सिंहदरबारछेउमा ‘सरकार’ नभेटिरहेकाहरू (भिडियो)

Breaknlinks
Breaknlinks

मध्यान्नको साढे १२ बजेको छ। 

यसै पनि व्यस्त हुने भृकुटीमण्डप सधैंझै उस्तै हुन्छ। त्यसमाथि थरिथरिका मेला र महोत्सवले यो ‘मण्डप’ खालि नै हुँदैन। 

भृकुटीमण्डको गेटको छेवैमा जुत्ता मेला छ। पर्यटन बोर्डसँगै दक्षिणतिर रहेका चिया पसलमा बसेकाहरू सधैं झै गफिरहेका छन्। 

चिया पसलको पूर्व दक्षिणतिरको एक छेउमा सभाहल जस्तो गरी टेन्ट टाँगिएको छ।

टेन्ट वरपर चार–पाँच जनाको समूहमा ठाउँ–ठाउँमा केही बसिरहेका छन्। उनीहरू नि गफिँदै छन्। 

टेन्टको पूर्वतर्फ छेवैमा खाना पकाउने ठाउँ छ। जहाँ भेटिए किसुनदेव शनी। रौतहटबाट न्याय माग्न काठमाडौँ आएका। 

उनी आएको ४२ दिन भयो। घरमा मिटरब्याजी साहु (अनुचित लेनदेन)ले उठिबास बनाएपछि २५ दिन पैदल हिडेर काठमाडौँ आएका। 

सरकारसँग न्याय माग्न काठमाडौँ आएका शनीले सरकारबाट न्यायको अनुभूति त गरेका छैनन् नै। बरु थप त्रास बेहेरो। 

भृकुटीमण्डपमा यताबाट उता र उताबाट यता लखेटिए।

जसोतसो प्रशासनले टेन्ट बनाएर बसालेको भएपनि शनीका दैनिकी कम्ता दुखिलो छैन। 

बिहानको खाना खाइसकेर बसेका उनलाई हामीले सोध्यौँ– यहाँ बस्दा के समस्या भोग्नु भएको छ? 

उनले एक सासमा भने– ‘एक दिनको खाना हामी तीन दिनसम्म खान्छु। आज खायो भने भोलि तरकारी हुँदैन। पानी, दाउरा हुँदैन। यस्तो समस्या छ हामीहरूको।’

टाँगिएको टेन्टको पूर्वतर्फबाट टेन्टभित्र पस्न सकिन्छ। टेन्टभित्र थकित, अनजान अनुहार छन्। 

झोलाहरू छरपस्ट छन्। केही सिरक–डसनाहरू छन्। हलभरी म्याट बिछ्याइएको छ। 

त्यही म्याटमा धेरैजसो सुतेका छन्। कोही बसेका छन्। कोही आफ्नै गफमा गफिँदै छन्।

त्यहीँ भेटिए, बर्दिया बाँसगढीका राहुल क्षेत्री। उनी कञ्चनपुरदेखि २५ दिन हिडेरै आएका। 

नक्कली कपाली तमसुक बनाएर घरजग्गा साहुले अडपिदिएपछि उनको उठिबास नै भएको छ। 

अब घरजग्गा फिर्ता हुनुपर्‍यो भन्दै न्यायमार्चमा उनी आएका हुन्। तर सरकारले ४२ दिनसम्म कुनै निष्कर्ष नदिँदा उनी दुःख व्यक्त गर्छन्। 

नेताहरू प्रतिबद्धता जनाउन नआएका पनि होइनन्। नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा एसका वरीष्ठ नेता झलनाथ खनालल, सरकारमा रहेका माओवादीदेखि रास्वपालगायतका नेताहरूले आएर प्रतिबद्धता जनाएका छन्। 

तर काठमाडौँमा नै न्यायका लागि बसेको दुई हप्तासम्म सरकारले देखे पनि नदेखे झैँ गरेकोमा उनी दुखेसो पोख्छन्। पखला चलेपछि जिवनजल बनाउँदै गरेका उनी भन्छन्– ‘नेताहरू पनि आफ्नै स्वार्थ पूरा गर्न त आएका होलान्।’

अझै आन्दोलन गर्नका लागि ठाउँ–ठाउँमा निषेधाज्ञा गरेकोमा सरकार नागरिकप्रति जिम्मेवार हुन नसकेको भन्ने क्षेत्रीलाई लाग्छ। 

‘हामीले न्याय माग्न पनि नपाउने। ठाउँठाउँमा निषेधाज्ञा गरेर सरकारले नागरिकप्रति गैरजिम्मेवारीपन देखाएको छ।’

गठबन्धन फेरबदलसँगै गृहमन्त्रालयमा रवि लामिछाने आएपछि भने उनी केही आशावादी देखिन्छन्। 
‘उहाँ (रवि)ले अब केही गर्नुहुन्छ कि भन्ने लाग्छ। हेरौँ आज छलफल हुँदैछ’, उनले भने। 

शनी र क्षेत्रीमात्र होइन। मिटरब्याजी पीडितले काठमाडौँमा न्यायका लागि आन्दोलन गर्न थालेको वर्ष दिन पुग्न एक महिना बाँकी छैन। 

गएको चैत २० गतेदेखि मिटरब्याज पीडितहरू काठमाडौँमा आन्दोलनरत छन्। मौसमी सबै ऋतिहरूसँग लडाइ लडेका पीडितहरूले न्यायको अनुभूत गरेका छैनन्। 

प्रहरीको लाठी र धरपकड रहेका उनीहरूले न्याय नपाएसम्म घर नफर्किने बताउँछन्। 

जसको फलस्वरुप मिटरब्याज पीडितहरू माघको १६ गतेदेखि पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एक साथ पैदल यात्रा गरेर काठमाडौँ आएका छन्। 

पैदलयात्रा गरेर काठमाडौँको सिंहदरबारलाई आफ्नो पीडा सुनाउन थालेको ४२ दिनसम्म पनि सिंहदरबारले उनीहरूको आवाज भने सुन्न सकेको छैन। 

पैदलमार्चपछि तीन पटक गृहमन्त्रालयसँग भएको छलफल निष्कर्षबिहीन भयो। सोमबार पनि गृहमन्त्रालयसँग मिटरब्याज पीडिहरूले छलफल गरिरहेका छन्। 

भिडियो–

प्रकाशित मिति: : 2024-03-11 19:34:00

प्रतिकृया दिनुहोस्