आज असार १५। राष्ट्रिय धान दिवस। आजैका दिन दही चिउरा खाने प्रचलन पनि छ।
नेपालमा कृषिको महत्त्व बढाउँदै राष्ट्रिय खाद्य सुरक्षामा धानको भूमिकालाई महत्त्व दिनेगरी धानको उत्पादन वृद्धि गर्न तथा यसलाई आधुनिकीकरण र व्यवसायीकरण गरी किसानको मनोबल वृद्धि गर्ने उद्देश्यले २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरू गरिएको हो। यस वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय धान दिवस मनाइँदै छ।
धान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत सबै दलका नेतृत्वले शुभकामना सन्देश दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले पनि धान दिवसको शुभकामना दिँदै जमिन बाँझो रहने अवस्थाको अन्त्य गर्न सरकारलाई सुझाव दिएका छन्। उनले नेपाल कृषिप्रधान देश भए पनि वर्षेनी धान-चामल आयात बढ्दै जानु चिन्ताको विषय भएको बताएका छन्।
‘धान एवं चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय हो। जमिन बाँझो रहने अवस्थाको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेगरी हाम्रो प्रयासलाई केन्द्रित गर्नुपर्ने खाँचो छ’ उनले सन्देशमा भनेको छन् ‘धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गर्दै धान एवं चामलको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’