आज २०८० साल चैत ३० गते। वर्षकै अन्तिम दिन हो यो। हरेक दिन पात्रोमा एक पटक मात्र आउँछ। त्यही पात्रोको आधारमा इतिहास बन्ने हो। त्यसैले त भनिएको होला, हरेक दिन विशेष हुन्छ। किनकि, त्यो दिन फेरि दोहोरिएर कहिल्यै आउँदैन। आजको दिन पनि दोहोरिएर कहिलै आउँदैन। त्यसैले पात्रो मात्र भरे पनि आजको दिन २०८० सालको अन्तिम दिनका रूपमा विशेष हुन पुगेको छ।
पाठकहरूसम्म यी अक्षर आइपुग्दा विक्रम संवत् २०८० सदाका लागि बिदा भएर २०८१ को पहिलो झुल्केघाम उदाइसकेको हुने छ। त्यही झुल्केघामको न्यानो सबैलाई सराबरी मिलोस्, शुभकामना। यो सामाजिक न्यायको कुरा हो, त्यो मिल्यो भने समाजका सबै खाल्डाहरू पुरिन्छन्। अनि हुन्छ, सत्यम्, शुभम्, सुन्दरम्। आखिर हामी सबैलाई चाहिएको यति त हो। यीनै तीन शव्दमा संसारको सबैभन्दा ठूलो र लामो शुभकामना लुकेको छ। त्यही लुकेको भावनाको शुभकामना यहाँहरू सबैलाई।
हरेक वर्ष विदा भएर नयाँ वर्ष सुरू हुन लागेको बेला विदा हुन लागेको वर्षको मूल्याङ्कन र आउँन लागेको वर्षको प्रक्षेपण गर्ने चलन छ। विविध क्षेत्रमा भएका सकारात्मक एवं नकारात्मक पक्षको सांगोपांगो लेखाजोखा गर्ने यो एक किसिमको सनातनी नै हो। अर्को शब्दमा भन्दा बिदा हुँदै गरेको साल इतिहासमा कसरी उल्लेख हुन्छ, त्यसका लागि गरिने यो एक किसिमको इतिहासको टिपोट पनि हो।
सामान्यतः कुनै पनि वर्ष त्यो वर्ष घटेका केही चुनिँदा घटनामार्फत सम्झिने हो। तर, २०८० सालको कुरा गर्दा यो वर्ष त्यस्ता केही उल्लेखनीय घटना छैनन्। भएको एउटै घटना र त्यसको शृङ्खला अप्रत्याशित रुपमा सत्ता गठबन्धनको काँध फेर्ने क्रम मात्र हो। प्रधानमन्त्री प्रचण्डले दुई दुई पटक सत्ता गठबन्धनको काँध फेरेर उनको भाषामा उथलपुथल गरे। अझै यसको परकम्प थामिएको छैन। यो क्रम कहाँ पुगेर रोकिने हो, त्यो पनि यसै भन्न सकिने अवस्था छैन।
यो वर्ष देखिएको सत्ता गठबन्धनको काँध फेराइ २०७९ सालमा सम्पन्न आमनिर्वाचनको परकम्प मात्रै हो। नेपालमा गणतान्त्रिक संविधान जारी भएपछि दोस्रो पटक भएको निर्वाचनमा नेपाली जनताले आफ्नो सार्वभौम मतमार्फत मन बदले। पाँच वर्षअघि वैचारिक कित्ताका आधारमा वामपन्थीमय बनाइदिएको देशलाई यसपटक ओलीको अहङ्कारले झालेमाले बनाइदिए। कुनै दलको त के कुरा, बुनै गठबन्धनको पनि बहुमत आएन।
एक किसिमले भन्ने हो भने २०७४ को आम निर्वाचनमा स्थिरताका लागि मतदान गरेका जनताले २०७९ को आम चुनावमा अस्थिरताका लागि मतदान गरे। परिणामतः संसद् यस्तो त्रिशङ्कु बन्यो कि जहाँ कुकुरले पुच्छर हैन, पुच्छरले कुकुर हल्लाइरहेका दृश्य यत्रतत्र देखिरहेका छन्।
वास्तवमा, यो समस्याको समाधान थिएन, समस्यालाई अरू गहिर्याउने कदम थियो। त्यसका प्रस्ट संकेत संसद्को पहिलो वर्षमै देखिसकिएको छ। यो क्रम संसद्को पूरा कार्यकालभरि नै अरू जटिल हुँदै अगाडि बढ्ने छ वा बीचमै संसद् भंग हुने अवस्था पनि आउन सक्ने छ।
यसबारेमा अहिले नै यसै भन्न सकिने छैन। अहिलेलाई यति चाहिँ भन्न सकिन्छ कि यसबाट मुलुकमा राजनीतिक अस्थिरता अरू बढेको छ। यो अस्थिरताले मुलुकको सार्वभौमिकता कमजोर भएको छ, छिमेकीलगायतका शक्ति राष्ट्रहरूको डंका बजिरहेको छ।
परिणामतः नेपालको राजनीतिक पद्धति र निर्वाचन प्रणालीप्रति नै प्रश्नहरू उब्जेका छन्। विकासको गति अवरुद्ध भएको छ। सुशासन र डेलिभेरी आकाशको फल भएका छन्।
भ्रष्टाचार गोमन सर्पको विषझैँ फैलिएको छ। राजनीतिक अस्थिरताको सबैभन्दा बढी फाइदा कर्मचारीतन्त्रले लिएको छ। यो वा त्यो बहानामा देश छोडेर बाहिरिनेहरूको संख्या बढ्दो छ। विदेश गएकाहरू फर्कनेभन्दा पनि उतैको नागरिकता लिइरहेका छन्।
जनतामा अरू आक्रोश, निराशा र कुण्ठा बढेको छ। यसले देशलाई क्रमशः लोकरिझ्याइँको सुरूङतिर धकेलिरहेको छ। समग्रमा जनता जनार्दन हुन नसकेको २०७९ सालको आमनिर्वाचनले दिएको गलगाँड बोकेर नेपालले त्यसपछिको पहिलो वर्षको कठिनतम यात्रा तय गरेको छ।
देशमा यही बीचमा ठूलाठूला काण्डको पटाक्षेप भएका छन्। तर, ती काण्डलाई तार्किक निष्कर्षमा पुर्याउन नसक्दा जनतामा नेपालमा केही पनि हुँदैन भन्ने किसिमको भाष्य निर्माण भएको छ। जति काण्ड आए पनि त्यसमा कुनै न कुनै रूपमा तीन ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादीकै नेता– कार्यकर्ता समातिएका छन्। यसले देशमा राज्य संयन्त्र नै सबै खाले काण्डमा संलग्न भएको देखिएको छ। तीन ठूला दलको नाममा सिन्डिकेट चलाइरहेका प्रचण्ड–ओली–देउवा आफ्ना मान्छेलाई जोगाउन एक ठाउँमा आउँदा नेपालको लोकतन्त्र अरू बदनाम भएको छ।
राजनीतिमा पुस्तान्तरणको मुद्दाले खासै रङ ल्याउन सकेको छैन। यसले गर्दा देशका पुराना दलहरूमा थप भुत्ते र काम नलाग्ने हुँदै गएका छन्। ती दलको विकल्प दिन्छु भनेर आएका नयाँ दलहरू पनि एक वर्षमै खुट्टी देखेरै पत्याए भन्नुपर्ने स्थितिमा पुगेका छन्।
२०७९ को चुनावमा उदाएका तीन नयाँ दल रास्वपा, जनमत पार्टी र नेपाल नागरिक उन्मुक्ति पार्टी त्रिशङ्कु संसदमा ‘किङ् मेकर’ हुँदा सत्ताको लागि झुत्ती खेलिरहेका छन्। तर, जति नै झुत्ती खेले पनि उनीहरू तैरिरहेका छैनन्, सत्ताको चास्नीमा नराम्ररी डुबिरहेका छन्।
यसबाट जनतामा नयाँ भनिनेहरू पनि विकल्प हैन रहेछन् भन्ने किसिमको महसुस हुँदै गएको देखिन्छ। हुन पनि हो, उनीहरूले २०७९ को चुनावमा नयाँका नाममा देशलाई अर्को प्रयोगशाला बनाएकै हुन्। वैचारिक कित्ता नै नभएका बेकित्ताहरूलाई सत्ताको चाबी बुझाएपछि जे हुनुपर्ने थियो, अहिले त्यही नै भइरहेको हो। उनीहरू वास्तवमा ‘नो भोट’ थिए, त्यसलाई ‘यस भोट’ बनाएर रजाइँ मात्र गरिरहेका हुन्।
यही पृष्ठभूमिमा २०८० सालले नेपाललाई दुई सुखद परिणाम दिएको छ। पहिलो, नयाँ दल समस्या हुन्, समाधान हैनन्। दोस्रो, चुनावपूर्वक गैरवैचारिक गठबन्धन देशको राजनीतिक निकास हैन। तत्कालका लागि यी दुवैको गणितीय परिणाम निस्कँदैन होला। तर दीर्घकालका लागि नेपालको राजनीतिक मार्ग दुरुस्त गर्न यी दुवैको अहम् अर्थ हुन्छ।
यही क्रममा एकपछि अर्को बुमर्याङ् गर्दै वर्षको अन्तिमतिर केही मात्रामा भए पनि वैचारिक आधारमा सत्ता गठबन्धन बनेको छ। यसलाई विगतका गल्तीहरूको सोधभर्नाका रूपमा लिएर अगाडि बढ्ने हो भने यसले बुमर्याङमा परेको नेपालको राजनीतिलाई सही राजमार्गमा ल्याउन सक्ने छ। तर, अहिले नै योसँग परिणाम दिइहाल्ने खालको अफ्टरम्याथ भने छैन।
समग्रमा २०८० साल नेपाललाई खासै सुखद समाचार नदिएरै सकिएको छ। निर्मम भएर समीक्षा गर्ने हो भने नेपालका लागि २०८० साल एउटा अप्रिय सपना जस्तो हो। यसले नेपाली समाजका हरेक तह र तप्कालाई नराम्रो ऐँठन लगाएर गएको छ।
अब प्रश्न उठ्छ, वर्ष २०८१ कस्तो होला ? २०८० को पृष्ठभूमिमा हेर्ने हो भने २०८१ पनि त्यति सुखद होला भन्न सकिने अवस्था छैन। त्यसको सुरुवात वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनले नै लिटमस पेपरको काम गरिरहेको छ।
२०८० को सबैभन्दा ठूलो उपलब्धि ढिलै भए पनि वामपन्थीहरू एक ठाउँमा आएका थिए। तर, उपनिर्वाचनमा छुट्टाछुट्टै उम्मेदवारी दिएर त्यसको सुखद सम्भावनालाई फेरि एकपटक दुर्घटनामा पारिएको छ। इलाममा एमाले र माओवादी एक ठाउँमा आए पनि नेकपा एसले छुट्टै उम्मेदवारी दिएको छ भने बझाङमा त सबै वामका आआफ्नै उम्मेदवार छन्। यी दुवै निर्वाचनका लागि सबै वाम एक ठाम हुन सकेको भए तत्कालका लागि त्यसले निर्वाचनको परिणामलाई त फरक पार्थ्यो नै, दीर्घकालका लागि वामपन्थी गठबन्धन हुँदै एकतामा जान सक्ने सम्भावना पनि जीवित पारिराख्थ्यो। तर, दुर्भाग्य त्यसो हुन सकेन।
यसो हुन नसक्नुको मूल कारण ओलीको कहिल्यै नचेत्ने हेपाहा प्रवृत्ति नै हो। यदि उनले एकतर्फी रूपमा एमालेका उम्मेदवार घोषणा नगरेर सरकारमा रहेका अरू दुई वामपन्थी घटकसँग सरसल्लाह गरेको भए अहिलेको अवस्था आउने थिएन।
पहिला आफ्ना उम्मेदवार घोषणा गर्ने अनि अरूलाई तिनै उम्मेदवारलाई समर्थन गर भन्ने कुरा राजनीतिमा पाच्य कुरा हैन। यसमा ओलीको नेकपा एस र त्यसका नेताहरूप्रतिको हेपाहा र पूर्वाग्रहले काम गरेको छ। यही ओली प्रवृत्तिका कारण नेपालमा फेरि एकपटक वैचारिक आधारको ध्रुवीकरणको यात्रा दुर्घटनामा पर्दैछ।
समग्रमा नीतिहरूको राजा अर्थात् राजनीति नै नेपालमा बुमर्याङमा पारिएको छ। यसले गर्दा अरू तमाम नीतिहरू पनि प्रभावित छन्। परिणामस्वरूप देशमा केही नै हुँदैन भन्ने किसिमको जबरजस्त भाष्य निर्माण भएको छ। यसलाई चिर्न आवश्यक कदम चाल्ने त कुरै छोडौं, उल्टै त्यसको गति बढाउने काम राज्य संयन्त्रबाट भइरहेको छ। त्यसलाई थप गति दिन नेपाली मिडिया, विचार निर्माता, नागरिक अगुवाहरू पनि भिडिरहेकै छन्।
प्रकारान्तरमा राज्य असफल हुने दिशातिर तीव्र गतिमा हुइँकिरहेको छ। २०७९ को आमनिर्वाचनमा जनता जनार्दन नहुँदा देशले नोक्सान भोग्नुपरेको वर्षका रूपमा २०८० साल जबरजस्त रूपमा अंकित भयो। यो विगत हो। यसलाई सच्याउन सकिँदैन, बढीमा त्यसबाट पाठ लिएर भविष्यमा गल्ती नदोहोर्याउन सकिने मात्र हो।
प्रस्तुत पृष्ठभूमिमा नेपाल विक्रम संवत् २०८१ मा प्रवेश गर्दै छ। पृष्ठभूमिलाई मात्र हेर्दा नेपाल र नेपालीका लागि वर्ष २०८१ खासै सुदिनको वर्ष होलाजस्तो छैन। यो वर्षलाई सुदिन बनाउन कोर्स करेक्सन गर्ने क्षमता फेरि पनि देउवा–प्रचण्ड–ओलीले नै राख्छन्। २०७९ को आमनिर्वाचनले त्यो म्यान्डेट यिनीहरूलाई नै दिएको छ।
त्यसमा पनि तत्कालका लागि ओली नै ड्राइभिङ सिटमा छन्। ओली इमानदार भएर सबै वामपन्थी दलहरूलाई एकै गठबन्धनमा लैजान प्रयास गरे भने देश वैचारिक ध्रुवीकरणको मार्गमा प्रवेश गर्ने छ। चाहेर पनि नचाहेर पनि काङ्ग्रेसलगायतका दक्षिणपन्थी दल एक भएर त्यो मार्गमा आउने नै छन्। बिहानीले दिउँसोको संकेत गर्छ भन्ने मान्ने हो भने त्यस्तो सम्भावना कमै छ। वैशाख १५ को उपनिर्वाचनमा ‘एक वाम एक ठाम’ उम्मेदवार नहुनु त्यसैको संकेत हो।
यी सबै प्रतिकूलताका अतिरिक्त पनि एउटा प्रिय कामनाचाहिँ गर्नैपर्छ, त्यो के हो भने परिस्थितिले नाटकीय रूपमा नेपाल समृद्ध र नेपाली सुखी हुने बाटोतिर मोडियोस्। घर देशमा समृद्धि छाएर सुखका दिन आए भने परदेशमा बस्ने नेपालीले पनि स्वतः सत्यम्, शिवम्, सुन्दरमको अनुभूति गर्ने छन्। त्यही अनुभूतिको कामना गर्न पाइयोस्, सबैलाई शुभकामना।