गठबन्धनलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धनलाई राम्रोसँग लैजान आफूहरु प्रतिबद्ध रहेको बताएका छन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धनलाई राम्रोसँग लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन्।

उनले भने, ‘गठबन्धन राम्रैसँग गइराखेको थियो, राम्रैसँग लाने कुरामा हामी प्रतिबद्ध थियौँ र छाैँ पनि।’ नेपाली कांग्रेसको हालै सम्पन्न महासमितिको बैठकले पनि केही चिज नयाँ हामीलाई आवश्यक नभएका कुराहरु उठेको भन्दै उनले यस विषयमा छलफल हुने बताए।

बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ता पार्टी भएकाले उठाउनु नपर्ने विषय उठेको गुनासो आएको भन्दै प्रधानमन्त्री दाहालले यस विषयमा छलफलबाट मात्रै टुङ्गो लाग्ने बताए।

आफूले राष्ट्रियसभामा कृष्णप्रसाद सिटौलाजस्ता व्यक्ति आउनुपर्छ त्यसमा केही फरक हुन्छ भनेको भए पनि अहिले वातावरण परिवर्तन भएको प्रधानमन्त्रीले बताए। उनले भने, ‘यो विषयमा ठोस निर्णय भएको छैन। छलफल चलेको छ।’

पार्टीको बैठकले राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुँदैन भनेको उनले बताए। उनले भने, ‘औपचारिकरुपमा लिखित निर्णय भएको छैन।’ कोशीमा माओवादी केन्द्रको उम्मेदवार पराजित हुने स्थिति कांग्रेसका कारण भएको भन्दै उनले पार्टीका नेता तथा कार्यकर्ताहरु आक्रोशित भएको बताए।

फरक प्रसङ्गमा प्रधानमन्त्रीले चितवनबासीका लागि गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला र भरतपुर विमानस्थल निर्माणको कुरा सुखद रहेको बताए। तीन वर्षदेखि बन्न नसकेको रङ्गशाला निर्माणका लागि सङ्घीय सरकारले नीतिगत निर्णय गरेर बाटो खुलाएको बताए।

आफूहरुले पहिलादेखि नै सोचेको सपना पूरा हुन लागेको उनले बताए।

प्रकाशित मिति: : 2024-02-29 21:02:00

प्रतिकृया दिनुहोस्