बुद्ध शिक्षाको प्रचारका लागि देशव्यापी अभियान चलाउनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

फाइल तस्विर
फाइल तस्विर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १५औँ सभा बैठकमा आज कुलपति एवम् प्रधानमन्त्री ‘प्रचण्ड’ले शान्तिको सन्देश प्रवाहमा विभन्न समुदाय र विश्वविद्यालयको अहम भूमिका हुनुपर्ने बताएका हुन्।

प्रधानमन्त्रीले भने, ‘देशभरका जनमानसमा बुद्ध, बौद्ध दर्शन, बौद्ध संस्कृति तथा परम्परा विषयमा ज्ञान सम्प्रेषण गर्न विश्वविद्यालयले सबै क्षेत्रका व्यक्तिलाई बुद्धको आधारभूत शिक्षाका लागि देशव्यापी जनजागरण अभियान सञ्चालन गर्नुपर्दछ।’

इतिहासको लामो कालखण्डदेखि अटुट रूपमा प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्ययताको लागि अनुपम स्रोतको रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक, धार्मिक, पर्यटन विकासको लागि ठूलो अवसरको रूपमा लिनुपर्नेमा जोड दिए।

विश्वविद्यालयले बौद्ध परम्परा र संस्कृति अध्ययनअध्यापन संरक्षण तथा सम्बर्द्धनका नयाँ कार्यक्रम अगाडि बढाउन उनले सुझाव दिएका छन्।

‘नेपाल बुद्धभूमि, हजारौँ ऋषिमुनीहरूको योगदानले निर्माण गरेको तपोभूमि पनि हो,’ प्रधानमन्त्रीले भने, ‘त्यसैले नेपाल विश्वकै आस्था र श्रद्धाको केन्द्र हो, यसको प्रवर्द्धन गर्ने दायित्व हाम्रो हो।’

बौद्ध संस्कृति, कला, विहार तथा  गुम्बा संसारकै लागि आकर्षणका सम्पदाहरू भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस्ता संरचनालाई आर्थिक समृद्धिसँग जोड्दै अगाडि बढेको खण्डमा समृद्ध मुलुक निर्माणको अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले बौद्ध कला, साहित्य, पुरातत्व क्षेत्रको अनुसन्धान सम्बर्द्धन र प्रवर्द्धनबाट देशको गरिमा बढ्नुको साथै धार्मिक तीर्थस्थलको रूपमा योग, ध्यान, प्राकृतिक सौन्दर्य एवम् शान्तिप्रेमी पर्यटकहरूका लागि आकर्षण गर्न सकिने बताएका छन्।

प्रकाशित मिति: : 2024-03-02 15:26:00

प्रतिकृया दिनुहोस्