नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेबाट निष्पक्ष अनुसन्धान हुनेमा आशंका व्यक्त गरेकाे छ।
सोमबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा निष्पक्ष ढंगले अनुसन्धान हुनुपर्ने माग गरे।
‘सहकारी ठगी प्रकरणमा गृहमन्त्री आफैँ मुछिनुभएको छ। यसकाे अनुसन्धान कसरी हुन्छ? यसकाे विश्वास हामीले कसरी गर्ने?, उनले भने, ‘जीवी राईलगायतकाे समूहले अर्बौँ रूपैयाँकाे अपचलन गरेको छ, त्यसमध्येको सबैभन्दा धेरै ठुलाे पैसा ग्यालेक्सी टेलिभिजनमा गएको रहेछ। मैले थाहा पाएसम्म अझै धेरै शक्तिशाली नेताहरूको नाम आउँछ, यदि राम्राेसँग अनुसन्धान भयाे भने।’
अहिलेकाे प्रहरी प्रशासनले निष्पक्ष अनुसन्धान कसरी गर्छ भनेर विश्वास गर्ने भन्दै उनले भने, ‘सहकारीमा जसले ठगेकाे छ, फेयर ढंगले अनुसन्धान हाेस्, कुनै एउटा प्रमाण नाश नहाेस्। अहिले प्रमाणहरू प्रहरीसँगै छ। पीडितहरूले जम्मा गरेर दिएका छन्। जो मुछिएको छ, ऊ आफैँले अनुसन्धान गर्छ भनेर हामीले कसरी पत्याउने? प्रधानमन्त्रीज्यूबाट हामीलाई जवाफ चाहिएको छ। हामीलाई त्यस्ताे कुनै ओठे जवाफ होइन। याे प्रधानमन्त्री बनाइदिने टाइपकाे जवाफ होइन। हामीलाई जिम्मेवारी बोधका साथ जवाफ चाहिन्छ।’
उनले सदन चलोस् भन्ने आफूहरुको चाहना भएको तर आफूहरुले उठाएको प्रश्नको जवाफ नआएकाले चिन्ता बढेको बताउँदै सुन तस्कारीका घटनामा शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च रहेछ भन्न यसअघिका प्रतिपक्षका आरोप सही नहोस् भन्ने पनि ध्यानाकर्षण गराए।
महामन्त्री थापाले बोलेपछि सभामुख घिमिरेले सदनमा उठेका विषयमा सरकारको ध्यानाकर्षण भएको होला भन्ने विश्वास व्यक्त गर्दै आफ्नो पनि ध्यानाकर्षण भएको बताए।