चिटचिट पसिना बगिरहेको निधार, निधारमाथि गोलो ह्याट, शरीरमा चट्ट परेको भाङ्ग्रा, गलामा क्यामेराको माला, हातमा किरा समात्ने जाली अनि ओठमा मिठो मुस्कान! फुर्सदको बेलामा यो आवरणमा उत्रिन मन पराउने मदन सुवेदी रुचि र अध्ययनले किट खोजकर्ता हुन्। भने, पेशाले कृषि अधिकृत हुन्।
सुवेदीको जन्म वि.स. २०५१ सालमा पर्वत जिल्लाको मोदी गाउँपालिकाको बाजुङ भन्ने सुन्दर गाउँमा भएको थियो। कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट कृषि विषयमा स्नातक र किट विज्ञान विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका सुवेदीले आफूले नै अध्ययन गरेको विश्वविद्यालयमा विश्वविद्यालय सेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाट नाम निकाल्न सफल भई विगत चार वर्षदेखि कृषि अधिकृतको रुपमा काम गरिरहेका छन्।
फट्याङ्ग्राको यात्रा
स्नातक तहबाटै किराप्रति आकर्षित सुवेदी अहिले आएर फट्याङ्ग्रामा अडिएका छन्। ‘सुरुमा पुतलीको खोज गरेँ, त्यसपछि क्रमशः झिंगा, बारुला र गाइनेकिरातिर मन गयो,’ आफ्नो यात्रा सुनाउँदै सुवेदीले भने, ‘स्नातकोत्तर तहको शोध गर्ने बेलामा समुद्री सतहबाट विभिन्न उचाइमा रहेका धानखेतमा के कस्ता फट्याङ्ग्रा होलान्? भन्ने प्रश्न दिमागमा आयो। अनि त त्यसपछि यही समूहमा डुबेको... उत्रिनै सकिएन।’
आफ्नो शोधकार्यमा उनले चितवन र पर्वतका विभिन्न उचाइमा रहेका धानखेतमा पाइने फट्याङ्ग्राका प्रजातिको व्याख्या गरेका छन्। उनको रुचि र यात्रा शोधकार्यमा मात्र सीमित रहेन। उनी जहाँ-जहाँ गए, त्यहाँका फट्याङ्ग्रा संकलन गरेर अध्ययन गर्न थाले। जुन कार्य उनले निरन्तर रुपमा गरिरहेका छन्। फट्याङ्ग्रा पनि उनको विशेष रुचि भुइँफड्के (अंग्रेजीमा ग्राउण्ड होप्पर)मा रहेको छ।
नयाँ प्रजातिको खोजकार्य
सुवेदीको पहिलो खोज नै नयाँ वंशको रुपमा भयो। सामान्य रुपमा भन्नु पर्दा उस्तै-उस्तै प्रजातिहरुको समूहले एउटा वंश बन्छ। गोरखा जिल्लाको घ्याल्चोकबाट पत्ता लागेको नयाँ वंशको नाम उनले आफ्नो मित्र तथा गुरु योसिफ स्केयोको सम्मानमा स्केयोटेट्टीक्स भनेर राखे भने प्रजातिको नाम यो भुइँफड्के फट्याङ्ग्रा भेटिएको जंगलको छेउमा रहेको श्री नेत्रज्योति आधारभूत विद्यालयको नामबाट स्केयोटेट्टीक्स नेत्रज्योति भनेर राखे।
दोस्रो प्रजाति भने उनले आफ्नो गाउँबाट पत्ता लगाई बाजुङको भिरफड्के भनेर राखे जसको वैज्ञानिक नाम स्केयोटेट्टीक्स कासलो रहेको छ। प्रजातिको नाम उनले आफ्ना सह-खोजकर्ता निको कासलोको नाममा राखेका हुन्।
उनै कासलोसँगको सहकार्यमा सुवेदीले दोस्रो वंश तथा तेस्रो प्रजातिको रुपमा अर्यालीडोन्टा इतिश्रीआको व्याख्या गरे। जुन हाँस्यसम्राट भैरव अर्यालको सम्मानमा नामकरण गरिएको हो। नयाँ वंशको नामकरण भैरव अर्यालको थरबाट अर्यालीडोन्टा र प्रजातिको नाम अर्यालकै ‘इतिश्री’ कृतिबाट इतिश्रीआ राखिएको हो।
मदनले चौथो प्रजातिको नाम भने उनकी श्रीमती समिताको नामबाट राखेका छन्। अछामको रामारोशनबाट पत्ता लागेको यस प्रजातिको नाम हेडोटेट्टीक्स समिते रहेको छ।
थप पाँच नयाँ प्रजातिहरु
गएको मनसुनमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जमा भुइँफड्केको खोज गरेका सुवेदीले सह-खोजकर्ता निको कासलो र योसिफ स्केयोको सहकार्यमा पाँच नयाँ प्रजाति व्याख्या गरेका छन्। पत्ता लगाइएका पाँच प्रजातिहरु प्रतिष्ठित नेपाली व्यक्तित्वहरुको सम्मानमा नामकरण गरिएको छ। वरिष्ठ साहित्यकार रोचक घिमिरेको नाममा सुन्दरीजलबाट पत्ता लगाइएको प्रजातिको नाम अर्यालिडोन्टा रोचकी राखिएको छ। भने, दृष्टिको देवताको रुपमा ख्यातिप्राप्त डा. सन्दुक रूइतको सम्मानमा सोही क्षेत्रबाट पत्ता लगाइएको प्रजातिको नाम हेवार्डीटेट्टीक्स सन्दुकी राखिएको छ।
त्यस्तै सोही क्षेत्रबाट स्केयोटेट्टीक्स वंशका दुई प्रजातिहरु पनि पत्ता लागेका छन्, जसमध्ये स्केयोटेट्टीक्स महजोडी नामक प्रजाति चर्चित नेपाली हाँस्य-व्यङ्ग्य जोडी, महजोडीको नाममा नामकरण गरिएको छ। भने स्केयोटेट्टीक्स महेन्द्राइ नेपालका नवौं शाहवंशीय राजा महेन्द्र वीर विक्रम शाहदेवको सम्मानमा नामकरण गरिएको छ। सोही क्षेत्रको अर्को नयाँ प्रजाति वरिष्ठ लोकगायक तथा सारंगीवादक झलकमान गन्धर्वको सम्मानमा लेमेलीटेट्टीगोडेस झलकमानी भनि नामकरण गरिएको छ।
यसैगरी सुवेदीले नेपालका विभिन्न ठाउँहरुबाट विभिन्न समयमा नेपालको लागि फट्याङ्ग्राका छ प्रजातिको पहिलो अभिलेखिकरण पनि गरेका छन्।
किट संकलनको स्थापना
नयाँ प्रजातिहरुको खोज गरेपछि केही नमुनाहरु संग्रहलयमा जम्मा गर्नुपर्ने हुन्छ, जसमा होलोटाइपको रुपमा लेबल गरिएको नमुना सबैभन्दा महत्वपूर्ण हुन्छ। यो नमुनाको आधारमा नै प्रजातिको व्याख्या गरिएको हुन्छ। सुवेदीले आफ्ना पहिला दुई प्रजातिहरु पोखरास्थित अन्नपूर्ण प्राकृतिक इतिहास सङ्ग्रहालयमा राखेका छन्।
तेस्रो र त्यसपछि प्रजातिका होलोटाइप राख्नका लागि भने उनले आफ्नै कार्यालयमा ‘कृषि विज्ञान केन्द्र, घ्याल्चोकको किट संकलन’ भनेर संग्रहलय स्थापना गरेका छन्। उनले यस संकलनमा खेतबारीमा लाग्नेदेखि लिएर जंगलमा पाइनेसम्मका किराहरु राख्ने सोच बनाएका छन्। किराहरुका नमुना र तिनका नाम मिलाएर राख्नसके किसानदेखि यस क्षेत्रका विद्यार्थीहरु/पछिल्लो पुस्ता सबैलाई फाइदा हुने उनी बताउँछन्।
यसरी कृषिदेखि विज्ञानसम्म नाता गाँसिएका सुवेदी आफूलाई कुन रुपमा चिनाउनुहुन्छ भनेर सोध्दा मुसुक्क हाँस्दै भन्छन्, ‘म त भुइँफड्के खोज्ने मान्छे..! मलाई त भुइँमान्छे नै भनेर चिनिदिए पुग्छ।’