माओवादी नेताले दुईवटा नागरिकता लिएकाे पुष्टिः सत्ताको आडमा उन्मुक्ति

File Photo– KB Gurung
File Photo– KB Gurung

नेकपा (माओवादी केन्द्र) लुम्बिनीका उपाध्यक्ष वीरबहादुर खत्री (भिउदे)ले अलगअलग नामबाट दुईवटा नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी परेको सात वर्ष पुग्यो।

‘झुठा विवरण पेश गरी दोहोरो नागरिकता लिएको’ तथ्य–प्रमाणसहित स्थानीय हरिबहादुर पुनले यथाशीघ्र छानविन र कारबाहीको माग गर्दै २०७४ साल माघ १५ गते प्रशासनमा उजुरी दर्ता गरेका थिए। सत्ता र शक्तिको आडमा कानुन छल्दै उम्किरहेका खत्रीले फरकफरक नाम र फरकफरक मितिमा दुईवटा नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय रोल्पाले पुष्टि गरेको छ।

‘खत्रीजीले दुईवटा नागरिकता लिएको विषय जिल्ला प्रशासन कार्यालय रोल्पा र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले पुष्टि भइसकेको छ। उहाँलाई कारबाही गर्न खोज्दा एक–दुईपटक माथिको राजनीतिक नेतृत्वले रोकेको छ। यसअघिका सिडीओहरूले खत्रीजीलाई कारबाही गर्ने हिम्मत गरेनन्, हरौँ अब के हुन्छ’ प्रशासनका एक अधिकारीले भने।

वीरबहादुर खत्री अर्थात् ‘भिउदे’ले स्वंय आफ्नो र मृत्यु भइसकेका सहोदर भाइको नामबाट नागरिकता लिएको प्रमाण पुरानो फाइल पल्टाउँदा फेला पार्दा पनि तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा हाल गृह मन्त्रालयमै रहेका उपसचिव डिजन भट्टराईले कारबाही गर्न नखोजेको ती अधिकारीको दाबी छ।

स्रोतका अनुसार तत्कालीन प्रजिअ भट्टराईले सत्ता र शक्तिको आडमा काम–कारबाही अघि नबढाइ दुई नागरिकताधारी खत्रीविरुद्धको उजुरी दराजमै थन्काउन महत्वपूर्ण भूमिका खेलेका थिए। खासगरी उनलाई तत्कालीन उर्जामन्त्री वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले कारबाही नगर्न दबाब दिएको बुझिएको छ।

डिजन भट्टराई रोल्पाबाट सरुवा भएपछि प्रमुख जिल्ला अधिकारीको रुपमा गञ्जबहादुर एमसी पुगे र उनले कारबाही अघि बढाए। ‘स्थानीयको चर्को दबाबपछि गञ्ज सरले कारबाही गर्न खोज्नुभएको थियो। तर फेरि नेताहरूले रोके,’ प्रशासनकै अर्का अधिकारी भने।

खत्रीले २०४२ मंसिर १० गते भिउदे खत्रीको नामबाट ३८९२ नम्बरको नेपाली नागरिकता लिएको फेला पर्यो। उक्त नागरिकतामा खत्रीको जन्म मिति २०२२ साउन १४ गते उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय रोल्पाका अनुसार उनको साहिला भाइ वीरबहादुर खत्रीको २०४० सालतिर नागरिकता प्राप्त नगरेरै मृत्यु भएको थियो। पञ्चायतकालमा गाउँमा पुगेको नागरिकता टोलीलाई नागरिक नबनाएको झुठो विवरण पेश गरी भाइ बीरबहादुर खत्रीको नाम उल्लेख गरी १८६ नम्बरको नागरिकता २०४६ वैशाख १५ गते लिएको र त्यस नागरिकतामा जन्म मिति २०२७ भदौ १ गते उल्लेख छ।

खत्रीका बुबा पठुको २०३६ सालको अस्थायी नागरिकता निस्सामा जेठो भिउदे, माइलो धनिराम र साइलो वीरबहादुर उल्लेख रहेको प्रशासनमै प्रमाण छ।

ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले दुईवटै नागरिकता एउटै व्यक्तिको रहेको पुष्टि गर्दै २०७५ कात्तिक ५ जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।

खत्रीलाई थप कारबाहीका लागि तत्कालीन प्रमुख जिल्ला अधिकारी एमसीले मन्त्रालयमा खबर गर्दा तत्कालीन गृहमन्त्री रामबहादुर थापा, तत्कालीन उर्जामन्त्री वर्षमान पुन र उनको सचिवालयमै रहेका रोल्पाका पूर्वप्रजिअ भट्टराईले उल्टै ‘वीरबहादुर खत्रीविरुद्ध जुटाएका सबै कागजात मन्त्रालयमै पठाउनू’ भनेर लिखित रूपमा निर्देशन पठाए। अनि तत्कालीन प्रजिअ एमसीले सबै फाइल गृह मन्त्रालयमै पठाइदिए। र, लगतै भनियो, ‘यससम्बन्धी सबै कारबाही अब उतैबाट हुनेछ।’

दुईवटा नागरिकता लिएका व्यक्ति वीरबहादुर खत्री अर्थात् भिउदे सत्ता र शक्तिको आडमा कारबाही भोग्नबाट जोगिँदैआएका छन्। ‘भिउदे खत्रीलाई माओवादी नेताको आडमा कारबाही गरिएन। यतिबेला गृहमन्त्री रवि लामिछाने हुनुहुन्छ। यस्तो बेला पनि उनीमाथि कारबाहीको भागिदार भएनन् भने सधैँ जोगिने छन्,’ रास्वपा रोल्पाका एक नेताले भने, ‘त्यसो त भिउदेविरुद्ध प्रमाण जुटाइएको फाइल नै गृह मन्त्रालयमै छ।’

प्रकाशित मिति: : 2024-03-17 16:39:00

प्रतिकृया दिनुहोस्