‘कांग्रेसमा भावी नेतृत्वका लागि देउवाको आशीर्वाद पाउन तीव्र प्रतिस्पर्धा छ’

लोकान्तर

काठमाडाैँ

कांग्रेस संस्थापनइतर पक्षका नेताहरू डा. शेखर कोइराला र गगन थापाको सम्बन्धबारे मलाई धेरै जानकारी छैन । उहाँहरूले लामो समयदेखि सघनरूपमा सहकार्य गर्नुभएको थियो । उहाँहरू प्यानल बनाएर चुनाव लड्नेगरी काम गरिरहनुभएको थियो । म शशांकसँग रहे पनि अन्तिम समयमा उहाँहरूसँग जोडिन पुगेको हो । शशांकलाई पार्टी सभापति बनाउनुपर्छ भन्ने विचार राख्थें । तर, शशांक आफू नलड्ने भनेर १४ औं महाधिवेशनमा रामचन्द्र पौडेलको नाम प्रस्ताव गर्नुभयो । म पनि पौडेल नै सभापतिका लागि उपयुक्त हुनुहुन्छ भनेर लागेको थिएँ । तर हाम्रो समूहभित्र सहमति निर्माण गर्न नसकेपछि पौडेल जस्तो वरिष्ठ नेता आफ्नै समूहमा एक भन्दा बढी उम्मेदवार हुँदा चुनाव लड्न हुँदैन जस्तो लाग्यो । त्यही सुझाव पनि दिएँ । 

हाम्रो समूहबाट शेखरजी र प्रकाशमान सिंहजी उम्मेदवार हुने स्थितिमा शेखरजी र गगनजीको टीमसँग पुगेँ । शेखर र गगनलाई तपाईंहरूको सम्बन्ध कस्तो हो, टुंगो लगाउनुस् भन्दै आएको छु । सम्बन्धमा विश्वास वा अविश्वास के हो, जानकारी दिनुहोला भन्दै आएको छु । हामीले जति सहज वा असहज फिल गरे पनि आफ्नो सोच बनाएर अघि बढ्ने हो । यसैले शेखर र गगनबीचको सम्बन्ध हाम्रो भूमिकाभन्दा बाहिर छ । उहाँहरूले जे गर्ने हो, छिटो टुंगो लगाउनुपर्छ । उहाँहरू एकसाथ हुनु भए एउटा परिस्थिति होला । एक साथ नभए पनि जुनसुकै परिस्थितिका लागि तयार भएको छु । मेरो आफ्नै छविचाहिँ स्वतन्त्र निर्णय गर्ने मान्छे हो भन्ने छ । पार्टीभित्रको समूह र उपसमूहको राजनीतिमा म कता उभिउँला, कुनै महत्त्वाकांक्षा लिएर अगाडि जाउँला भन्ने विषय टुंगो लागेको छैन । उहाँहरूको सम्बन्ध जोड्ने र बिगार्ने दुवै भूमिकामा म छैन । 

प्रकाशित मिति: : 2024-04-24 09:10:00

प्रतिकृया दिनुहोस्