भारतको लोकसभा निर्वाचन: विपक्षीको ‘आशा’ र भाजपाको ‘विरासत’ जोगाउने चुनौती 

Photo - hindi.cnbctv
Photo - hindi.cnbctv

भारतमा लोकसभा चुनाव-२०२४ अठारौँ संस्करणको निर्वाचन शुक्रबारदेखि सुरु भएको छ।

भारत स्वतन्त्र भएपछि पहिलो आम निर्वाचन सन् १९५१ को २५ अक्टुरवरदेखि सन् १९५२ फेब्रुअरी २१ सम्म भएको थियो।

पहिलो चुनावमा कांग्रेसले ३ सय ६४ सिटमा विजयी प्राप्त गरेको थियो। त्यतिबेला विश्वभर जनसंख्याको करिब १७ प्रतिशत भारतमा मतदाता थिए। ४५.७ प्रतिशत मतदान भएको थियो।

सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएको थियो भारत। त्यतिबेला जर्ज छैठौँ राजा थिए भारतमा। लुई माण्टबेटन गभर्नर-जनरल थिए। तर निर्वाचन गर्न आवश्यक पर्ने कानुन र विधि तय गर्न झण्डै ४ वर्ष लाग्यो।

सन् २०२४ को अठारौँ लोकसभा चुनाव हो। पहिलो चरणअन्तर्गत २१ राज्यमा मतदान भएको छ। यसमा केही केन्द्र शासित राज्यका समेत गरी १ सय २ सिट संख्याका लागि मतदान भएको हो।

स्वतन्त्र भारतको पहिलो चुनावमा ४ सय ८९ सिटका लागि मतदान भएको थियो। उतिबेला भारतीय राष्ट्रिय कंग्रेसले ३ सय ६४ सिटमा विजयी हासिल गर्दा ४५ प्रतिशत मत प्राप्त गरेको थियो। १६ सिटमा जित निकालेर भारतीय कम्युनिष्ट पार्टी दोस्रो दल भएको थियो।

भारतको पहिलो चुनावम ५३ राजनीतिक दलहरूले प्रतिस्पर्धा गरेका थिए।

भारतको अठारौँ लोकसभामा चुनाव ५ सय ४३ सदस्यका लागि हुँदैछ। सरकार बनाउन आवश्यक पर्ने बहुमत २ सय ७२ सिट हुन्छ। भारतको संसदको तल्लो सदन लोकसभामा ५ सय ४५ सिट छन्। तर चुनाव ५ सय ४३ सिटमा हुन्छ। २ सासंद राष्ट्रपतिबाट मनोनित हुन्छन्।

यसपटक सत्तारुढ दल भारतीय जनता पार्टी नेतृत्वको नेशनल डेमोक्रयाटिक अलायन्स(एनडिए) र भारतीय कांग्रेस नेतृत्वको इन्डियन नेशनल डेभलप्मनट इन्क्लुसिभ अलायन्स (इन्डिया)बीच मुख्य प्रतिस्पर्धा छ।

भारतमा चुनावी मुद्दाका रुपमा यो पटक सिट संख्या मात्रै देखिन्छ। सत्तारुढ दलले ‘४ सय पार’ भन्छ अनि विपक्षीहरू त्यति ल्याउन दिँदैनौँ भन्छन्। बाँकी जनसरोकारका विषय ओझेलमा पारिएका छन्। यो एउटा रणनीतिअनुसार नै भएको देखिन्छ।

पछिल्लो पटकको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी(विजेपी) ३ सय ३ सिटमा विजयी भएको थियो। अहिले सत्तारुढ दल भाजपा 'अबकी बार ४ सय पार'को नारासहित चुनावी मैदानमा छ। विपक्षी इन्डियन नेशनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स (इन्डिया) विजेपीलाई सत्ताबाट ओराल्ने दौडमा छ।

सन् १९८४ मा सम्पन्न लोकसभा चुनावमा भारतीय कांग्रेसले राजीव गान्धीको नेतृत्वमा ४ सय ४ सिटमा ऐतिहासिक जित दर्ज गरेको थियो। उतिबेला कुल सिट संख्या ५ सय १४ थियो। यो चुनाव ३१ अक्टुवर सन् १९८४ मा इन्दिरा गान्धीको हत्या भएको पृष्ठभूमिमा थियो।

सन् १९८४ बाट सन् २०१४ सम्म भरतमा कसैको पनि बहुमत प्राप्त भएन। सन् २०१४ मा भारतीय जनता पार्टीका नरेन्द्र मोदी नेतृत्वमा बहुमत आयो।

सालको पछाडिको अंङ्क ४ हुँदा बम्पर जित भएको संयोग पनि छ भारतमा। सन् २०२४ त्यसको पछिल्लो संस्करण हुन सक्ने राजनीतिक आँकलन पनि भइरहेका छन्।

भारतमा कतिपय राजनीतिक जानकारहरू नरेन्द्र मोदी पनि राजिव गान्धीको ४ सय ४ सिट जितको रेकर्ड तोडेर जवाहरलाल नेहरुको कार्यकालभन्दा लामो समय सत्तामा रहने चेष्टा गरिरहेको आंकलन गर्छन्।

स्वतन्त्र भारतको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू भारतमा सबैभन्दा लामो समय प्रधानमन्त्री हुने पहिलो व्यक्ति थिए। नेहरु सन् १९४७ अगस्त १५ देखि २६ मे सन् १९६४ (देहान्त हुँदासम्म)१६ वर्ष २ सय ८६ दिनसम्म पदमा थिए।

सन् १९८०मा जनसंघबाट अलग्गिएर भारतीय जनता पार्टी गठन भएको थियो। त्यही वर्ष थियो, सन् १९८४ मा पहिलो पटक भाजपाले चुनाव चिह्न कमलसहित लोकसभाका २ सय २४ सिटमा उम्मेदवारी दिएको। तर भाजपाले २ सिटमा मात्रै चुनाव जित्यो।

शुक्रबार सम्पन्न पहिलो चरणको मतदानमा लगभग १७ करोड मतदाता मतदानका लागि योग्य रहे। त्यसैगरी अरुणाचल र सिक्किममा रहेका ९२ सिटमा विधानसभा चुनाव भएको छ।

भारतीय चुनाव आयोगका अनुसार पहिलो चरणमा १६ सय बढी उम्मेदवार प्रतिस्पर्धामा छन्। करिव ३६ लाख मतदाता पहिलोपटक मतदाता भएका हुन्। चुनाव आयोगको तथ्यांकले ८.४ करोड पुरुष र ८.२३ करोड महिला मतदाता रहेको देखाउँछ। जहाँ २०-२९ वर्ष उमेरका मतदाता ३.५१ करोड छन्।

सन् १९८४ पछिको चुनावमा कांग्रेसलाई सन् १९८९ बाट ३९.५३ प्रतिशत मत प्राप्त भयो भने भाजपालाई सन् १९८४को ७.७४ प्रतिशतबाट वृद्धि हुन थाल्यो। सन् १९८९मा ११.३६ प्रतिशत मत पायो भाजपाले। सन् १९९१मा २०.११ प्रतिशत,सन् १९९६मा २०.२९ प्रतिशत,सन् १९९८ मा २५.५९ प्रतिश मत प्राप्त भयो। तर सन् १९९९मा भएको निर्वाचनमा भाजपाले २३.७५, प्रतिशत मात्रै मत पायो।

सन् २००४मा २२.१६ प्रतिशत मत प्राप्त गरेको भाजपाको मत सन् २००९ मा १८.८ प्रतिशतमा मत आयो भाजपाको। तर सन् २०१४ मा सम्पन्न चुनावमा भाजपाले २ सय ८२ सिटसहित ३१.३४ प्रितशत मत पाएर सरकार बनायो। त्यस यता भाजपा निरन्तर सत्तामा छ।

सन् २०१९ को निर्वाचनमा भाजपाले ३ सय ३ सिटमा सफलता पाएको थियो। भाजपाको मत ३७.३६ प्रतिशतसम्म पुग्यो। भाजपा नेतृत्वको गठबन्धनले ३ सय ५३ सिटमा विजयी हात पार्दा विपक्षी कंग्रेसले ५२ सिट मात्रै जित्यो। कंग्रेस नेतृत्वको युपिए समिकरणले जम्मा ९२ सिटमा जित्न सक्यो।

त्रिपुरा, पश्चिमबंगाल, मेघालय, मणिपुर, असम, पुंडुचेरी, मध्येप्रदेश, जम्मु-कश्मिर, छत्तिसगढ, तामिलनाडु, नागाल्याण्ड, उत्तराखण्ड, उत्तरप्रदेश, सिक्किम, मिजोरम, अण्डमान, अरुणाचल, राजस्थान, विहार, महाराष्ट्र रलक्ष्यद्वीपमा शुक्रबार मतदान भएको छ।

भारतमा लोकसभा चुनाव १९ अप्रिलबाट सुरु भएर सात चरणमा सकिनेछ। २६ अप्रिलमा दोस्रो चरण त्यसैगरी ७ मे, १३ मे, २० मे, २५ मे र १ जुनमा गरी ७ चरणमा मतदान हुँदैछ। जुन ४ मा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएसँगै भारतमा नयाँ सरकार गठन हुनेछ। 

प्रकाशित मिति: : 2024-04-19 19:05:00

प्रतिकृया दिनुहोस्