कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्री कार्कीले चार महिनापछि शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सुनुवार, सामाजिक विकासमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजेन्द्र कार्की नियुक्त भएका छन्।
यस्तै मुख्यमन्त्री कार्कीले उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जा मगरलाई नियुक्त गरेका छन्।
आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिताकुमारी गुरुङ नियुक्त भएका छन्।