प्रेम प्रस्ताव अस्वीकार गर्दा सुष्माकाे हत्या, कुटोले खाल्डो खनी पुरिएकाे थियाे शव

शनि शाक्य

काठमाडौं

काठमाडौँको तारेभिरमा मृत भेटिएकी सुष्मा लामाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न भएकाे आरोपमा २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकाे हाे।

गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभिरकाे जंगलमा १८ वर्षीय लामाको शव हत्या गरेर गाडेको अवस्थामा भेटिएको प्रहरीले जनाएकाे छ।

१२ कक्षामा अध्ययनरत १८ वर्षीया सुष्माकाे शव गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभिरकाे जंगलमा पुरिएको अवस्थामा फागुन २४ भेटिएकाे थियाे भने २५ गते प्रहरीले उनकाे शवको उत्खनन गरी सनाखत गरेकाे थियाे।

रुपेन्द्रले सुष्मालाई एकतर्फी माया गर्ने गरेको र पटक पटक प्रेम प्रस्तावसमेत राखेको तर सुष्माले अस्वीकार गरेपछि हत्या गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

रुपेन्द्रले मृतक सुष्मालाई विगत ८ महिनादेखि मन पराउँदै आएको र उनीहरु दुबैजना घाँस काट्न, बाख्रा चराउन जंगलमा विगत १/२ वर्षदेखि संगै जाने-आउने गरेको थिए।

प्रहरीका अनुसार आरोपी लामाले मृतकलाई ८ दिनसम्म बाटोमा ढुकेर बसेका थिए भने ४ दिनदेखि खाल्डो खन्न प्रयोग भएको फलामको कुटोसमेत साथमा लिएर हिँडेका थिए।

प्रहरीका अनुसार गत माघ २२ गते रुपेन्द्रले सुष्मा एक्लै कलेज गइरहेको देखेपछि उनलाई बाटो छेकी प्रेम प्रस्ताव राखेको र उनले इन्कार गरेकोले पछाडिबाट घाँटी थिची अचेत बनाएका थिए।

त्यसपछि रुपेन्द्रले पहिले नै रेकी गरेको स्थानमा लगी टाई र जुत्ताको तुनाले घाँटीमा कसेको र हातलाई उनकै कम्मरकाे पेटीले बाँधी कुटोले खाल्डो खनी पुरेको प्रहरी अनुसन्धानबाट खुलेकाे हाे।

हत्यापश्चात रुपेन्द्रले सुष्माको मोबाइल र किताब/कापी आफैँले लिएर गएका थिए।

प्रकाशित मिति: : 2024-03-17 14:47:00

प्रतिकृया दिनुहोस्