रेशम चौधरीले दिए ज्यान मार्ने धम्की

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले ज्यान मार्ने धम्की दिएकाे पार्टीका नेताले दाबी गरेका छन्।

पार्टीका केन्द्रीय सदस्य रमेश विकले साेमबार  रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर रेशम चौधरीले आफूलाई मार्ने धम्की दिएकाे बताएका हुन्।

आइतबार रेशम चौधरीलाई भेट्न चार जना पार्टी कार्यालय गएकाे र सुदूरपश्चिम सरकार ढल्यो भने चारै जनाको हत्या हुनसक्ने चेतावनी दिएको उनले दाबी गरे।

‘हिजो रेशम दाइलाई पार्टी कार्यालयमा भेट्न जाँदा हामी चार जना थियौँ, उहाँले सिधै के भन्दिनुभयो भने, यदि सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रमण हुँदा असुरक्षित छाैँ कि भन्ने मैले फिल गरेर आज म यहाँ पत्रकार सम्मेलन गर्न आएकाे हुँ’, रमेशले भने।

कसैले कुटपिट गरेको खण्डमा, कही दुर्घटना भएको खण्डमा र जुनसुकै घटना भएमा रेमश चौधरीले यसको जिम्मा लिनुपर्ने उनको भनाइ छ।

सरकार गठनकाे क्रममा प्रधानमन्त्रीलाई भेट्न जान्छाैँ भन्दा रेशमले बालुवाटारमा गएमा पिट्ने धम्की दिएकाे उनले बताए।

‘गठबन्धन काेसँग गर्ने कुुन गठबन्धनकाे सरकारमा जाने/नजाने भनेर हामी तीन जनाकाे वार्ता टाेली बनाएका छाैँ। आज हामीले प्रधानमन्त्रीलाई पनि यही सरकारले गठनकाे क्रममा भेट्न जाने हुँ भन्दा उहाँ (रेशम)ले यदि तिमीहरू बालुवाटार गयाै भने म तिमीहरू बालुवाटार बाहिरै पिट्छौँ भनेर भन्नुभयाे’, उनले भने।

उनीमाथि आज पार्टी केन्द्रीय समितिको बैठकमा भौतिक आक्रमण भएको थियो। आफूलाई केन्द्रीय कार्यालयको सबै ढोकाहरु थुनेर कुटपिट गरिएको उनले बताए। कुटपिटमा संलग्न सबै मानिसहरु नयाँ रहेको उनले बताए। उनीहरु कसरी र कहाँबाट आए आफूलाई कुनै जानकारी नभएको उनले बताए।

प्रकाशित मिति: : 2024-04-01 15:26:00

प्रतिकृया दिनुहोस्