नेता चौधरीले भने- अहिले संगठन निर्माणमा केन्द्रित बनौँ, गठबन्धनको कुरा गर्ने समय हाेइन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरीले अहिलेको अवस्थामा संगठन निर्माणमा केन्द्रित बन्नुपर्ने बताएका छन्।

काँग्रेसको महासमिति बैठकअन्तर्गत बिहीबार ललितपुरको गोदावरीमा समूहगत छलफलमा धारणा राख्दै चौधरीले निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्दा पनि संगठन बलियो बनाउने योजना पार्टीमा हुनुपर्ने बताएका हुन्।

उनले २०८४ को चुनावलाई केन्द्रित गरेर गठबन्धनको कुरा अहिले उठाएर हाउगुजी बनाएको समेत बताए। नेता चौधरीले अहिले संगठन निर्माण गरेर ०८४ को चुनावमा गठबन्धनको कुरा गर्न सुझाव दिए।

‘हामीले यो गठबन्धनका कुरा भनिरहेका छौँ। गठबन्धन भनेको चुनावमा गर्ने कुरा हो। चुनाव अगाडि छलफल गर्ने कुरा हो। अहिले भनेको संगठन बनाउने कुरा गर्ने हो’, मुख्यमन्त्री चौधरीले भने, ‘त्यस्तो सक्षम लिडर खोजौँ जसले हामीलाई सहि बाटोमा डोर्यावस्। अहिले नै गठबन्धन हुन्छ कि हुँदैन? ०८४ मा चुनाव छ, संगठनको कुरा छ, अहिले गठबन्धनका कुरा छन्। हामी कुन बाटोमा हिँड्दैछौँ।’

केन्द्रीय कार्यसमितिले देश र परिस्थिति बुझेर गठबन्धन गर्ने भन्दै उनले भने, ‘हामीले पदाधिकारीमा सक्षम भनेर जिताएका छौँ, उनले भने, ‘०८४ मा जे डिसिजन ल्याउनुहुन्छ, केन्द्रीय कार्यसमितिले देश र परिस्थिति बुझेर गठबन्धन गर्ने हो। चुनाव नआउँदै गठबन्धन भनेको छ, हल्ला गरेको छ। हाउगुजी बनाएको छ। सबैलाई रुखमा भोट हाल्ने मन लाग्छ। चार तारे झण्डा सधैँ फहराइ रहोस्, रुख कहिले नढालोस्। भनेर संगठन बनाउन तर्फ लाग्ने कि हाउगुजी बनाएर हिँड्ने? तदारुकताका साथ संगठन बनाउन जुटौँ। गठबन्धनको हाउँगुजी बनाएर अतिरञ्जित नगरौँ। आफूले आफैलाई आत्मसात गरेर सोँचौँ। हामी कहाँ छौँ पार्टी विगारेको तपाईं हामीले हो।’

मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान कार्यान्वयन गर्ने विषयमा कसैले नबोलेको बताए। उनले संविधान असफल बनाउन केही तत्व लागेको भन्दै संविधानको रक्षा र कार्यान्वयनका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने बताए।

‘सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान कार्यान्वयनमा कसैले बोल्नुहुन्न। हाउगुजीका कुराबाहेक केही छैन। केन्द्रले प्रदेशलाई अधिकार दिएको छैन। गाली खाने प्रदेशले मात्रै हो? विकास हामीलाई आफ्नै घर अगाडि चाहिएको छ। डोजरको विकास चाहिएको छ। तर आर्थिक विकास र समृद्धिमा लाग्दा गाली खानुपर्छ, सहयोग हुँदैन, उनले भने, संविधाको रक्षाका लागि कसले नेतृत्व गर्ने? यसैगरी कांग्रेसले संविधान कार्यान्वनयमा ध्यान नदिने हो भने संविधान फेल हुन सक्छ। अनि हामी सबै फेल हुन्छौँ।’

प्रकाशित मिति: : 2024-02-22 18:26:00

प्रतिकृया दिनुहोस्