रुखबाट छुट्टिएको पातको पनि आफ्नै आकार, रङ्ग, अनि अस्तित्व हुन्छ भने ऊ त सिङ्गो सृष्टि धानेको ‘नारी’, सोच त कति होला उसको अस्तित्वको मूल्य? त्यो भन्दा बढी आवश्यकता कति होला यो जगतलाई, उसको?
त्यो आकाशभन्दा पारि के होला? त्यो समुन्द्रको गहिराइ कति छ होला? सबैभन्दा सुरुमा जन्मिएको मानिस चाहिँ कहाँबाट जन्मियो होला या कसरी भयो होला प्रकट? यी रहस्यभन्दा पनि रहस्यमय केही छ भने त्यो हो, नारी। पहाडभन्दा बलियो मन, युद्ध भूमिमा खटिएको सेनाको भन्दा बलियो मनस्थिति अनि कपासको भुवाभन्दा कोमल हृदय यदि कसैले बोक्छ भने त्यो केवल नारीले बोक्छे।
इतिहासले नचिनेको त्यस्तो घटना हो नारी। जो अनेक अवतारमा अनेक भूगोलमा बारबार घटित त भइरहिन् तर कुँदिन सकिन् कुनै शिलालेखमा न त लेखिन सकि कुनै समाचारको मुख्य हेडलाइन बनेर।
२१औँ शताब्दीमा समावेशीताको सिद्धान्त अवलम्बन गर्दा समेत उपसभामुखदेखि उपमेयर अनि उपाध्यक्षमा सीमित हुनुमा नारीलाई कत्ति गुनासो छैन किनकि उसलाई उसैले मान्ने धर्महरू स्वयम्ले कहिल्यै पत्याएनन्, मुख्य ईश्वरको रूपमा। अपनाएनन् ग्रन्थको मुख्य पात्रको रुपमा।
महाभारतमा द्रौपदीको भूमिका पाण्डवहरूको कथालाई रोचक बनाउनका लागि छ, अनि राधाको कृष्णको लिलाको एक कडीको रुपमा। राधालाई ईश्वर यस कारण मानियो किनकि उनले त्याग्ने मुटु राखिन्। सीतालाई यसकारण माता भन्न थालियो किनकि उनी धैर्यताकी मूर्ति भइन् अनि प्रमाणित गरिन् आफ्नो सतित्व। बुद्धको कथामा यसोधरालाई महान यसकारण भनियो किनकि उनले सजिलै जान दिइन् बुद्धलाई बुद्धत्वको मार्गमा।
न त ‘अल्लाह’को दूत कुनै महिला नै हुन सकिन। हुन त जिजस क्राइस्टको कथामा पनि क्राइस्ट नै भए मुख्य पात्र, बाइबलले पनि स्त्रीलाई पूज्न सकेन मुख्य ईश्वर मानेर। पार्वतीलाई सम्झिँदा ‘शिव-पार्वती’सँगै जप्न सिकाइयो तर ‘शिव शिव’ भन्न चाहिएन कतै पार्वतीको नाम।
इतिहासको त के कुरा धर्मले नै मान्दैन एक नारीलाई ‘हिरो’। ईश्वर बन्न पनि एक नारी त्यागी हुनुपर्ने, सहनशील हुनुपर्ने अनि प्रदर्शन गर्नुपर्ने आफ्नो सतित्व सबैको सामु। तर, एक पुरुषलाई ईश्वर बनाउन उसले जन्मजात महाशक्तिको रुपमा अवतार लिएर जन्मिए पुग्ने।
आखिर किन काप्छन हातहरु इतिहासकारका, एक नारीको इतिहास लेख्न? आखिर किन पछि हट्छ सरकार एउटी नारीको योगदानको प्रचारप्रसार गर्नबाट?
के नारीको इतिहास त्यति शक्तिशाली छ, जसले छायामा पार्न सक्छ अरु इतिहासलाई? के त्यति गाढा छ एउटी नारीले घरदेखि समाजमा छोडेको छाप जसको अघि पितृसत्ताको योगदा फितलो हुन्छ? नत्र के डर यो समाजलाई नारीको साहसिक कथाबाट जुन एकादेशको हैन यही देशको कथा हो। नेपाल भित्रको कथा हो।
पृथ्वीनारायण शाहलाई नचिन्ने सायदै कै कोही होला नेपालमा। उनको योगदान र कामअनुसार उनको यत्तिको चर्चा हुनु सही हो। तर, तपाईंलाई के लाग्छ, पृथ्वीनारायण शाह केवल पृथ्वीनारायण शाह भएकै कारण र उनको योग्दानले मात्र राष्ट्रको विभूति भएका हुन? के उनको शासनकालकै तत्कालिन बौद्धिक वर्गदेखि रैतिसम्मले उनलाई राष्ट्रको पिता मानेका हुन्? पक्कै होइन। पृथ्वीनारायण शाहको पञ्चायत कालभन्दा पहिले उति चर्चा थिएनन्, जति हुनु पर्थ्यो। राजा महेन्द्रले पञ्चायती शासन जनहितमा छ भनेर प्रमाणित गर्नुपर्ने थियो। किनकि एकपटक (वि.स २००७-२०१९) प्रजातन्त्रको स्वाद चाखिसकेका र स्वतन्त्रतामा बाँच्न थालेका आम सर्वसाधारण जुनसुकै बेला राजतन्त्रको विरोधमा उत्रिन सक्ने उच्च सम्भावना थियो। त्यसकारण पनि राजा महेन्द्रलाई राजतन्त्रबारे जनमानसमा सकारात्मक छाप पार्नु थियो। अनि राजतन्त्रकै इतिहासमा त्यो पनि शाह वंशको, पृथ्वीनारायण शाहभन्दा गर्विलो इतिहास के हुन सक्थ्यो र।
उनले तिनै पृथ्वीनारायण शाहलाई राजतन्त्रको रक्षार्थ अस्त्रको रुपमा अघि सारे। दरबारमै चित्रकार झिकाएर पृथ्वीनारायण शाहको नयाँ तस्विर कोरियो त्यही तस्विर जुन पृथ्वीनारायण शाह भन्ने बित्तिकै तपाईं हाम्रो स्मृतिमा आउँछ। अनि पढ्न थाले पृथ्वीनारायण शाहलाई स-साना नानीहरुले, नचिनेकाले चिन्न थाले राष्ट्र निर्माताको रुपमा।
हामीले पृथ्वीनारायण शाहलाई चिन्यौँ। किनकि, हामीलाई बच्चा बेलाबाटै चिनाइयो। उनको नाम इतिहासमा स्वर्णिम अक्षरमा भेटिन्छन् किनकि त्यसरी नै लेखियो। पछिल्लो पुस्ताले त्यही बुझ्यो जे उसलाई बुझाइयो। त्यति देख्यो जति उसलाई देखाइयो।
आखिर इतिहास भनेको वर्तमान पुस्ताले कुनै घट्ना क्रमका बारेमा, त्यस घट्नाका पात्रहरुबारे जे लेख्छौँ, जे प्रचार गर्छौँ त्यहीँ आउँदो पुस्ताको लागि इतिहास बन्दो रहेछ। हामीले कसैलाई नायकको रुपमा लेख्छौँ कि खलनायकको रुपमा प्रस्तुत गर्छौँ या उसको कति कमजोरी ढाकछोप गर्छौँ कि योगदान लुकाउछौँ। त्यही आधारमा भविष्यले इतिहास पढ्छ। अनि त्यसमाथि कि गर्व गर्छ कि धिक्कार्छ। बस यत्ति हो इतिहास पहिलेको समयमा।
अहिले पो प्रविधि छ, सबै घट्ना विवरण क्रमश: भेटिन्छन् अनि के कति राम्रा के कति महान भन्ने नयाँ पुस्ता आफैँ केलाउन सक्छ। तर, त्यो समय जे जति लेखियो, जे जति भनियो त्यति मात्र दर्ज हुन्थ्यो, ऐतिहासिक दस्तावेजमा।
हो, यसरी लेखिने इतिहासमा नारीको इतिहासले कहिल्यै प्राथमिकता पाएन। किनकि त्यस्ता इतिहासले कुनै शासन, शासक वा कुनै सरकारबाट प्रचारप्रसार पाएन। यसको ज्वलन्त उदाहरण हो योगमायाको योगदान। ३०० वर्षअघि जन्मिएका राजा पृथ्वीनारायण शाहलाई स्मरण गर्न सक्ने हामी, ३०० वर्ष पहिलेको उनको योगदानको बारेमा ज्ञात छौँ, पृथ्वीनारायण शाहको नाम बच्चा-बच्चाको मुखारविन्दुमा कण्ठस्थ छ। तर, त्यहीँ करिब ८४ वर्ष पहिलेको योगमायाको इतिहासबारे आम जनमानस अनविज्ञ छ।
इतिहासले कहिल्यै अरू घटनासरह महत्व नदिएको एक भयनाक सत्य र एक महिला अगुवाको अभियानलाई आखिर कसरी दबाउन सक्छ समाज? योगमायाको अभियान राणा शासनविरूद्ध भन्दा पनि समाजमा धर्म- संस्कारका नाममा हुने कुसंस्कार र कुरीतिविरूद्ध थियो।
उनले आफ्नो स्तरबाट सक्दो गरिन् अनि झक्झकाइरहिन, शासकलाई बारबार।
हामीले देशको लागि लडेर, स्वतन्त्रताको निम्ति बोलेर अरुद्वारा मारिएका कैयौँ सहिदलाई अझै स्मरण गर्छौँ, उच्च सम्मानका साथ। तर, आजभन्दा ९ दशक पहिले समाजका कुसंस्कारको सांकेतिक विरोध स्वरुप पूरा होसोहवासमा अरुण नदीमा आत्मत्याग गर्ने योगमायासहित ६८ जनालाई किन सकेन, सम्झिन हाम्रो देशले? योगमायासहित ६८ जनाले आजभन्दा ८२ वर्षअघि जे माग राखी जलसमाधी लिए त्यो न्याय र धर्मराज्यको (जहाँ ठुलो मानिसको कर्म हुन्छ जात वा लिङ्ग होइन्) लागि थियो।
हाम्रा पाठ्यक्रममा पनि उच्च प्राथमिकताका साथ राखिएको छैन, उनको योगदानको कथा, न त उनको सशक्त कामको प्रचारप्रसार नै भएको छ। यदि एउटा शासकले अग्रसरता देखाउँदा राज्यले ‘राज्य निर्माता’लाई चिन्यो भने एउटा सरकारले चाहँदा राणा शासनका बखत योगमाया जस्तो समाजको कुरीति हटाउन सक्रिय साहसिक नारीबारे चर्चा पक्कै हुन सक्थ्यो। नेपालभित्र भन्दा पनि बढी विश्वमा सायद।
एउटा राजा केवल उसको देशमा पूजिन्छ तर समाजको कुरीति, सति प्रथा, बालविवाहविरुद्ध अग्र पंक्तिमा काम गरेकी योगमाया न्यौपाने विश्वले चिन्नु पर्ने नारी थिइन्। उनको जीवनी विश्वमा भएका नारीवादी आन्दोलनहरुमध्ये एक आन्दोलन हो। विश्वका ख्यातिप्राप्त विश्वविद्यालयहरुमा नारीवादी विचारधाराको इतिहास पढाउँदा छुटाउनै नहुने नाम हुनु पर्थ्यो ‘योगमाया’ तर विडम्बना स्वयम् उनले जसका लागि लडिन् जुन माटोमा बिलिन भइन् उही माटोले उनलाई चिन्न सकेन।
जतिबेला न संयुक्त राष्ट्रसंघ थियो, न मानव अधिकारबारे धेरैलाई चासो। विश्वका अधिकांश मुलुक उपनिवेशबाट घेरिएका थिए र विश्वको ध्यान उपनिवेश, शासन र सत्तामा थियो। यस्तो बेला नेपालमा भने सामाजिक विसङ्गतिको विरुद्धमा महिला अधिकारका लागि एउटी महिला अहोरात्र खटिरहेकी थिइन्। यस्तो गज्जबको नारीवादी इतिहास छ, हामीसित।
तर, खै किन हो विश्वका अधिकांश मानिस अनि नेता नारीवादी विचारधाराबाट भाग्न खोज्छन्। उनीहरूमा यो भ्रम छ कि नारीवादी हुनु भनेको महिलालाई सर्वेसर्वा मान्नु हो। उनीहरूमा भ्रम छ कि नारीवादी हुनु नारीको फरिया समाएर हिँड्नु हो। नारीवादी विचारधारा भनेको त महिला पुरुषलाई समान दृष्टिले हेर्नु हो। नारीवाद भनेको त लिङ्गको आधारमा कुनै विभेद नहुनु हो। र, नारीवाद भनेको नारी र पुरुषलाई एक साथ डोर्याउनु हो।
नारीवादी आन्दोलन नारीले मात्र नेतृत्व गर्ने आन्दोलन होइन्। नारीवादी एक पुरुषको पनि सरोकारको विषय हो। अझ पुरुष नारीवादीहरु नभइदिएको भए आजको युग सम्भव थिएन। त्यसैगरी सबै नारी नारीवादी हुन्छन् भन्ने पनि हुँदैन। समाजमा यस्ता महिलाहरु पनि छन् जो चाहन्न महिला घरबाहिर काम गरोस्। जो चाहन्न महिलाले गलतको प्रतिकार गरोस्।
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा आफूलाई (फेमिनिस्ट) भन्न रुचाउँछन्। उनकाअनुसार अझ पुरुषहरु नारीवादी हुन जरूरी हुन्छ अनि मात्र समानता सम्भव हुन्छ। त्यसैगरी क्यानडाका प्रधानमन्त्री ‘जस्टीन ट्रुडीउ’को काममा नारीवादी विचारधारालाई आत्मसात गरेको पाइन्छ।
महिलाका झुटा मुद्दा सिर्जना गरेर चर्चामा आउने ‘सिउडो फ्यमिनिस्ट’ले गर्दा पनि वास्तविक अभियन्ताप्रति मानिसको विश्वास घट्दो छ। पुरुषको विरोध गर्नेहरू, सारा समस्याको जड पुरुषलाई मान्नेहरु र नचाहिँदो भ्रामक मुद्दा सिर्जना गरेर पुरुषलाई झुटो आरोप लाएर रोजी-रोटी चलाउनेहरू वास्तविक नारीवादी हुँदै होइनन्।
जसरी नारीबिना सृष्टि सम्भव छैन त्यसरी पुरुषबिना पनि सृष्टिको कल्पना हुन सक्दैन। पितृसत्तात्मक सोच पुरुषमा मात्र होइन महिलामा पनि हुन सक्छ। अनि नारीवादी पुरुष पनि हुन सक्छ।
तसर्थ, अबको यात्रा समताको हुनुपर्छ तर एउटालाई प्रोत्साहन गर्दा अर्को हेपाइमा नपरोस्। अब उपरान्त नारी नारामा मात्र सीमित हुन नपरोस्। नारीको एजेण्डा राजनीतिक दलको घोषणापत्रमा मात्र कैद गर्ने होइन। घोषणापत्रबाट बाहिर निकालेर खुला हावामा फैलिन दिनुपर्छ। आँखा चिम्म गरेर महिलाको पर्यायवाची पीडित अनि पुरुषको पर्यायवाची पीडक भन्ने व्याकरण पनि लेखिनु हुँदैन। नारी दिवसको बाहानामा पुरुषप्रति नकारात्मक दृष्टिकोणको विकास गर्ने गोष्ठी हुनु हुँदैन। राजधानीमा जोडतोडका साथ नारी दिवस मनाइरहँदा कर्णालीबाट कोही नारीले काखमा बच्चो च्यापेर फाल हानेको समाचारले सन्नाटा छाउने स्थिति नआओस्। नारी दिवस कुनै ‘व्याचलरेट’ पार्टी होइन ‘सेलिब्रेट’ गर्न र रमाउन यो हरेक वर्ष सरकारको लागि सांकेतिक चेतावनी हुनुपर्दछ, समानतालाई गम्भीरता पूर्वक लिन।