सरकारले श्रीलंकामा जेल जीवन बिताइरहेका नेपालीहरूको आममाफीका लागि श्रीलंकाका राष्ट्रपतिलाई पत्र पठाउन राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे छ।
मन्त्रिपरिषद् बैठकले श्रीलंकामा कैदबन्दी जीवन बिताइरहेका चेतबहादुर थापा, सुकबहादुर तामाङ र टेकबहादुर तामाङको सजाय मानवीय आधारमा आममाफीका लागि अनुरोध गर्दै राष्ट्रपतिबाट श्रीलंकाका राष्ट्रपतिलाई अनुरोध गरी पत्र पठाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे।
यस्तै एनसेलको शेयर खरिद विक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन कार्यान्वयनको लागि सम्बन्धित निकायहरूमा पठाउने निर्णय गरेकाे छ।
यसैगरी नेपाल र श्रीलङ्काबीच अफिसियल राहदानी बाहकहरूलाई भिसा आवश्यक नपर्ने विषयको सम्झौता स्वीकृत गर्ने र हस्ताक्षर गर्न अख्तियारी दिने भएकाे छ।
सुरक्षण मुद्रण केन्द्रका लागि आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्मका लागि अधिकृतस्तरका ८ पदहरूको अस्थायी दरवन्दी स्वीकृत गर्ने सरकारले निर्णय गरेकाे छ भने बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने भएकाे छ।
यस्तै सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रको काठमाडौँ, मकवानपुर, कोहलपुर र ललितपुरका कार्यालयहरूमा आर्थिक वर्ष २०८०/८१ को पुस १ गतेदेखि २०८१ साल असार मसान्तसम्मका लागि अधिकृतस्तरका २३ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने भएकाे छ।
सरकारले स्थानीय तह मातहत रहेका आँपपिपल अस्पताल, गोरखा र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र, बाग्लुङलाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेकाे छ।