बालुवाटारको छलफल निष्कर्षविहीन, काँग्रेसको अडान कायमै

संसदको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल बिनानिष्कर्ष सकिएको छ। सभामुखको पहलमा भएको छलफलमा काँग्रेसले आफ्नो अडान नछोडेको बताइएको छ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने तथा काँग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी रहेका थिए।

नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको विषयमा संसदीय छानबिनको माग राखेर आज संसद बैठक अवरुद्ध गर्ने अडान जारी राखेपछि कुनै निष्कर्ष निस्किन नसकेको बताइएको छ।

अर्कोतर्फ काँग्रेसको अडानकाबीच सरकारका तर्फबाट गृहमन्त्री लामिछानेले संसदमा आज विधेयक पेश गर्ने तयारी गरेपछि संसदमा आज झडप हुने समेत अनुमान गरिएको छ।

यही छलफलका कारण ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन। काँग्रेसले आजै संसदीय दलको बैठक बसेर सहकारी प्रकरणमा आफ्नो अडान कायम राख्ने र यस प्रकरणबाट पछि नहट्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2024-04-09 12:40:00

प्रतिकृया दिनुहोस्