मलेसिया सरकारले नेपालीसहित विदेशी श्रमिकलाई प्रवेशमा रोक लगाउने भएको छ।
आगामी जुलाइदेखि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय भएको मलेसियन सञ्चारमाध्यमले जनाएका छन्।
श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको हो।
मलेसियाको गृह मन्त्रालयले मे मसान्तपछि आप्रवासी कामदारलाई प्रवेश नदिने भन्दै त्योभन्दा अगावै आवश्यक श्रमिक भित्र्याउन भनेको छ।
गृहमन्त्री सेरी सैफुद्दीन नासुसन इस्माइलले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले आप्रवासी श्रमिकको संख्यालाई नियन्त्रण गर्न चाहेको बताएका छन्।
‘कुल श्रम शक्तिको १५ प्रतिशत मात्रै विदेशी श्रमिक राख्ने नीति तय भएको छ। त्यसअनुसार स्वीकृत कोटामा कम्पनीहरुलाई आप्रवासी कामदार भित्र्याउनका लागि ३१ मेसम्मको समय दिइएको छ,’ उनले पत्रकार सम्मेलनमा भने।
मलेसियाको श्रम शक्ति करिब एक करोड ७० लाख छ। सरकारी नीतिअनुसार त्यसको १५ प्रतिशत अर्थात् २५ लाख ५० हजार आप्रवासी श्रमिकलाई अवसर दिइनेछ। तर, अहिले नै २१ लाख ३० हजार ९३१ आप्रवासी मलेसियामा कार्यरत छन्। त्यसमध्ये नेपालीहरु मात्रै ५ लाख हाराहारीमा छन्।