क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ। काठमाडाैँ जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।
गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए। न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो।
साथै जन्ममितिसम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ।
उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको २ नम्बर वडाले फेरि पत्राचार गरेको छ। उक्त पत्रमा गौशाला २६ को जन्ममिति २०६१ असार १८ रहेको र पछि उनले विद्यालयको प्रमाणपत्रका आधारमा एक वर्ष उमेर घटाएर अर्को जन्मदर्ता निकालेको खुलेको थियो।
सोही विषयमा अदालतले आजबाट सुनवाइ सुरू गर्न लागेको हो।