एपिएफ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा

झापा गोल्डकपको चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ। 

विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ झापा गोल्डकपमा एपिएफले आर्मीको आत्मघाती गोलको उ    पहारबाट फाइनल यात्रा तय गरेको हो।

एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा आत्मघाती भएको थियो। फोफोनाको प्रहार आर्मीका रक्षक कमल थापालाई लाग्दै गोल भएको थियो।

पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलेका थिए। खेलको ४२औंँ मिनेटमा फोफोनाले दिएको क्रस पासमा एपिएफका अनिश महर्जनले गोल गर्न सकेनन्। खेलको ४७औँ मिनेटमा सर्ज सोङले पेनाल्टी एरियाबाट गरेको प्रहार बारको नजिकबाट बाहिरियो। खेलको ६९औँ मिनेटमा बुद्धिमान राईले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार फितलो भयो।

खेलको ‘प्लेयर अफ द म्याच’ विजेता टोली सशस्त्र प्रहरीका फोडे फोफोना भए। उनले रु ११ हजार पुरस्कार प्राप्त गरे। शनिबार चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसीबीच सेमिफाइनल खेल हुनेछ।

प्रतियोगिताको फाइनल खेल यही फागुन २८ गते हुनेछ। प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित नेपालका १० टोलीको सहभागिता छ। प्रतियोगिताका विजेतालाई रु १३ लाख नगद पुरस्कारसहित ट्रफी र उपविजेतालाई रु सात लाख प्रदान गरिनेछ।

प्रकाशित मिति: : 2024-03-08 20:20:00

प्रतिकृया दिनुहोस्