नयाँ पुस्तालाई थाहा नहुन सक्छ तर मलाई झलझली सम्झना छ- देशको अहिलेको राजनीतिक अवस्था करिब करिब २०३३/०३४ सालको निरंकुश पन्चायती कालरात्रि जस्तो छ।
मण्डलेतन्त्रको बिगबिगी थियो। जनतामा चरम निराशा थियो। प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए। बिपी भित्र बाहिर सबैतिरबाट चेपिएर बरू राजासंग मिलेर बस्छु भन्दा पनि नसहेर जेलमा कोचिएका थिए। पुष्पलाल आफ्नै साथीहरूबाट ‘गद्दार’ घोषित भएर एक्लिएका थिए।
दिनदिनै रेडियोबाट समाचार आउँथ्यो- आज प्रनेका (प्रतिबन्धित नेपाली कांग्रेस)का महामन्त्री पञ्चायत प्रवेश गरे । भोलि प्रनेकपा (प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी)का पोलिटब्युरो सदस्य पञ्चायत प्रवेश गरे। आदि इत्यादि मान्छे जिब्रो टोकेर कानेखुसी गर्थे - राजाको निरंकुश ‘पंचायती प्रजातन्त्र’ सय वर्ष टिक्ने भयो।
अर्को वर्ष विद्यार्थी आन्दोलनको लहर जनआन्दोलनमा बदलियो, राजा जनमतसंग्रह गराउन बाध्य भए। राजनीति अलि खुकुलो भयो पार्टी छोडेर पन्चायतमा आत्मसमर्पण गर्नेहरू फटाफट पार्टीमा फर्कन थाले।फेरि पनि जनमत संग्रहमा बहुदललाई धाँधली गरेर हराइयो।
पुष्पलाल केही अगाडि २०३५ सालमा एक्लिएकै अवस्थामा ‘गद्दार’कै पगरी भिरेर संसारबाट बिदा भए। बिपीले केही वर्षपछि २०३९ सालमा हतास र निराश अवस्थामा इहलोक परित्याग गरे।
दश वर्षभित्र अर्को जनआन्दोलन उठ्यो। बहुदल पुनर्स्थापना भयो। कांग्रेस र कम्युनिष्ट (मुख्यतः एमाले) सत्तामा आए। कांग्रेसका भित्तामा बिपी र कम्युनिष्टका भित्तामा पुष्पलाल सजिए।
परिवर्तन अपूरो भयो भनेर हाम्रो नयाँ पुस्ताले अर्को सशस्त्र विद्रोह गर्यो। दश वर्षको सशस्त्र संघर्ष र त्यसको पूरक जनआन्दोलन/मधेसविद्रोह लगायतका संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो।
तर, इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए। देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो। युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भइरहेछन्। बाबुरामहरूजस्ता केही ‘मूर्ख’हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गराैँ र नयाँ आर्थिक क्रान्ति गरौं भनेर हारगुहार गरिरहेछन्। तर, त्यो अरण्यरोदन बनिरहेछ।
के इतिहासको गति रोकिन्छ त?
भनिन्छ- History repeats, because men repeat their mistakes। गल्ती सच्याऊँ, इतिहास दोहोरिन नदिऊॅ।
- भट्टराईकाे फेसबुकबाट