चितवन राष्ट्रिय निकुञ्जलाई छिचोलेर एकनासले बगिरहेको राप्ती नदी। जसको किनारमा उभिएको छ, पार्क सफारी।
सौराहास्थित गैँडाचोकबाट केही मिनेटको यात्रापछि पुग्न सकिने पार्क सफारीले सौराहा घुम्न आउने पाहुनाको सेवा दिइरहेको छ। सौराहाका प्रमुख होटलहरुको सूचीमा अग्रस्थानमा रहेको त्यही पार्क सफारी हाँकिरहेका छन्, महेश खनालले।
महेशले व्यवसायिक यात्रासँगै आफ्नो जीवन र सौराहाको पर्यटनलाई पनि फरक उचाइमा पुर्याएका छन्, जो एक पूर्वपत्रकार हुन्।
गुल्मीको विकट गाउँ ईस्मामा जन्मिएका महेश कलेज पढ्नका लागि बुटवल झरेका थिए। जहाँ उनले पढाइ गरे। सँगै पसलमा काम पनि गरे।
बुटवलको पढाइ सकियो।
पढाइलाई थप उचाइ दिनु थियो। त्यसपछि उनी पश्चिमी सहर नेपालगञ्ज पुगे। कलेज नेपालगञ्ज थियो। तर उनी बस्ने ठाउँ भने कोहपुर थियो।
त्यही कोहलपुरले उनलाई पत्रकारितामा जोड्यो। महेशले पत्रकारिताको सुरुवात गर्दा माओवादी जनयुद्ध चरमोत्कर्षमा पुगेको थियो। त्यतिबेला पत्रकारिता आफैँमा चुनौतीको विषय पनि थियो। यद्यपि, उनले जनयुद्धका ती संकटपूर्ण क्षणहरुमा गाउँ–गाउँमा पुगेर रिपोर्टिङ गरे।
त्यतिबेला उनी नेपाल टेलिभिजनमा काम गर्थे। त्यो कार्य १० वर्षसम्म जारी रह्यो। त्यसपछि उनी कान्तिपुरमा गए। कान्तिपुर स्थापनाकालका एक साक्षी पनि हुन्, उनी। कान्तिपुरको जागिर पछाडि भने उनी व्यवसायतर्फ अगाडि बढे।
व्यवसायप्रति सानैदेखि रुचि रहेको उनी बताउँछन्। त्यही रुचिले उनलाई ठमेलस्थित ‘हिकला कलर ल्याब’को मालिक बनायो। महेशले ठमेलमा सुरु गरेको व्यवसाय राम्रै चल्यो। त्यही व्यवसायबाट कमाएको कमाइले उनले काठमाडौँमै एउटा घर र ११ आना जग्गा जोड्न सफल भए।
तर, द्रुत गतिमा बढ्दो प्रविधिको विकासले कलर ल्याबको काममा प्रभाव पर्न सक्ने सम्भावनाबारे सोचेर उनी होटल व्यवसाय गर्न सौराहा झर्ने निर्णयमा पुगे। उनी साथी सुमनसँग मिलेर ‘पार्टनरसीप’मा सौराहामा होटल व्यवसाय गर्न तम्सिए। त्यो आफैँमा अर्को ठुलो चुनौती थियो।
‘ठमेलको कलर ल्याबले मलाई चितवनसम्म ल्याई पुर्यायो। यो चितवनको प्रपोर्टी बैना गरेर बल्ल हेर्न आएको थिएँ। मैले त्यति रिक्स लिएको थिएँ’, महेशले भने।
व्यवसाय सुरु गर्दा उनीसँग मात्र १० लाख नगद थियो। तर, उनको होटल व्यवसायमा लाग्ने ‘ड्रिम’ पैसाकै कारण रोकिएन। ‘मैले व्यवसाय सुरु गर्दा १० लाखमात्र थियो। आँट गरेर नै, देखा जाएगा भनेर व्यवसाय सुरु गरेको हो।’
त्यसपछि उनीहरुले ‘जंगल लज’को नामबाट सौराहामा व्यापार सुरु गरेका थिए। जतिबेला माओवादी जनयुद्ध अन्तिम चरणतिर पुगेको थियो।
महेश र सुमनको पार्टनरसीप करिब १० वर्ष टिक्यो। त्यसपछिका दिनमा महेशले एक्लै हाँक्न सुरु गरे, पार्क सफारी।
उक्लै पार्क सफारी हाँक्न सहज थिएन। कठिनाइहरु पाइला–पाइलामा नआएका पनि होइनन्। मुग्लिन–नारायणगढ खण्डको सडक निर्माणले करिब तीन वर्ष सौराहाको पर्यटन प्रभावित भयो।
काठमाडौँबाट हिँडेका पर्यटक मुग्लिनबाट पोखरातिर मोडिए। त्यही बिचमा भारतले नेपालमा नाकाबन्दी गर्यो। त्यसले पनि समग्र नेपालको पर्यटन व्यवसायमा समस्या खडा गर्यो।
त्यसपछि तङ्ग्रिन लागेको पर्यटन व्यवसाय फेरि कोरोना महामारीले तहसनहस पर्यो। त्यसको प्रत्यक्ष मारमा पार्क सफारी पनि पर्यो। यद्यपि, कोरोना महमारीको समयमा पनि उनले कर्मचारीलाई बिदा गरेनन्। बरु त्यतिबेलाको तलब उनले कोरोना महामारीपछि बिस्तारै–बिस्तारै गरेर भुक्तानी गरे।
अहिले भने व्यवासयमा ‘ग्रिन सिग्नल’ देखिएको उनी बताउँछन्। ‘अहिले चाहिँ राम्रो छ, व्यसायमा ग्रिन सिग्नल देखिएको छ,’ महेशले भने, ‘तर, सबै कुरा ठिक भयो भनेर खुसी भइहाल्ने अवस्था छैन।’
मुख्यगरी राज्यले पर्यटन व्यवासायीहरुप्रति अभिभावको भूमिका निर्वाह नगरेको उनको गुनासो छ।
सौराहाको हकमा निकुञ्जभित्र थप नयाँ ‘रुट’हरु खोल्नुपर्ने, सेवा–सुविधाहरुलाई प्रविधिमैत्री बनाउनुपर्ने, मनोरञ्जनका माध्यमहरु थप्नुपर्ने उनको भनाइ छ। ‘सौराहामा पर्यटकहरुको बसाइँ लम्ब्याउनका लागि एक्टिभिटीहरु थप्न जरुरी छ’, उनले भने।
पत्रकारलाई नि:शुल्क बास
महेश अहिले भने आफूलाई ‘पूर्वपत्रकार हुँ’ भनेर परिचित गराउन चाहदैनन्।
किन?
उनी भन्छन्, ‘सकेसम्म मैले विगतमा पत्रकारिता गर्थेँ भनेर भनेको छैन। किनभने, अहिले म यो व्यवसाय गर्दै गर्दाखेरि पत्रकारहरुलाई हेर्न दृष्टिकोण राम्रो छैन। कतिपय खराब पत्रकारहरुको कारणले गर्दा त्यो हेर्ने दृष्टिकोण राम्रो छैन।’
तर, उनी आफूले विगतमा गरेको पत्रकारिताप्रति गर्व गर्छन्। र, सम्झन्छन् विगत, ‘हामी त्यो महसुस गरेका छौँ। रिपोर्टिङमा गएको बेला सुत्ने ठाउँ नहुँदा, हेलिकप्टरले बम खसल्दाखेरी, जी पाण्डेले स्याउला भाँचेर ओड्नुहुन्थ्यो, बाँच्छु कि भनेर। हामी त्यो अवस्थाबाट गुज्रिएको हो।’
विगतमा पत्रकारिता गर्दा आफूले पाएको त्यही दु:खलाई मनन् गरेर महेशले अहिले आफ्नो होटलमा पत्रकारका लागि नि:शुल्क बस्ने व्यवस्था मिलाएका छन्।
उनले पार्क सफारीमा पत्रकारका लागि भनेर एउटा कोठा छुट्याएका छन्। जहाँ किचन, काम गर्ने ठाउँदेखि पूजा कोठासम्म बनाएका छन्। सौराहामा आउने पत्रकार त्यही कोठमा बसून् भन्ने उनको उद्देश्य छ।
यद्यपि, पत्रकारहरु भने आउने नगरेको उनको भनाइ छ।
‘मैले त्यति बेलाको त्यो अवस्था सम्झिएर, ऊ त्यो बत्ती बलेको (एउटा कोठा) पत्रकारहरुका लागि भनेर बनाइदिएको थिएँ। यसबारे त्यतिबेला केही पत्रकारहरुले लेख्नुभएको थियो। तर, कोही पनि पत्रकार साथीहरु आएर बस्नु भएन यहाँ’, उनले भने।
उनका अनुसार उक्त कोठामा किशोर नेपाल करिब एक हप्ता र पोषण गिरी केही दिन बसेको थिए। तर, त्यसपछि भने कोही आएनन्। उनको चाहना छ, सौराहामा आउने पत्रकार त्यो कोठामा आएर बसून्, पत्रकारितालगायत सामाजिक र राजनीतिक विषयमा छलफल गरुन्।
तर, कोही आएनन्।
अनि भन्छन्,‘हा–हा–हा…अब कोही नआएपछि म सुतिरहेको छु, मलाई लखेट्न कोही आउनु पर्यो।’