चंखेलीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

File Photo
File Photo

हुम्लाकाे चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, इन्जिनियर, वडा नं. ३ का वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित ७ जनाविरूद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूमाथि वडा नम्बर ३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको आराेप छ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट सब-इन्जिनियर हर्कधन बुढाले आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालित मिमि वडा कार्यालयको फिल्ड निर्माण कार्यमा फिल्डको वास्तविक भए गरेको कार्यभन्दा बढी मूल्याङ्‍कन गरी नापी किताबमा चढाएर हस्ताक्षर गरेकाे अख्तियार जनाएकाे छ।

उक्त निर्माणस्थलमा भए/गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार एवं स्वीकृत गरी ११ लाख ९४ हजार ४२६ रूपैयाँ बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेको अख्तियारले उल्लेख गरेकाे छ।

उनीहरूविरूद्ध ११ लाख ९४ हजार ४२६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।

यस्ताे छ अख्तियारकाे आरोप-पत्र

जिल्ला हुम्ला, चंखेली गाउँपालिका वडा नं. ३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट सब-इन्जिनियर हर्कधन बुढाले आ.व. २०७४/०७५ मा संचालित चंखेली गाउँपालिका, वडा नं. ३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण कार्यमा  फिल्डको वास्तविक भए गरेको कार्यभन्दा बढी मूल्याङ्‍कन गरी नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार एवं स्वीकृत गरी रु.११,९४,४२६।०८ बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेकोले निजहरु बिष्णु बहादुर शाही, रुद्र बहादुर वली र हर्कधन बुढाउपर रु.११,९४,४२६।०८ (एघार लाख चौरानब्बे हजार चार सय छब्बीस रुपैयाँ आठ पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।
 
तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मान बहादुर ऐडी र कोषाध्यक्ष डल्ली बुढाले आ.व. २०७४/०७५ मा संचालित चंखेली गाउँपालिका, वडा नं.३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण कार्यमा  फिल्डको वास्तविक निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको मूल्याङ्‍कन गराई बास्तविक रुपमा भएको कार्यभन्दा बढीको भुक्तानी माग गरी रु.११,९४,४२६।०८ बढी भुक्तानी लिने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोले निजहरु गोर्ख बुढा, मान बहादुर ऐडी र डल्ली बुढाउपर रु.११,९४,४२६।०८ (एघार लाख चौरानब्बे हजार चार सय छब्बीस रुपैयाँ आठ पैसा)  बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कैद र जरिवाना गरी बिगो जफत हुन मागदाबी लिइएको छ।
 
साथै चंखेली गाउँपालिकाको वडा नं. ३ का वडा अध्यक्ष सालिग्राम ऐडीले आ.व. २०७४/०७५ मा संचालित चंखेली गाउँपालिका, वडा नं. ३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए गरेको भनी सिफारिस तथा प्रतिवेदनसमेत दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुर गरेकोले निज सालिग्राम ऐडीलाई सोही दफा ८(३) बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 

प्रकाशित मिति: : 2024-02-22 13:34:00

प्रतिकृया दिनुहोस्