचत हुन जरूरी छ।’

काठमाडौँ महानगरपालिकाका सामाजिक विकास विभाग अधिकृत भवानी कपालीले महानगरले गरेको अनुगमनमा डान्सबार, होटलका तथा मनोरञ्जन क्षेत्रमा काम गर्ने किशोरीहरू बढी असुरक्षित रहेको बताइन्।

यस्ता क्षेत्रमा काम गर्ने महिला तथा किशोरीलाई आत्मनिर्भर बनाउनुका साथै पेशालाई व्यवस्थित र मर्यादित बनाउने महानगरको योजना बनाइरहेको उनले जानकारी दिइन्। त्यसैगरी सबै वडालाई आफ्नो क्षेत्रमा रहेका डान्सबार र रेष्टुरेन्टको अवस्थाबारे अनुगमन गर्न निर्देशनसमेत दिइएको उनको भनाइ छ।

कार्यक्रममा शुभअवसर ग्राम नेपालका प्रतिनिधि रञ्जना शर्माले सन् २०२३ मा मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको अवस्थामाथि अनुसन्धान प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा पुरुषमध्ये धेरैले नियुक्ती पत्र नपाएको, शारिरीक र मानसिक शोषण खेप्नु परेको, समयमा तलब नपाएको, सम्मानजनक व्यवहार नभएजस्ता समस्या अनुसन्धानले देखाएको शर्माले उल्लेख गरिन्।

प्रकाशित मिति: : 2024-04-26 19:26:00

प्रतिकृया दिनुहोस्