राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद सन्तोष परियारको परिचय समाज अध्ययनको सवालमा फराकिलो छ। हरेक विषयको गम्भीर्यतालाई बुझ्न सक्ने भएका हुनाले बौद्धिक जगतले उनलाई हेर्ने दृष्टिकोण फरक छ।
सरल प्रस्तुति, प्रष्ट विचार, फराकिलो दृष्टिकोण राख्ने हुनाले उनलाई कर्णाली उत्सव कुडा कर्णालीकाको पाँचौँ संस्करणको 'अन्तरजातीय विवाह: रहर र कहर' विषयको वक्ताको रुपमा बोलाइएको थियो।
उनको प्रस्तुतिले धेरैको ध्यान खिच्यो। चार जना वक्ता रहेको उक्त सत्रमा बोल्दै गर्दा हुने कर्णाली उत्सवको उक्त सत्रको नामाकरणले आफ्नो ध्यान खिचेको बताए।
उनले भने, 'यसको गहिराइसम्म पुग्नुपर्छ भन्ने लाग्यो। विवाह कहर वा रहरमध्ये के हो त? तर भेरीको पानीसँगै बगेका नवराज विकहरुको रगतका कारण विवाहको परिभाषा के हुने भनेर घोत्लिनुपर्ने विषय बनेको छ।'
उनले विवाहलाई पश्चिमाहरुले अंग्रेजीमा म्यारिज भनेपनि म्यारिज यताको विवाह हो कि होइन? भन्ने प्रश्नमा गम्भीर भएर सोच्नुपर्ने बताउँदै अन्तर्वस्तुमा म्यारिज विवाह नभएको बताए।
'पश्चिमाहरुले अभ्यास गरेको विवाहलाई सैद्धान्तिक रुपमा पुँजीवाद र पितृसत्ताको उत्पादन भन्न सक्छौँ,' उनले भने, 'तर हाम्रोतिरको विवाह पुँजीवाद र अझ त्योभन्दा पनि बढी जातिवाद भन्न सक्छौँ। अर्थात् जातले उत्पादन गरेको विवाह भन्न सक्छौँ।'
उनका अनुसार विज्ञानसम्वत रुपमा मान्छेभन्दा पर मान्छेको अर्को कुनै जात छैन। ७० हजार वर्ष पहिले अफ्रिकाबाट हिँडेको मान्छे कहाँकहाँ पुग्दै यहाँसम्म पुगेको छ। त्यतिबेला जात थिएन। त्यतिबेला मान्छेलाई केही पनि चाहिएको थिएन।
'आज आएर मान्छेको जात छ। हामी यसलाई तोड्नुपर्छ भन्छौँ। तर दुर्भाग्य बिहे गरेर जातलाई सधैँ निरन्तरता दिइरहेछौँ,' उनले भने, 'किनभने हामी विवाह जात र गोत्र हेरेर गर्छौँ। यो विरोधाभासलाई प्राज्ञिक रुपमा र सामाजिक रुपमा बहस गरेर चिर्नुपर्छ।'
भारतीय दलित आन्दोलनका अगुवा तथा भारतको संविधान निर्माता अम्बेडकरको परिभाषाअनुसार दलित शब्दको अर्थ हेपिएको, दबिएको मात्रै होइन, संघर्षको प्रतिबिम्ब हो।
सांसद परियारले पहाडी दलित खस सभ्यतासँग सम्बन्धित भएको बताए। दलित आज पनि समस्याको विषय बनिरहेको छ। यसको समाधान भनेको सामाजिक अन्तरघुलन हो। तर विवाहले सामाजिक अन्तरघुलन हुनै नदिने उनको तर्क छ।
'प्रेम गरेर समाजलाई समृद्ध र फराकिलो बनाउन खोज्यो भने नवराज विक हुनुपर्छ,' उनले भने, 'अन्तरजातीय विवाह गरेर समाज रुपान्तरण गर्न चाहनेका लागि विवाह रहर हो।'
उनले विवाह करह नभएको तर्क दिए। अन्तरजातीय विवाह गर्ने रहर हुनुले भने समाज रुपान्तरणको जग बसाल्छ।
'वर्तमान राजनीतिक व्यवस्थालाई जात व्यवस्थाले टिकाएको छ। त्यसैले हामी सामाजिक जडताको बीचमा बाँचिरहेका छौँ,' उनले भने, 'हाम्रा परिवर्तनकारी राजनीतिक आन्दोलनले जात व्यवस्थाका अगाडि घुँडा टेकिरहेका छन्।'
२१औँ शताब्दीमा समेत जात व्यवस्था रहिरहँदा समाज रुपान्तरण हुँदैन। त्यसैले जात व्यवस्था भत्किनुपर्ने उनको तर्क छ।
पितृसत्ता, धर्म र जात व्यवस्थाका अगाडि दशवर्षे जनयुद्ध जस्तो राजनीतिक संघर्षले समेत घुँडा टेकेको र हालसम्मका सबै आन्दोलन पनि जात व्यवस्थासँग जुध्न नसकेको सांसद परियारले बताए।
'तर अब पनि घुँडा टेक्ने विषयमा सोच्नु हुन्न। मैले गर्न सक्ने कति छ, त्यो गर्छु,' उनले भने, 'तर अहिलेका राज्य संयन्त्रबाट अपेक्षाकृत परिवर्तन सम्भव छैन।'
देशमा परिवर्तन ल्याउन कर्णाली, मधेस र देशभर छरिएर रहेका दलितले राजनीति गर्नुपर्ने र समाज रुपान्तरणको ज्ञान उत्पादन गर्न लाग्नुपर्ने उनको भनाइ छ।
उनका अनुसार समाज रुपान्तरणका दुईवटा बाटाहरु छन्। एउटा शान्त तरिकाले बहस गरेर र अर्को विद्रोह गरेर।
'प्रेम गरेको खण्डमा रुपान्तरण हुन्छ। तर दिइँदैन। त्यसकारण जबर्जस्ती रुपमा विद्रोहको बाटो अपनाउनुपर्छ,' उनले भने, 'म अहिंसा र ज्ञानको बाटोबाट समाज रुपान्तरण गर्न चाहन्छु। तर त्यसरी समाज रुपान्तरण गर्न नदिइने हुनाले अर्को माध्यम अपनाउन पनि तयार नै छु।'
शान्त तरिकाबाट समाज रुपान्तरण नगरी पश्चगमनको बाटोतिर मोडिए समाज व्यवस्था भत्किने र त्यसले अध्ययन नै नगरी गुरु हुनेहरु र जन्मदै सेना-प्रहरी भएर सत्ताबाट लाभ लिएकाहरुलाई हानी हुने उनको बुझाइ छ।