प्रधानमन्त्रीले एकपक्षीय ढङ्गले गठबन्धन ताेडेकाे काँग्रेसकाे ठहर

सरकारलाई दिएकाे समर्थन फिर्ता लिने

नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकपक्षीय ढङ्गले गठबन्धन तोडेको प्रतिक्रिया दिएको छ।

काँग्रेस संसदीय दलको आजको बैठकले गरेका निर्णयबारे जानकारी गराउँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले कांग्रेस गठबन्धनप्रति सदैव इमान्दार र प्रतिबद्ध रहेको र सहमतिअनुसार पालना गर्दै आएको भए पनि प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले एकपक्षीय ढङ्गले गठबन्धन तोड्नुभएको बताए।

विगतमा संविधानको रक्षा र लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि काँग्रेसले विभिन्न दल सम्मिलित गठबन्धन बनाएको र सोहीअनुसार निर्वाचनमा भाग लिएको प्रमुख सचेतक लेखकको भनाइ थियो।

पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले पछिल्लो समयमा परिवर्तित राजनीतिक घटनाक्रमबारे छलफल गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहाललाई सरकार गठनमा दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको छ। साथै सरकारबाट काँग्रेसले समर्थन फिर्ता लिएको र सभामुखलाई आजै जानकारी गराउने पनि प्रमुख सचेतक लेखकले जानकारी दिए।

बैठकले सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दलका हैसियतमा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको र आफ्ना सांसदलाई सदनमा जनजीविकाका सवालमा प्रभावकारीरुपमा प्रस्तुत हुन निर्देशन गरेको छ।

नेपाली काँग्रेस प्रतिनिधिसभाको ठुलो दल हो।

प्रकाशित मिति: : 2024-03-07 12:20:00

प्रतिकृया दिनुहोस्