यस्ताे छ पाँच राजनीतिक दलबीचकाे ७ बुँदे सहमति

सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलबीच ७ बुँदे सहमति भएको छ।

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका शीर्ष नेतृत्वको बैठकले मंगलबार ७ बुँदे सहमति गरेकाे हाे।

सहमतिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालकाे हस्ताक्षर रहेकाे छ।

सहमतिअनुसार राष्ट्रियसभाको रिक्त रहेको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएकाे छ।

सहमतिमा राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्यलाई थप मजबुद गर्ने निर्णय गरेको छ।

दलहरुबीच नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्ग्याउने सहमति भएको छ।

सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने, तथा देशका आर्थिक समस्या सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने दलहरुको सहमति छ।

दलहरुबीच राजनीतिक दल राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमति भएको समझदारीपत्रमा उल्लेख छ ।

प्रकाशित मिति: : 2024-03-12 12:43:00

प्रतिकृया दिनुहोस्