लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, एमालेबाट भूमिश्वर ढकालसहित थप ४ मन्त्री

File Photo
File Photo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

चैत्र २३ गते मुख्यमन्त्री बनेका महराले अहिलेसम्म भागबण्डा मिलाउन नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन्।

सत्ता समीकरणमा रहेका दलहरुबीच भागबण्डा मिलेपछि मुख्यमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

जसअनुसार एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुनकुमार केसी र रत्नबहादुर खत्रीलाई मन्त्री नियुक्त भएका छन्। 

एमाले स्रोतकाअनुसार रुपन्देहीका ढकालले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।

त्यस्तै, गुल्मीका पन्थीले गृह, कपिलवस्तुका केसीले वन र बाँकेका खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने छन्।

यसअघि एमालेले अर्घाखाँचीका चेतनारायण आचार्यलाई महरा नेतृत्वको सरकारमा पठाएको थियो। उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

भागबण्डाअनुसार माओवादीले मुख्यमन्त्रीसहित थप २, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदले एक/एक मन्त्रालय पाएकाे छ।

मन्त्रिमण्डलमा माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन्।

प्रकाशित मिति: : 2024-04-18 11:10:00

प्रतिकृया दिनुहोस्