नेपालको गत सात दशक निकै उथलपुथलपूर्ण रह्यो। लामो निरकुंश राणा शासनको समाप्तिका लागि नेपाली जनताले २००७ सालमा गरेको क्रान्तिपछि जनता विगत सात दशकसम्म निरन्तर आन्दोलित भए। आन्दोलन गर्ने, उपलब्धि प्राप्त हुने, फेरि गुम्ने श्रृङ्खला नेपाल र नेपालीले विगत सात दशकमा भोग्नुपर्यो।
अन्ततः २०६२/०६३ को आन्दोलनपछि नेपालबाट राजतन्त्रको समाप्ति भयो, गणतन्त्र स्थापित भयो। नेपालको इतिहासमै पहिलो पटक जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरुले ‘संविधान सभा’ मार्फत संविधान निर्माण गरे।
संविधान निर्माणका क्षेत्रमा कतिपय कमजोरी भएपनि संविधान सभाबाट संविधानको निर्माण आफैँमा ऐतिहासिक महत्वको कुरा थियो। हरेक परिवर्तनपछि सुन्दर सपना देख्नु स्वाभाविक थियो। लामो उतारचढाव, अस्थिरता, अभाव, गरिबी, असमानता भोगेका नेपाली जनताले नयाँ परिवर्तनसँगै सुन्दर सपना देखे। त्यसबेला ‘नयाँ नेपाल’ भन्ने थेगो निकै लोकप्रिय भयो। नयाँ अर्थात् पुरानो नेपालका सबै विकृति, विसङ्गतिबाट मुक्त नयाँ नेपाल।
तर नयाँ संवैधानिक अभ्यासपछि के हामी साँच्चिकै ‘नयाँ नेपाल’ निर्माणतर्फ उन्मुख छौँ त? विगतमा हामीले भोगेका गलत प्रवृतिबाट मुक्त भएर के हामी अगाडि बढ्दै छौँ त? नयाँ नेपाल निर्माणका लागि सहिदहरुले दिएको बलिदान र सपनाप्रति हाम्रो राजनैतिक नेतृत्व इमान्दार छ त? जुन जुन विकृतिविरुद्व हिजो संघर्ष भयो, आज त्यो संघर्षको नेतृत्व गर्नेहरु नै त्यही र त्यस्तै विकृतिहरुको संवाहक किन भइरहेका छन्? के हाम्रो सात दशक लामो संघर्षपूर्ण यात्रा उही पुरानै गोलचक्करमा मात्र सीमित भइरहेको त छैन? यी र यस्तै प्रश्न अहिले नेपाली समाजमा उठिरहेको छ।
कतिपयले यी प्रश्न निराशाका उपज मानिरहेका छन्। कतिपयले असन्तोष फैलाउने कामका रुपमा मात्र बुझिरहेका छन्। तर यी र यस्ता प्रश्न न निराशा फैलाउने उद्देश्य हुन्, न कृत्रिम असन्तोष नै हुन्। न सीमित व्यक्तिका कुण्ठा। यी अहिले आम नेपाली समाजका वास्तविक मनोविज्ञान हुन्, यर्थात हुन्, तितो लाग्न सक्छ तर सत्य हुन्, जीवन्त भोगाइ हुन्। हो यी र यस्तै प्रश्न खडा गरेर पुरानो व्यवस्थातिर फर्काउने, धमिलो पानीमा माछा मार्ने तत्व यहाँ सक्रिय नभएका होइनन्। तर त्यही भय देखाएर वास्तविकता ढाकछोप गर्न सकिँदैन भन्ने तथ्यलाई अस्वीकार गर्न हुँदैन, सकिँदैन।
यसको अर्थ कुनै उपलब्धि प्राप्त भएन भन्नु पनि अर्काे अतिवाद हो। तर गणतन्त्रलगायतका राजनीतिक उपलब्धिलाई देखाएर पुरानै विकृति र विसङ्गतितर्फको यात्रा गर्नु बेइमानी हो। हो ‘रोम एक दिनमा बनेको होइन’ भनेझैँ राष्ट्रको प्रगति र उन्नति रातारात हुँदैन। कसैसँग पनि जादुको छडीको आशा गर्नु फगत कल्पना मात्रै हुन्छ। तर हाम्रो गन्तव्य कुन दिशातर्फ छ? चरित्र कस्तो छ? इमान्दारिता कति छ? मान्छेको व्यक्तिगत जीवनको यात्रा त उतारचढावपूर्ण हुन्छ भने राष्ट्रको यात्रा सधैँ सहज हुन्छ भन्नु अवस्तुवादी भइन्छ तर यात्राको नियतमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना हुनुहुँदैन। तथापि खेदका साथ भन्नु पर्दछ कि नेतृत्वको नियतबारेसम्म प्रश्न उठ्ने परिस्थिति सिर्जना भएको छ। जुन आफैँमा दुखद् छ।
मुलुकको राजनीतिक क्षेत्र दिन प्रतिदिन फोहोर हुँदै गयो भने समग्र समाज र राष्ट्र प्रदूषित हुने रहेछ। हिजो, अस्ति र आज नेपाली समाजले भोगेको तितो वास्तविकता यही हो। राजनीति सत्ताको लागि गरिन्छ। दलहरु वैकल्पिक विचार र अवधारणाले स्थापित हुन्छन्। नेतृत्व दूरदर्शीपूर्ण हुनुपर्दछ, उसको दीर्घकालीन भिजन र परिकल्पना प्रष्ट हुनुपर्दछ। तर यी सबै कुराबाट विमुख भएर सधैँ सत्ताको छिना झपटीका परिदृष्यले गम्भीर प्रश्न उत्पन्न गरेको छ। राजनीति भनेको कुर्सी दौड हो। कुर्सी प्राप्त गर्ने हरेक उपाय उत्तिकै जायज छन्। ‘जोगी हुन राजनीति गरिँदैन’ जस्ता भाष्य निर्माण गरेर राजनीतिलाई फोहोरी बनाउने कार्यले समग्र राजनीतिप्रति वितृष्णा फैलाउने काम भएको छ।
बहुदलीय व्यवस्थामा धेरै दलहरु हुनु अस्वाभाविक होइन। कुनै एउटा पार्टीको बहुमत नआएपछि दुई वा दुईभन्दा बढी दलबीच गठबन्धन गर्नुलाई गलत भन्न सकिँदैन। संवैधानिक रुपमा पनि सरकार गठनको सन्दर्भमा यस्तो व्यवस्था छ। तर नेपालमा जुन खाले गठबन्धन संस्कृति छ, त्यसले सबै राजनीतिक मूल्यको चिरहरण गरेको छ। न विचारको सामीप्यता छ, न दृष्टिकोणकै मेल छ। न दीर्घकालीन समान उद्देश्य छ। तर यहाँ जोसँग पनि जुनसुकै बेला गठबन्धन हुन्छ। जति नाटकीय रुपले गठबन्धन बन्छ, त्यति नै नाटकीय रुपले गठबन्धन भत्किन्छ पनि। कसैको कसैप्रति विश्वास छैन।
दलहरुबीच आपसी सम्बन्धको आधार आपसी विश्वासभन्दा छलकपटमा आधारित छ। कसले कसलाई उपयोग गर्यो, कसले कसलाई उठायो र पछार्यो कुनै ठेगान छैन। अरुको त कुरै छोडौ शिर्ष राजनीतिक नेतृत्वको बोलीमा समेत कुनै ठेगान छैन। गाली गर्दा चरम असभ्य गाली गर्न पनि बेर छैन। मिल्दा अस्वाभाविक प्रशंसा गर्न पनि बेर छैन। कुनबेला कसले कसलाई धोका दिने हो र अर्काेसँग अंकमाल गर्ने हो, कुनै ठेगान छैन। आफ्नो अस्थिर अस्वाभाविक कार्यका लागि हजारौँ तर्क दिइन्छ तर अल्पअवधिमै ती मिथ्या सावित भएर नयाँ तर्कको आविष्कार हुन्छ।
२००७ देखि अहिलेसम्म कुनैपनि सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न सकेको छैन। स्थिरता सधैँभरि राम्रो हुन्छ भन्न सकिँदैन तर सधैँ अस्थिरताले मुलुक कहिले उभो लाग्दैन। झन अस्थिरता आन्तरिक रुपमा मात्र सीमित नभएर यसको अन्तर्राष्ट्रिय आयामसम्म हुन्छ, त्यो अझ खतरनाक र दुखदायी हुन्छ। त्यसले राजनीति भनेको समग्र राष्ट्रिय आन्दोलन हो, राष्ट्र निर्माणको माध्यम हो भन्ने मान्यतालाई खण्डित गर्दछ र फगत सत्ताको कुर्सीको खेलमा मात्र सीमित गर्दछ। जुन खेल जित्न खेलको नियम पालन गर्नुपर्दैन र जे पनि जायज हुन्छ भन्ने मान्यताले राजनीतिबाट नैतिकता हराँउछ। नैतिकता हराएको राजनीतिले देश र जनताको भलो गर्ने कुरा हुँदैन।
मुलुकको राजनीतिक उपलब्धिको रक्षा गरिनुपर्दछ तर विकृत र विसङ्गतिको संवाहक भएर राजनीतिक उपलब्धिको रक्षा गर्ने कुरा गर्नु बेइमानी हो। विगत सात दशकदेखिको उही गोलचक्करको यात्राले हाम्रा सात दशकदेखिका संघर्ष, सपना र बलिदानलाई अवमूल्यन गरिरहेका छन्। के नेपाल सधैँ यस्तै गोलचक्करमा फसिरहने हो? गम्भीर प्रश्न छ।
(लेखक गौतम राजनीतिक विश्लेषक हुन्)