सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएपछि बसमा आगजानी

सर्लाहीमा यात्रुबाहक बसले एकजना साइकल यात्रीलाई ठक्कर दिँदा आक्रोशित स्थानीयले बसमा आगो लगाएर जलाएका छन्।

नवलपुर मलंगवा सडकखण्डअन्तर्गत मलंगवातर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साइकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल किशोर महतोलाई ठक्कर दिएको हो।

दुर्घटनामा परेका महतो गम्भीर घाइते भएका छन्। घटनालगतै स्थानीयले बसमा आगजानी गरेको प्रहरीले जनाएको छ। आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

साइकलमा सवार महतो गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात काठमाडौँ रेफर गरिएको प्रहरीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए।

उनको अवस्था चिन्ताजनक रहेको छ। बसका चालक प्रहरीको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरिले जनाएको छ।

प्रकाशित मिति: : 2024-03-11 13:52:00

प्रतिकृया दिनुहोस्