ललितपुरमा मदिराले लठ्ठिएका व्यक्ति रुखमा चढेर ‘मर्छु, मर्छु’ भनेर हैरान पारेपछि...(भिडियोसहित)

आइतबार बिहान ठिक ११ : ५ बजे ललितपुर महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष अमृतजंग महतलाई एक स्थानीयले खबर गरे, ‘को मानिस रुखमा चढेर मर्न लाग्यो रे।’

वडाध्यक्ष महत हताहतार दौडिए...।

सोही वडाको टाल्चीखेलस्थित बिच सडकको पिपलको रुखको माथिल्लो हाँगामा पुगेका थिए, एक पुरुष।

मदिरा सेवन गरेर लठ्ठिएका उनको एउटा हातमा चुरोट थियो। अर्काे हातले हाँगा समाएका थिए।

लगाएको स्विटर खोलेर उनले भन्दै थिए,– मर्छु मर्छु.....।

उनले घरिघरि राजसंस्थाको पक्षमा नारासमेत लगाइरहेका थिए।

वडाध्यक्ष महत त्यहाँ पुग्दा मानिसको ठुलै भीड लागिसकेको थियो। महतले घटनास्थल पुग्नुअगाडि नै यो खबर सातदोबाटोस्थित प्रहरी कार्यालयलाई खबर गरिसकेको थिए।

भने, स्थानीयले ललितपुर महानगरको उद्धार टोलीलाई पनि जानकारी गराइसकेको थियो।

दुवैतिरबाट सुरक्षाकर्मीहरु घटनास्थल पुग्दै थिए।

यता, वडाध्यक्ष महतको टोलीले ती रुखमा चढेका पुरुषलाई फकाइरहेका थिए।

अन्तत: करिब १० मिनेटपछि टोली उनलाई फकाएर भुइँमा ओराल्न सफल भयो।

त्यतिबेलासम्म ललितपुर नगर प्रहरीको टोली उद्धारका लागि गाडी र स्रोत साधानसहित पुगेको थियो। ‘मुख्य कुरा त नगर प्रहरीको टोली क्विक घटनास्थल पुग्यो। यसबाट हामीलाई थाहा भयो कि उद्धारमा नगर प्रहरी सक्षम छ,’ वडाध्यक्ष महतले भने।

रुखमा चढेर हैरान पार्ने ती व्यक्तिको पहिचान भने नखुलेको वडाध्यक्ष महतले बताए। ‘उहाँको नाम त ट्याक्कै थाहा भएन, उहाँ गोदावरीको हुनुहुँदो रहेछ...। थर चाहिँ थापा हो रे, नाम ख्याल भएन’, उनले भने।

उनकी श्रीमतीलाई बोलाएर ट्याक्सीमा चढाइ पठाएको वडाध्यक्ष महतले बताए।

वडाध्यक्ष महतकाअनुसार ती व्यक्तिको मानसिक स्वास्थ्य ठिक थिएन्, औषधिसमेत सेवन गर्थे।

भिडियो :

प्रकाशित मिति: : 2024-03-03 18:17:00

प्रतिकृया दिनुहोस्