आजदेखि एसइई

आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा सुरु भएकाे छ।

पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा जारी छ। बिहान ८ बजेदेखि सुरु भएकाे परीक्षा ११ बजेसम्म चल्नेछ।

एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी छन्।

कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फ रहेको बोर्डले जानकारी दिएको छ।

त्यसैगरी परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी छन्।

त्यस्तै परीक्षाका लागि दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ, जसमा सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

परीक्षा चैत २७ गतेसम्म चल्नेछ।

प्रकाशित मिति: : 2024-03-28 09:56:00

प्रतिकृया दिनुहोस्