तीस वर्षदेखि ‘नयाँ जीवन’ छामिरहेकी गायत्री 

मिनु गोले

काठमाडौं

३० वर्षअघिको त्यो सुरुवात अहिले पनि टुङ्गिएको छैन। अझै पनि बिरामीको खुसीमा झन् खुसी हुन्छिन् गायत्री। उनीहरूको दुखाई आफैँलाई दुख्छ। भर्खर संसारमा पाइला टेकेको नवजात शिशुको पहिलो रुवाईमा गायत्रीका खुसीका फोहोरा निस्किन्छन्।


प्रसूति गृहको आईभिएफ (कृत्रिम गर्भाधान) कक्षको भित्तामा एउटा पत्रिकाको कटिङ छ, जहाँ एउटा उन्मुक्त हाँसो झल्किने तस्बिर पनि छ। दश वर्षअघिको अलि मधुरो त्यो तस्बिरमा हाँसिरहेको एउटा चेहरा हो गायत्री सुवेदीको।

६० पुग्नै लागेकी गायत्री सुवेदी प्रसूति गृहकी एक सिनियर स्टाफ नर्स हुन्। जहाँ जीवनका ३० वर्ष यसरी नै बिताएकी छन्, कहिले हाँसो अनि कहिले खुसी र आँशुसँगै। ती आँशु उनका कहिले खुसीले बर्सिए। कहिले पीडाको भक्कानोसँगै।

त्योबेला पहिलोपटक सरकारी अस्पतालमा कृत्रिम गर्भाधानबाट जुम्ल्याहा बच्चा जन्मिएका  थिए। त्यो दिन अहिले पनि उनलाई उत्तिकै ताजा लाग्छ। अनि उत्तिकै रोमाञ्चक र भावनात्मक पनि।

सरकारी अस्पतालले सुरु गरेको आईभिएफ प्रविधिबाट जन्मिएका ती जुम्ल्याहा अब बालापन काटिसके। जीवनको उकालो चढिरहेका उनीहरू हरेक वर्ष आएर जन्मदिनमा गायत्रीलाई चकलेट दिन्छन्। अंगालो हाल्छन् अनि आशीर्वाद लिन्छन्।

खुसीका यी आँशु अनि हाँसो उनका हरेक वर्ष झुल्किरहन्छन्, आफ्नै हातले पहिलोपल्ट स्पर्श गरेका ती ज्यानहरूलाई सुम्सुम्याउँदा।

‘पहिलो पटक आइभिएफ प्रविधिबाट बच्चा जन्मिदाँ म, मेरो साथी राधा शाक्य अंगालो मारेर रोएका थियौँ। अनि हाँसेका पनि थियौँ’, उनी सम्झिन्छिन्। गायत्री, राधा अनि उनका अरु पाँचजना स्वास्थ्यकर्मीको टोलीले त्यो बच्चाका लागि धेरै नै मेहनत अनि उत्तिकै चासो पनि लिएको थियो।

‘ती बच्चाहरू अझै पनि उनलाई भेट्न आउँछन्, अहिले पनि जन्मदिनमा चकलेट दिन आउँछन्’, गायत्री भन्छिन्, ‘यहाँ आउँदा उनीहरू मामाको घरमा आएको भन्छन्।’

गायत्रीलाई आफ्नो घरभन्दा पनि प्यारो लाग्छ प्रसूति गृह। जहाँ उनले आफ्नो नर्सिङ सेवामा २० वर्ष बिताइसकेकी छन्। यहाँ आउने गर्भवती अनि सुत्केरीका ब्यथा उनी आफैँलाई पोलेजस्तै लाग्छ, जहाँबाट उनले सरकारी अस्पतालमा आफ्नो नर्सिङ करियरको सुरुवात पनि गरेकी थिइन्।

‘मलाई त आस्पताल होइन, मन्दिरजस्तै लाग्छ। एकदिन नआउदाँ कस्तो कस्तो लाग्छ’, उनी भन्छिन्, ‘३० वर्ष हामीले यहाँ हाँसो, आँशु र पसिना बगाएका छौँ।’

काठमाडौँको कीर्तिपुर नगरपालिका–२ की गायत्री सुवेदी ६० को उकालो चढ्दैछिन्।

बिहानको ८ बजेदेखि ३ बजेसम्म उनले महिला बिरामीहरूको हेरचाह गर्छिन्। उनीहरूलाई सरसल्लाह दिन्छिन्। ब्यथा लागेका महिलादेखि भर्खर जन्मिएका शिशु र सुत्केरीहरूलाई उनका अनुभवी हातले सुम्सुम्याउँदै स्याहार गर्छिन्।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमै हो उनले पहिलोपल्ट सरकारी ‘नर्स’ बनेर जागिरे जीवन सुरु गरेको छ।

नर्सिङ सेवाका करिब १३ वर्ष उनले गर्भवती, सुत्केरी अनि नवजात शिशुहरू र अरु रोगको निदान खोज्न आएका महिलाहरू स्याहारिन्।

अहिले उनी त्यही अस्पतालमा सुरु भएको आईभिएफ सेन्टरमा परामर्शदाता छिन्। जहाँ नि:सन्तान हुनुको ‘एकोहोरो पीडा’ झेलिरहेका महिलाहरू आइपुग्छन्। दम्पती आउँछन्।

गायत्रीले उनीहरूलाई सम्झाउँछिन्। बुझाउँछिन्। अनि उनीहरूलाई इच्छा भए कृत्रिम गर्भाधानका लागि ‘कन्भिन्स’ गर्छिन्।

‘नि:सन्तान हुनु महिलाको मात्रै कमजोरी होइन, पुरुषकोमात्रै पनि होइन। तर दोष जति सबै महिलाले झेल्नुपर्छ’, गायत्रीको अनुभव छ, ‘उहाँहरूलाई यो समाज, परिवार र साथीभाइहरूले पनि उस्तै नजरले हेर्छन्। मानसिक यातना त महिलाले नै भोग्नुपर्छ।’

०००

वि.सं. २०२१ सालमा विराटनगरमा जन्मेकी हुन्, गायत्री सुवेदी। परिवारकी जेठी छोरी थिइन् उनी। सोझी थिइन् अनि मेहनती पनि।

दश कक्षा पढ्दापढ्दै उनको बिहे भयो। उनी त्योबेला भर्खर १७ लाग्दै थिइन्। सामाजिक प्रचलन नै त्यस्तै थियो।

बिहेपछि पनि उनले पढाइ भने छोडिनन्। उनका श्रीमान र घरपरिवार शिक्षित नै थिए। २०३८ सालमा एसएलसी पास भएर उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा कमर्स (व्यवस्थापन) पढ्न थालिन्।

आइए पास गर्दा नगर्दै उनका दुई छोरी जन्मिसकेका थिए। परिवारको बोझ थपिन थालेपछि उनी पढाइ छोडेर सरकारी जागिर खोज्न भौतारिन थालिन्। तर कतै भेटिएन्। कहीँ लिखित अनि कहीँ अन्तर्वार्तामा उनी फालिइन्।

उनका श्रीमान पनि पढेलेखेका थिए। जागिरे थिए। उनैले सम्झाए ‘अब सरकारी जागिरको चक्कर नलगाऊ, नर्सिङ पढ।’ श्रीमानले गायत्रीलाई नर्सका रुपमा देख्न चाहे।

‘यो पेशामा सेवा पनि हुन्छ भनेर श्रीमानले मलाई नर्स बनाउने सोच्नुभएछ’, पुरानो कुरा सम्झिँदै गायत्री मुस्कुराउँछिन्, ‘उहाँकै देन हो। त्योबेला यस्तो सपोर्ट गर्ने श्रीमान थोरै महिलाले पाउँथे।’

गायत्रीका मामा आफैँ नेपालका गिनेचुनेका स्त्री रोग विशेषज्ञ थिए- डाक्टर भोला रिजाल। उनले पनि गायत्रीलाई नर्सिङ पढ्न उत्प्रेरित गरे। पाँच र छ वर्षकी दुई छोरी सासु-ससुराको जिम्मा लगाएर उनी नर्सिङ पढ्न कोशी नर्सिङ क्याम्पस कुद्न थालिन्।

तीन वर्षको नर्सिङ कोर्स सकेपछि उनले त्यही क्याम्पसमै ‘करार’को जागिर सुरु गरिन्।

एक वर्षपछि गायत्रीको परिवार काठमाडौँ सर्‍यो। काठमाडौँको ओम नर्सिङ होममा उनले एक वर्षमा काम गरिन्। यहाँ उनका आफ्नै मामा डाक्टर भोला रिजाल पनि काम गर्थे।

२०५० सालमा उनले लोकसेवा परीक्षा पास गरिन् र सरकारी जागिर सुरु गरिन्।

‘सोचेको पनि थिइनँ। तर लोकसेवामा पास भएछु’, अहिले पनि त्यो दिनको सम्झनाले उनलाई दंग बनाउँछ, ‘मेरो रहर अनि श्रीमानको इच्छा पनि पूरा भएको थियो।’

त्यो सुरुवात अहिले पनि टुङ्गिएको छैन। अझै पनि बिरामीको खुसीमा झन् खुसी हुन्छिन् गायत्री। उनीहरूको दुखाइ आफैँलाई दुख्छ। भर्खर संसारमा पाइला टेकेको नवजात शिशुको पहिलो रुवाईमा गायत्रीका खुसीका फोहोरा निस्किन्छन्।

‘उमेर जाँदैछ तर अझै थाकेकी छैन’, गायत्री भन्छिन्, ‘बाँच्दासम्म यस्तै सेवा गर्न सकूँ…।’ 

प्रकाशित मिति: : 2024-03-08 17:55:00

प्रतिकृया दिनुहोस्